|

काठमाडौं : पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा गाउँपालिका कार्यालयमा कालो झण्डा गाडिएको छ।

गाउँपालिकाको सेवा केन्द्र सुवर्णपुरबाट सारेर घ्याङडाँडा सार्ने निर्णय भएपछि असन्तुष्ट पक्षले आन्दोलन थालेको हो। उनीहरूले गाउँपालिकाको केन्द्र सुवर्णपुर नै कायम राख्नुपर्ने भन्दै कार्यालय प्रवेशमा समेत अवरोध गरेको गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले जानकारी दिए। 

माघ १५ गतेको गाउँपालिका सभाको बैठकले वडा नम्बर– ४ घ्याङडाँडामा केन्द्र राख्ने सर्वसम्मत निर्णय गरेको श्रेष्ठको दाबी छ। तर हाल केन्द्र रहेको वडा नम्बर– ५ सुवर्णपुरका बासिन्दाले त्यसमा विरोध जनाएका छन्। उनीहरूले गाउँपालिकाका अध्यक्ष श्रेष्ठको पुत्ला जलाउँदै यातायातसमेत अवरुद्ध पार्दै आएका छन्। श्रेष्ठले आन्दोलनकारीले सुवर्णपुर हुँदै ठोरीसम्म पुग्ने विद्युतको केन्द्रीय प्रसारण लाइनअन्तर्गत ओरिया खोलामा तीनवटा पोल ढालेर चारवटा वडामा बिजुली रोकिदिएको बताए। 

तर सुवर्णपुरका स्थानीय विमल खड्काले भने त्यसमा आन्दोलनकारीको कुनै संलग्नता नरहेको दाबी गरे। पोल कसले भाँच्यो भन्ने आफूहरूलाई थाहा नभएको उनको दाबी छ।  

बिजुलीको पोल भाँचिएपछि १, २, ३ र ४ नम्बर वडाका बासिन्दा विगत तीन दिनदेखि अन्धकारमा छन्। सबैलाई पायक पर्ने स्थानमा केन्द्र तोकिएकाले विरोध गर्नुको अर्थ नरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ। तर सुवर्णपुरवासीले भने गाउँपालिका अध्यक्ष श्रेष्ठले आफ्नो घर छेउमा केन्द्र सार्ने निर्णय गराएको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.