|

भद्रपुर, (झापा) : खुल्ला नाकाको फाइदा उठाउँदै झापाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ। भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी\प्रशासन बेखबर छ। 

झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी त्यसको हड्डी र छाला दक्षिणी झापाको सीमाना नाकाबाट भारत तस्करी भइरहेको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले गिरोहमा आवद्ध दुई जना भारतीयलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो। पक्राउ पर्नेमा भारत किशनगञ्जका २५ वर्षीय मोहम्मद मोइन र ४० वर्षीय बिष्णु रजक रहेको भारतीय एसएसबी १२ बी बटालियनका डेपुटी कमान्डर कुमार सुन्दरमले जानकारी दिए। एसएसबीले उनीहरुको साथबाट आठ वटा हरिणको सिङसमेत फेला पारेको छ। जसको अन्तराष्ट्रिय बजार मूल्य नेपाली दुई करोड रहेको जनाइएको छ।
 
झापा गाउँपालिकासँग जोडिएको भारतको दिघलबैंक नाकाबाट भित्र्याइएको हरिणको सिङलाई किशनगञ्जतर्फ लैजाने क्रममा बिशेष सूराकीको आधारमा एसएसबीको टोलीले किशनगञ्ज–बहादुरगञ्ज सडक खण्डबाट शुक्रबार पक्राउ गरेको थियो। मोटरसाइकलमा सवार उनीहरुले हरिणको सिङलाई बोरामा हालेर लगिरहेका थिए। पक्राउ परेका दुवै जनाले हरिणको सिंङ नेपालबाट ल्याएको एसएसबीलाई बताएका छन्। झापा गाँउपालिकाको सीमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी भए पनि वन्यजन्तुको तस्करी बढ्दासमेत यसतर्फ खासै चासो देखाएको छैन। 

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले भने वन्यजन्तुको हड्डी तथा छाला तस्करीको बिषयमा आफूलाई थाहा नभएको बताए। ‘यस बारेमा सीमानामा रहेका बिओपीका इञ्जार्चलाई तत्काल बुझ्छु’ , उनले भने, ‘भारतीय एसएसबीले पक्राउ गरेको बिषयमा अनुसन्धान गरी सीमानामा सक्रियता बढाउने छौँ।’ 

यता, प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले पनि यस बारेमा आफूलाई थाहा नभएको बताएका छन्। दक्षिणी नाका टाघनडुब्बा, घेराबारी, कुमरखोद, लगायतको क्षेत्रबाट पशुपंक्षिको प्वाखसमेत भारतबाट नेपालतर्फ तस्करी हुदै आएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.