|

पोखरा : पोखरामा नेपाल इन्टरनेसनल फिल्म फेष्टिवल सुरु भएको छ। पोखरा गैरपाटनस्थित उद्योग वाणिज्य महासंघको हलमा सुरु भएको फेष्टिवलको संगीत नाट्य एकेडमीका कुलपति सरुभक्तले उद्घाटन गरे।

सिनेमा सामान्य मनोरञ्जनको विषय मात्रै नभएको भन्दै साहित्यकार सरुभक्तले सिनेमालाई बौद्धिक विषय बनाउनुपर्ने बताए। प्राकृतिक र साँस्कृतिक हिसाबले पोखरा सुन्दर रहेको उल्लेख गर्दै सरुभक्तले भने, ‘पोखरालाई फिल्म नगरी घोषणा नगरे पनि प्राज्ञिकहरूले पोखरालाई फिल्म र साहित्यको उर्वर थलो बनाइसकेका छन्।’ 

पोखरामा फिल्म र फिल्मकर्मी बढिरहेको चर्चा गर्दै साहित्यकार सरुभक्तले यस्ता फेष्टिवलले भविष्यमा फिल्ममाथि बहस हुन थप सजिलो हुने बताए।

स्कुल पढ्दा आफूले धेरै फिल्म हेरेको तर समाजले धेरै फिल्म हेर्ने विद्यार्थीलाई खराबको कोटीमा राखेको उल्लेख गर्दै फेष्टिवल निर्देशक मनोज पण्डितले फिल्म हेरेकै कारण समाज र राजनीति बुझ्न सजिलो भएको धारणा राखे। ‘तपाईंहरू पनि फिल्म हेर्नुस्, फिल्म हेरेर कोही पनि बिग्रँदैन’, युवा पुस्ताका दर्शकलाई आग्रह गर्दै उनले भने। 

राममायण लेखनको सुरुवात गण्डक क्षेत्रबाटै भएको उल्लेख गर्दै फेष्टिवल निर्देशक पण्डितले पोखरेलीको फिल्मप्रतिको झुकाव लोभलाग्दो भएको टिप्पणी गरे। ‘पोखरेलीको मायाले म असाध्यै उत्साहित छु’, उनले भने।

वि. सं. २०१९ देखि पोखरामा फिल्म सुटिङ सुरु भएको बताउँदै संस्कृृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठले पोखराको सुुन्दरतालाई विश्वमा चिनाउने काम सरकारले गर्न नसकेको टिप्पणी गरे। पोखरालाई फिल्मसिटी बनाउने भनेर सरकारले घोषणा गरे पनि उक्त काममा सरकारले पहल नगरेकोमा दुखेसो व्यक्त गरेका श्रेष्ठले पछिल्लो समय जीवनलाई अभिव्यक्त गर्ने सशक्त माध्यम सिनेमा नै भएको बताए।

फिल्मले समाजको सही चित्र कोर्न सिकाउने धारणा राख्दै प्रदेश– ४ का प्रदेश सभासद कृष्ण थापाले राम्रो कामका लागि सिनेमा आफैँमा सशक्त माध्यम भएको बताए। 

कार्यक्रमका सभापति एवं नेपाल फिल्म एण्ड कल्चरल एकेडमीका अध्यक्ष केपी पाठकले पोखरेलीको साथ र सहयोगले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यस्ता फेष्टिवललाई निरन्तरता दिने बताए। संस्थाका सचिव एवं प्राविधिक संयोजक राजु भण्डारीले दर्शकको उपस्थितिले आफूहरू उत्साहित भएको बताए। प्राविधिक रूपमा यो फेष्टिवललाई उत्कृष्ट बनाउने उनको योजना रहेको छ।

माघ १९ देखि सुरु भएको कार्यक्रम माघ २२ मा सम्पन्न हुनेछ। फेष्टिवलमा विभिन्न ३० देशका ५० फिल्म प्रदर्शन गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.