|

विराटनगर : प्रदेश–१ मा रहने मन्त्रालय राख्ने भवनको टुंगो लागेको छ। टुंगो लगाइएअनुसार मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा हुनेछ। प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय सिँचाइ कार्यालयमा रहनेछ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

क्षेत्रीय कृषि निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय रहनेछ। विराटनगर–१२ स्थित रोडशेषमा रहेको उक्त भवन तीन तले छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २३ वटा काम गर्नेछ भने २१ जना कर्मचारी रहनेछन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहनेछ। विराटनगर–१० सोमबारे हाटमा रहेको उक्त भवन तीन तले छ। यो कार्यालयमा ४१ वटा कामका लागि ४१ जना कर्मचारी रहनेछन्।

आर्थिक मामिला तथा योजना मन्त्रालय

घरेलु तथा साना उद्योगको कार्यालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक मामिला तथा योजना मन्त्रालय रहनेछ। विराटनगर–३ स्थित शनिहाटमा रहको उक्त कार्यालयको भवन नयाँ हो। यो मन्त्रालयले २४ वटा काम गर्नेछ भने १८ जना कर्मचारी रहनेछन्।

भौतिक पूर्वाधार तथा विकास मन्त्रलाय

भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सुनसरी मोरङ सिँचाई आयोजनाको कार्यालयमा रहने भएको छ। विराटनगर–१२ मा रहको उक्त कार्यालयको भवन २ तले छ। यो मन्त्रालयले २२ वटा काम गर्नेछ भने २४ जना कर्मचारी रहनेछन्।

सामाजिक विकास मन्त्रालय

सामाजिक विकास मन्त्रालय भने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा रहने भएको छ। विराटनगर–८ देवकोटा चोकमा रहेको उक्त भवन तीन तले छ। ५८ वटा काम गर्ने उक्त मन्त्रालयमा ३० जना कर्मचारी रहनेछन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

क्षेत्रीय वन निर्देशनालयको कार्यालयमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय रहने भएको छ। तुलनात्मक रुपमा अन्य मन्त्रालयभन्दा बढी काम हुने यो मन्त्रालयले ६२ वटा काम गर्नेछ र २९ जना कर्मचारी रहनेछन्। विराटनगर–४ मा रहेको यो भवन २ तले रहेको छ।भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय

हाल प्रदेश प्रमुखको कार्यालय रहेको क्षेत्रीय पशु सेवा निर्देशनालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएको छ। विराटनगर–१० सोमबारे हाटमा रहेको यो मन्त्रालयको भवन २ तले रहेको छ। ३२ काम गर्न यो मन्त्रालयमा २९ जना कर्मचारी रहने छन्।

प्रदेशसभा सचिवालय

विराटनगर–८ मा रहेको जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभा सचिवालय रहने छ। यो भवन तीन तले छ। २७ जना कर्मचारीसहित सचिवालय रहने भएपछि जिल्ला समन्वय समितिको कार्यालय सोही भवनको माथिल्लो तलामा राखिने भएको छ।

प्रदेश प्रमुखको कार्यालय

२५ जना कर्मचारीसहितको प्रदेश प्रमुखको कार्यालय भने क्षेत्रीय सिँचाई कार्यालयमा रहने भएको छ। क्षेत्रीय पशुसेवा निर्देशनालयको कार्यालयमा रहेको प्रदेश प्रमुखको कार्यालय सारिने भएको हो। विराटनगर–१२ मा रहेको यो कार्यालय र मुख्यमन्त्रीको कार्यालय नजिकै राख्ने उद्देश्यका साथ स्थानान्तरण गर्न लागिएको हो।

मन्त्रालयको टुंगो लगाएसँगै आइतबार केही मन्त्रालयको बोर्ड राखिने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा बोर्ड राखिसकिएको छ भने प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बोर्ड आइतबार राखिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। मन्त्रालय राखिने ती भवनको रंगरोगन, मर्मत सम्भार तथा प्राविधिक व्यवस्थापनको काम धमाधम भइरहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.