नेपाली सामान बिक्री गरेर आउने पैसा सवारीसाधन खरिदमै सकिन्छ

|

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा नेपालले झण्डै ६ खर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार २०७४ साउनदेखि पुससम्मको अवधिमा ५ खर्ब ९३ अर्ब  रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको हो।

नेपालले गरेको निर्यात (अन्तर्राष्ट्रिय बजारमा पठाएको) को तुलनामा आयात(अन्तर्राष्ट्रिय बजारबाट भित्र्याएको) १३ गुणा बढी भएको छ। अर्थात् १ रुपैयाँ बराबरको सामान विदेशी बजारमा पठाउँदा नेपालले १३ रुपैयाँ बराबरको सामान विदेशी बजारबाट भित्र्याएको छ।

६ महिनामा नेपालबाट ४१ अर्ब ६१ करोड रुपैयाँ बराबरको सामान बाहिरिएको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा १५ प्रतिशतले वृद्धि भएको छ।

१ रुपैयाँ बराबरको सामान विदेशी बजारमा पठाउँदा नेपालले १३ रुपैयाँ बराबरको सामान विदेशी बजारबाट भित्र्याएको छ

आयात व्यापारको ३८ प्रतिशत हिस्सा चार प्रकारका वस्तु तथा पेट्रोलियम पदार्थ खरिदमा गएको विभागको तथ्यांकले देखाउँछ। पेट्रोलियम पदार्थ, फलाम तथा स्टिलजन्य समाग्री, सवारीसाधन तथा त्यसका पाटपुर्जा र मोबाइल खरिदमा २ खर्ब ५ अर्ब ८९ करोड रुपैयाँ लागेको छ।

कुन सामग्री खरिदमा कति रकम बाहिरियो?

सामान

नेपाली मूल्य रुपैयाँमा

पेट्रोलियम पदार्थ

७८ अर्ब ८९ करोड

फलाम तथा स्टिल

५१ अर्ब

यातायातका साधन र तिनका पाटपुर्जा

४१ अर्ब ६१ करोड

मोबाइल तथा अन्य विद्युतीय सामग्री

३५ अर्ब

सबैभन्दा बढी आयातहुने पेट्रोलियम पदार्थको आयात वार्षिक १५ प्रतिशतले बढेको नेपाल आयल निगमको तथ्यांक रहेको छ। नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पछिल्लो पाँच वर्षदेखि पेट्रोलियम पदार्थको आयातमा १५ प्रतिशतले वृद्धि हुँदै गएको छ।

गत वर्षको तुलनामा मूल्यको हिसाबले सवारीसाधन तथा त्यसका पाटपुर्जा आयात भने घटेको छ। गत वर्षको ६ महिनामा ४६ अर्ब ६० करोड सवारीसाधन तथा पाटपुर्जा आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब रुपैयाँले घटेको हो। तर, यो सवारीसाधन तथा पाटपुर्जाको  (भ्यालु) मूल्य कम भएको कारण रकम कम देखिएको हो।

६ महिनामा नेपालको जम्मा निर्यात व्यापार बराबर सवारी साधन तथा पाटपुर्जा आयातमा खर्च भएको छ

आयातमा चार वस्तुको सामग्रीले ३८ प्रतिशत हिस्सा ओगटेजस्तै निर्यातमा पनि ४ वस्तुले ३१ प्रतिशत हिस्सा ओगटेका छन्। कफी तथा चिया, तयारी पोसाक तथा कपडा,कार्पेट र फलाम तथा स्टिलजन्य सामग्रीले निर्यात व्यापारको ३१ प्रतिशत क्षेत्र ओगटेका हुन्। ४१ अर्ब ६१ करोडको निर्यात व्यापारमा यी ४ प्रकारका वस्तु मात्रै १३ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ।

जसअनुसार कफी तथा चिया ५ अर्ब, तयारी पोसाक तथा कपडा र कार्पेट ३/३ अर्ब र फलाम तथा स्टिल २ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। ६ महिनामा नेपालको जम्मा निर्यात व्यापार बराबर सवारीसाधन तथा पाटपुर्जा आयातमा खर्च भएको छ। जम्मा निर्यात व्यापार ४१ अर्ब ६१ करोड र सवारीसाधन तथा त्यसको पाटपुर्जाको आयात पनि ४१ अर्ब ६१ करोड रुपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.