|

  • भागवत भट्टराई/सी.पी. खनाल

रूपन्देही : नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) क्षेत्रमा संचालनको लागि तीन वटा उद्योग दर्ता भएका छन्। १२ माघमा सेज व्यवस्थापनले उद्योग दर्ताको लागि १५ दिने अल्टिमेटम दिएसँगै शुक्रबारसम्ममा तीन वटा उद्योग दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशक चणिडका भट्टले बताए।

भट्टका अनुसार सुगम नानो हर्वल, आइडिएस इनर्जी र गार्मेन्ट उद्योग दर्ता भएका छन्। त्यस्तै अन्य जुस उद्योगहरु दर्ताको प्रकियामा रहेको भट्टले बताए।

सेज व्यवस्थापनले १२ माघमा उद्योग दर्ताको लागि १५ दिने अल्टिमेट दिएको थियो।  त्यसयता उद्योग संचलानमा समझदारी गरेका १९ मध्ये १० वटा दर्ताको लगि फाराम लगेको सेजका प्रवक्ता सुन्दर थापाले बताए।

उनले १२ माघदेखि१५ दिनको अवधिमा यसअघि सम्झौता गरेका उद्योहरुले उद्योग दर्ता नगरेका नयाँ उद्योगको लागि आह्‍वन गरिनेछ भने पूरानो सम्झौता खारेज हुने छ। दुई वर्षअघि निर्माण सकिएको सेजमा उद्योग खोल्नका लागि स्वीकृति पाएका १९ वटा कम्पनीले पाएका प्लटमा उद्योग सञ्चालन गर्ने भवन निर्माण गर्नुअघि विद्युत लाईन माग गरेपछि सेज सञ्चालनको प्रक्रिया रोकिएको थियो।

तर, विद्युत प्राधिकरणले केही हप्ताभित्रै सेजमा विद्युत पुर्‍याउने सहमति पछि प्रकिया अघि बढाएको हो। नेपाल विद्युत प्राधिरकणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिरकणको कारण सेज संचालनमा समस्या नपरेको बताए।

 'हामीले समझदारी गरेको विजुली दिन्छौँ भनेकै हो, तर त्यसको लागि सवस्टेशन आवश्‍यक पर्छ सवस्टेशन बनाउने काम हाम्रो हैन' घिसिङले भने। तर, विद्युत प्राधिकरणले तत्कालको लागि भैरहवाको ३३ केभिए प्रासरण लाइनबाट विजुली दिने प्रतिबद्धता जनाएपछि सेजले छनौट भएका उद्योगलाई दर्ताको लागि सम्पर्कमा आउन सूचना जारी गरेको थियो।

‘प्रशारण लाईन निर्माण गर्न केही समय लाग्ने भएकाले तत्काल प्राधिकरणले २ मेघावाट विद्युत उपलब्ध गराउने र चैतपछि १० मेघावाट विद्युत उपलब्ध गराउने सहमति भएको छ' प्रवक्ता थापाले भने। सेजमा विद्युत आएलगत्तै उद्योग सञ्चालनका लागि संरचना निर्माणको काम सुरु हुने छ। जसका लागि सेज व्यवस्थापनले उद्योगीहरुलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ । ‘उद्योग सञ्चालनको अनुमति पत्र लग्ने उद्योगीहरुसँग उद्योग सञ्चालनबारे छलफल गरेर सकेसम्म छिटो काम अघि बढ्नेछ' उनले भने।

उद्योग सञ्चालकहरुले ३ महिनादेखि १ वर्षसम्ममा उद्योगहरुको संरचना तयार भएर उत्पादन थाल्ने सेज व्यवस्थापनलाई उद्योगीहरुले बताएका छन्। उद्योगहरुको संरचना निर्माणको समयमा सव स्टेशनको काम अघि बढाउने सेज व्यवस्थापनको तयारी छ। जसका लागि सेज व्यवस्थापनले विद्युत प्राधिकरणलाई सव स्टेशनका लागि तयार पारेको खाका थप अध्ययन र सुझावका लागि पठाएको छ।

 प्राधिकरणको सुझावका आधारमा सव स्टेशन निर्माण थालिने सेजका कार्यालय प्रमुख सागर सिलवालले बताए। सेजमा उद्योग सञ्चालनका लागि १० मेघावाट विद्युत आवश्यक पर्छ । तर, अन्य कार्यालयहरु, ओभरलोड र बाँकी प्लटमा उद्योग सञ्चालनका लागि भन्दै २० मेघावाट विद्युत ल्याउने सेजको तयारी छ। रुपन्देहीको बगाहामा ५२ बिघा क्षेत्रफलमा रहेको आर्थिक क्षेत्रमा १४ सय देखि ३७ सय वर्ग मिटर सम्मका ६९ वटा प्लटहरु रहेका छन्।

सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइन्छ। ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.