|

सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका किउलका जीतबहादुर तामाङ उमेरले ६५ वर्ष पुगे। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आफ्नो नागरिकता बनाउन आए उनी। जीतबहादुर १६ दिनअघि आफ्नो जन्मदर्ता बनाएर नागरिकता लिन जिल्ला सदरमुकाम आएका हुन्। 

‘सानै उमेरमा भारत पसेको थिएँ। नागरिकता के हो थाहा भएन’, उनले भने। उनका दाजु सपकले आफ्नो भाइ भएको सनाखत गरेर नागरिकता लिए उनले। ‘छोरो भारतमा पढ्दै छ’, जीतबहादुरले भने, ‘उसको नागरिकता बनाउन आफ्नो नभई नहुने भएकाले बनाउन आएको हुँ।’ छोराले आफूलाई नागरिकता चाहिने भनेर जिद्धी गरेकाले आफ्नो बनाएको उनको भनाइ छ। जीतबहादुर भन्छन्, ‘अनि उसको बनाउनुभन्दा पहिले मेरो आफ्नो बनाउन आएँ।’

तामाङका छोरा अहिले भारतमै कक्षा १२ मा अध्ययन गर्दै छन्। ‘मलाई नागरिकताको आवश्यकता छैन, छोराको नागरिकता बनाउन चाहिने भएर मात्रै हो’, उनले भने। 

सरकारले अहिले ६५ वर्षमै वृद्धभत्ता दिलाउने निर्णय गरेको छ। त्यही कारण पनि उनी नागरिकता बनाउन आएको हुन सक्ने प्रशासकीय अधिकृत पाण्डेकोे भनाइ छ। पछिल्लो सात दिनमा पहिलोचोटि नागरिकता बनाउन आउने वृद्धवृद्धा बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

सुरक्षा कोषको पहुँचमै पुग्दैनन् 
तीन वर्ष पहिले जिल्लाव्यापी रूपमा एकल महिला दिवस मनाउन एकल महिला संजालले सरोकारवालाहरूसँग सहयोग मागेका थिए। तर कसैले पनि कुनै सहयोग त गरेनन् नै, आयोजित कार्यक्रममा समेत उपस्थित भएनन्। 

एकल महिला जिल्ला संजालले एकल महिला सुरक्षा कोषको रकम आवश्यक कार्यक्रम गर्न धेरै पटक चाहना राख्यो तर महिला विकास कार्यालयमा प्रस्तावना लेखेर पेस गर्ने सीप नहुँदा कुनै काम गर्न सकेको छैन। 

श्रीमान् रहुन्जेल र पारिवारिक सम्बन्ध राम्रो रहुन्जेल व्यक्तिगत घटना दर्ता तथा अन्य कानुनी कागजात केही तय नगर्ने, जब समस्या आँउछ अनि पीडित बन्ने गरेका घटना जिल्लामा थुप्रै छन्। 

जिल्लामा एकल महिलाका अनगिन्ती समस्याहरू छन् तर एकल महिलाका विषयमा न कतै आवाज उठ्छ, न त सहायता नै मिल्छ। जिल्लामा एक हजार बढी अतिविपन्न एकल महिलाहरूले कष्टकर जीवन बिताइरहेका महिला विकास कार्यालय बताउँछ। तर उनीहरूको अवस्थाबारे कोही पनि जानकार छैन, यसबारे जानकार छ त केवल एकल महिला सुरक्षा कोष। तर यो कोषको रकम कसरी खर्च गर्ने भन्ने प्रष्ट योजना छैन। 

औपचारिक तवरले कसैबाट माग नै हुँदैन 
‘सुरक्षा कोष भनेको हिंसा तथा बेचबिखनमा परेका, कानुनी सहायतालगायतका सहयोग गर्नका लागि हो, यसको अलावा कुनै अन्य आवश्यकताअनुरूप प्रदान गरिने सहयोगको रकम हो। अहिलेसम्म औपचारिक तवरले कसैले पनि माग गरेका छैनन्’, महिला विकास अधिकृत सीता अधिकारी भन्छिन्, ‘अतिजरुरी भएका, व्यवसाय तथा सीप विकासमा बीउ पूँजीको रूपमा प्रदान गर्न सकिनेछ तर त्यसका लागि आवश्यक कागजपत्र पुर्‍याउनु जरुरी छ।’ हालसम्म कोही पनि एकल महिला तथा एकल महिला संजालले आधिकारिक रूपमा प्रस्तावना नल्याएको अधिकारी बताउँछिन्। 

आर्थिक अभाव तथा अतिसमस्यामा परेका महिलाहरूलाई जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा आफ्नो स्थानीय ठाउँमा लिने व्यवस्थासमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको भनाइ छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सबै सरकारी सेवा घुम्ती शिविरबाट प्रदान गरिँदै आएकाले आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन बञ्जाडेको आग्रह छ।

सम्बन्धित निकाय जिम्मेवार नदेखिएको आरोप
उता, एकल महिलाको अवस्थाको बारेमा कोही जिम्मेवार नदेखिएको आरोप चौतारा साँगाचोकगढी नगरपालिकाकी एकल महिला संजालकी अध्यक्ष जानुका धितालको छ। ‘हामीले गरेको कार्यक्रममा त कोही आइदिँदैन, सहयोग त कसले पो गर्छ र!’, धिताल भन्छिन्, ‘भूकम्पपछि धेरै सरोकारवालाले अनेक कार्यक्रम गरेको भने तर हाम्रो संजाललाई कसैले जानकारीसमेत दिएन।’ उनका अनुसार कुनै सरकारी तथा गैरसरकारी संस्थाले गरेको कामको प्रभाव कुनै पनि एकल महिलामा परेको छैन। 

कानुनी कागजकै समस्या
श्रीमान्ले छाडेको वा श्रीमान्को मृत्यु भएपछि कानुनी कागजकै समस्यामा धेरै एकल महिला रहेको अधिवक्ता तथा निःशुल्क कानुनी सहायता केन्द्रका चन्द्र बस्नेतको अनुभव छ। बस्नेत भन्छन्, ‘आर्थिक अभावकै कारण न्यायिक निकायमा नआएको बताउने एकल महिलाको पंक्ति ठूलै पाएका छौँ।’ 

गत साता एकल महिला सुरक्षा कोषको जिल्लाको अवस्थाबारे जानकारी लिन आएको एकल महिला राष्ट्रिय सञ्जालले पनि सन्तोषजनक अवस्था पाएन। सबल नेतृत्व गर्दै एकल महिलालाई अनुरोध गर्दै एकल महिलाको हितमा लाग्न सबै सरोकारवालालाई एकल महिला संजालकी महासचिवले अनुरोध गरेको एकल महिला जिल्ला संजालकी जिल्ला अध्यक्ष रुक्मिणी तिमल्सिनाले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.