|

विराटनगर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज अहिले नेपाल भ्रमणमा नआएको भए उपयुक्त हुने बताएका छन्। 

‘नयाँ सरकार बनिसकेपछि आउँदा जस्तो अहिले आउनु उपयुक्त होइन, अहिले उहाँ नआएको भए हुन्थ्यो’, पत्रकारसँग बिहीबार डा. कोइरालाले भने, ‘नयाँ सरकार बनेपछि आउँदा हुन्थ्यो।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नै विशेष दूत पठाइदिनुस् भनेर अनुरोध गरेको हल्ला आएकाले यसको पटाक्षेप हुँदै जाने बताए। 

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार काम चलाउ भइसकेकाले पछिल्लो पटक गरेका निर्णय उपयुक्त नभएको टिप्पणी कोइरालाले गरेका छन्। ‘वर्तमान सरकार काम चलाउ भइसकेको छ, राजीनामा दिएको भए पनि यही सरकार चल्थ्यो,’ कोइरालाले भने, ‘नैतिकता भनेको संस्थामा हुने होइन, व्यक्तिमा हुने हो।’ काम चलाउ हैसियतमा पुगिसकेकाले लोककल्याणकारी अवस्थाका दूरगामी प्रभाव पर्ने कुनै पनि निर्णय गर्न नहुने उनले जिकिर गरे। 

उनले लोकतन्त्रको विधि र पद्धतिलाई स्वीकार्दा सबै दलको सहमतिमा मात्र महत्त्वपूर्ण निर्णय गर्नुपर्ने बताए। ‘५५ वर्ष पुगेका दलित समुदाय तथा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सामाजिका सुरक्षा भत्ता दिने निर्णय व्यवहारमा राम्रो छ’, कोइरालाले भने, ‘तर मुलुकको ढुकुटीले धान्न सक्छ वा सक्दैन भनेर बुभ्नुपर्थ्यो।’

जनताले सरकार बनाउने जिम्मा वाम गठबन्धनलाई दिएकाले अब कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्नेमा कोइरालाले जोड दिए। स्थायित्व र मुलुकको समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको भन्दै उनले वाम गठबन्धनको सरकारले देश र जनताको पक्षमा गर्ने निर्णयलाई कांग्रेसले पनि सहयोग गर्ने बताए। 

उनले कांग्रेस प्रतिपक्षमा भए पनि अब बन्ने सरकारलाई सहयोग गर्ने प्रष्ट पारे। कोइरालाले संघीय सरंचनाअनुसार कांग्रेसको विधान परिवर्तनका लागि पार्टीले तत्काल महासमितिको बैठक बोलाउनुपर्नेमा जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.