|

काठमाडौं : नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रदेश नम्बर-४ का पार्टी संयोजक किरण गुरुङ यस प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन्। माओवादी र एमालेको भागबन्‍डामा एमालेको भागमा परेको यस प्रदेशमा किरणसँगै एमाले सचिव पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्। पार्टीको प्रदेश प्रमुख भएकाले आफ्नो दाबी स्वाभाविक रहेको र पार्टीले आफ्नो पक्षमा नै निर्णय गर्ने नेता किरणको दाबी छ। यसै सन्दर्भमा थाहाखबरकी देविका घर्ती मगरले मुख्यमन्त्रीका दाबेदार किरण गुरुङसँग गरेको कुराकानी।

प्रदेश नम्बर- ४ को मुख्यमन्त्रीमा तपाई‌ंको दाबी किन ?

मैले प्रदेश नम्बर-४ को पार्टी प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएको छु। मैले यस प्रदेशमा पार्टी निर्माण कार्यदेखि स्थानीय तहको निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन मेरै नेतृत्वमा यस प्रदेशमा सम्पन्न भएका छन्। यी दुवै निर्वाचनको परिणामलाई हेर्दा यस प्रदेशमा नेकपा एमाले पहिलो नम्बरको पार्टी बन्न सफल भएको छ।

पार्टीको प्रदेश प्रमुख भएको हुनाले यी दुवै निर्वाचनका क्रममा भएका कमीकमजोरी, जसअपजस सबै पाउने भनेको मैले नै हो। पार्टी काममा म निरन्तर ढंगले यो प्रदेशसँग जोडिएर (यसअघिको गण्डकी क्षेत्रमा पनि) यस क्षेत्रको पार्टी प्रमुख भएर मैले जिम्मेवारी निर्वाह गर्दै आएको छु।

हिजोका भूमिगत कालमा पनि तत्कालीन मालेको राजनीतिको बीउ रोप्नेदेखि लिएर त्यसलाई हुर्काउने, विकास गर्ने काम पनि मेरो नेतृत्वमा भएको छ। ०४६/४७ को आन्दोलनभन्दा अगाडि र त्यसपछिका दिनहरूमा मैले पटक-पटक मैले जिम्मेवारी लिएर काम गरेको छु। त्यसकारणले गर्दा पनि मैले यो प्रदेशको मुख्यमन्त्रीको दाबी गरेको हुँ।

मुख्यमन्त्री दाबी गर्ने तपाईंका आधार के छन् ?

यो प्रदेशलाई राम्रो बनाउन सक्छु भन्ने नै मेरो मुख्य आधार हो। यस प्रदेशलाई नमुना प्रदेशका रूपमा अगाडि बढाउने। पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन मसँग राम्रो योजना, भिजन, कार्यक्रम छ। त्यसकारण पनि म यो प्रदेशको मुख्यमन्त्रीको रूपमा दाबी गर्दै आएको छु।

तपाईं र पार्टी सचिव पृथ्बीसुब्बा गुरुङबीच कडा प्रतिस्पर्धा छ भनिन्छ नि ?

पहिले उहाँले (पृथ्वी कमरेडले) समानुपातिकमा जान्छु भन्नुभएको थियो। उहाँसँग सल्लाह गर्दा म उठ्दै उठ्दिनँ भनेर भन्नुभयो। अनि मैले त्यही भएर नै प्रदेश सभामा उठेँ। प्रदेशको संयोजक भएको कारणले गर्दा पनि मेरो अधिकारको कुरा पनि हो। यो मेरो स्वाभाविक दाबी हो। कुनै अन्यथा होइन। मैले पार्टीको प्रदेश प्रमुखको जिम्मा नलिएको भए मुख्यमन्त्रीमा दाबी गर्ने पनि थिइनँ। यदि म साँच्चिकै कुनै माथिल्लो पदमा भएको भए तल मुख्यमन्त्रीको दाबी गर्ने पनि थिइनँ। म अहिले मेरो आफ्नो क्षेत्रमा नै काम गर्दै आएको छु। अनि एउटाले काम गर्ने अर्कोले दाबी गर्ने त भएन नि।

उहाँले उठ्दिनँ नै भन्नुभएको हो। यदि उहाँले पहिले नै म उठ्छु भनेको भए मैले उहाँलाई छाड्दिन्थेँ। अब अन्तिममा आएर मात्रै प्रदेशमा लड्नुभयो र मुख्यमन्त्री हुन्छु भन्नुभयो। होइन भने उहाँलाई भनेर नै म चुनाव लडेको हुँ। पछि गठबन्धन भयो। गठबन्धन भएपछि के भयो, उहाँको मुड परिवर्तन भयो होला अनि प्रदेशमा लड्नुभयो।

तपाईं मुख्यमन्त्री हुँदा प्रदेश नम्बर- ४ को स्वरूप कस्तो हुन्छ ?

यो प्रदेशलाई अन्य प्रदेशहरूभन्दा सबैभन्दा राम्रो प्रदेश बनाउन सक्छु भन्ने मलाई विश्वास छ। मसँग त्यो भिजन, कार्यक्रम छ। र मैले त्यससम्बन्धी अध्ययन गरेको छु। यो प्रदेशलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने, पर्यटकको हिसाबले विश्वकै गन्तव्यको रूपमा यसलाई स्थापित गर्ने लक्ष्य रहेको छ। यसलाई नमुना प्रदेशका रूपमा अगाडि बढाउने योजना छ।

अहिले सुरुमा स्थानीय तहलाई बलियो बनाउनका निम्ति स्थानीय तहलाई समृद्ध नेपाल निर्माण गर्ने जुन अभियान छ हाम्रो। यो सिंगो प्रदेशलाई अगाडि बढाउनका निम्ति मैले सबैभन्दा राम्रो ढंगले त्यो भूमिका निर्वाह गर्न सक्छु। त्यस आधारमा मैले प्रदेश नम्बर-४ कोम मुख्यमन्त्रीको दाबी गरेको हुँ।

तपाईंहरू माओवादीसँग गठबन्धन गरेर जानुभएको छ। यसलाई कसरी मिलाएर जानुहुन्छ ?

हाम्रो केन्द्रमा कार्यदल पनि बनेको छ। हाई लेभलको पार्टी एकता संयोजन समिति छ। त्यो समिति र कार्यदलले तय गरेको कार्यविधिका आधारमा हामी अगाडि बढ्छौँ। त्यसमा कसैलाई काखापाखा गरिँदैन। यो वा त्यो पनि भनिँदैन। सबैलाई समेट्ने, जिम्मेवारी दिने ढंगले हामी अगाडि बढ्छौँ।

एमालेको स्थायी कमिटिले सहमति नभए चुनाव गर्ने भनेको छ। चुनाव गर्दा तपाईंको पक्षमा निर्णय आउला त ?

पार्टीको स्थायी समितिले तलबाट नै दलको नेता छान्ने भनेर म्यान्‍डेट दिइसकेको छ। त्यसआधारमा हामी सोही विधिअनुसार अगाडि बढ्छौँ। पहिलो कुरा हामी सहमतिका लागि पहल गर्छौं। सहमति भयो भने एउटा विधि हुन्छ। दलको नेताको निर्वाचन संवैधानिक अंग नै हो। सहमति भयो भने त्यै ढंगको आन्तरिक कार्यविधि हामीले निर्माण गर्छौं। त्यसैको आधारमा तय हुन्छ।

अब सहमति भएन भने पनि प्रदेश सभाका सदस्यहरुको गोप्य मतदानद्वारा नेता छानिन्छ। चुनाव हार्नका लागि लडिँदैन। मैले आफ्नो प्रदेशमा रहेर पार्टी काम गरेको छु। यस आधारमा तल मेरो पक्षमा मत छ। चुनाव हुँदा पनि म जितेर आउँछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.