|

कपिलवस्तु : रामसार सूचीमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताल संकटग्रस्त बनेकोछ। सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत ताल नजिकै रहेका क्रसर उद्योग, बालुवा, गिट्टी थुपार्ने र छेउबाटै टिपर तथा ट्रक आवतजावत गर्ने भएकाले ताल मासिने खतरा बढेको हो।

बर्सेनि हजारौं पाहुना चरा प्रजननका लागि आउने सिमसार क्षेत्र जगदीशपुर तालको संरक्षण अभावका कारण संकटमा पर्न थालेकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्। तालको दुई सय मिटर बरिपरि बालुवा थुपार्ने, तालको ड्यामसँगै जोडिएको सडकमा ओभर लोडका ट्रयाक्टर, टिप्पर र ट्रक आवातजावत गर्ने भएकाले ताल फुट्ने सम्भावना बढेको छ।

त्यस क्षेत्रसम्म पुग्ने बाटो भत्किँदै गएकाले ताल हेर्न पर्यटक आउन छाडेको वडाध्यक्ष शिवबहादुर वाग्लेले बताए। बालुवा थुपार्ने गरेकाले समस्या बढ्दै गएको वाग्ले बताउँछन्। 

नदीजन्य पदार्थको निकासी खुला भए यता गत मंसिरदेखि नै त्यहाँ बालुवा थुपार्दै आइएको हो। यसरी थुपाएिको बालुवा हटाउन पटक–पटक आग्रह गर्दा समेत बालुवा सप्लायर्सले अटेरी गर्ने गरेको जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष अब्दुल रसिद खाँले बताए।

ताल क्षेत्रमा बिडन, चौधरी, जयबुद्ध, विन्दवासिनी र महेश सप्लायर्सले क्रसर उद्योग सञ्चालन तथा बालुवा थुपार्दै आएका हुन्। पछिल्लो पटक बालुवा थुपार्दा पर्ने प्रभावबारे नदीजन्य पदार्थको व्यवस्थापन गर्न गठित जिल्ला अनुगमन समितिले अनुगमन गरेको छ। स्थलगत अनुगमनपछि बालुवा थुपार्दा ताललाई प्रत्यक्ष असर पार्ने भन्दै १५ दिनभित्र बालुवा हटाउन बालुवा सप्तालर्स कम्पनीलाई निर्देशन दिइएको जिल्ला अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। 

सदरमुकाम तौलिहवादेखि ११ किमि उत्तर कपिलवस्तु नगरपालिका–९ मा १५७ हेक्टर क्षेत्रफलमा फैलिएको मानवनिर्मित यस ताल समुन्द्र सतहदेखि ९७ मिटर उचाइमा रहेको छ। यस तालमा ११८ प्रजातिका चराचुरुङ्गी पाइन्छ्न्। तीमध्ये कतिपय लोपोन्मुख प्रजातिका छन्।

ताल वरपरका महिलाले जैविक विविधता संरक्षण गर्दै आयआर्जनका क्रियाकलाप सञ्चालन गरी गरिबी निवारणमा योगदान पुर्‍याएबापत तालले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार ‘इक्वेडर प्राइज २०१४’ प्राप्त गरेको छ। प्रत्येक दुई/दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार नेपालले पहिलोपटक प्राप्त गरेको हो। इक्वेडर प्राइजको साथै ‘स्पेसल रिकग्निसन’बापत पनि उक्त ताल पुरस्कृत भएको बहुसरोकार मञ्चका अध्यक्ष अब्दुल रसिद खाँले जानकारी दिए। 

अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत यस ताल वरिपरिका सिमसार क्षेत्र अतिक्रमण बढ्दै गएको छ। गाईवस्तुको चराउने, जडीबुटी संकलन गर्ने, पानीको प्रयोगले सिमसार क्षेत्र नासिँदै गएको छ। यस्तै, धार्मिक पर्व र तीर्थालुले जथाभावी पूजासामग्री बिसर्जन गर्ने, ताल वरपरका खेतमा रासायनिक मल तथा विषादीको प्रयोगले सिमसार दूषित बन्दै गएको छ।

सिमसारको नासिँदो अवस्थाले भविष्यको दिगो जीवनयापनमा चुनौती समेत थपिँदै गएको जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका संयोजक तथा स्थानीय समन्वय अधिकारी चन्द्रकान्त न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.