|

गोरखा : गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तीब्रता दिएको छ। तिब्बत सीमामा जोड्ने बेनिघाट–लार्के सडकको खोर्लाबेँसीमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ। 

उक्त क्षेत्रमा सबैभन्दा अप्ठेरो मानिएको एक पाइले भीर छिचोलेर सेनाको निर्माण दल खोर्लाबेँसी पुगेको हो। उक्त सडकको अधिकांश ठाउँमा बम विस्फोट गरी ट्र्याक खोलिएको सडक निर्माणमा खटिएका सेनाका इन्जिनियर मेजर निशान्त क्षेत्रीले बताए। ‘सात मिटर फराकिलो सडक बनेको छ’, उनले भने, ‘अहिलेसम्म १२ किलोमिटर सडकमा ट्र्याक खोलिसकेको छ। बाटो क्लियर हुँदा आठ मिटर चौडा सडक बन्छ। यो डबल लेन सडक बन्नेछ।’ उक्त क्षेत्रको लापुभीरमा नेपाली सेनाका एकसय भन्दा धेरै निर्माण दलको टोली नियमित खटिएको छ। 

‘बेनीघाटदेखि हावाडाँडासम्म सडक आयोजना कार्यालयले नै काम गरिरहेको छ’, सेनाका इन्जिनियर क्षेत्रीले भने, ‘यो सडक ६२ किलोमिटरको छ। त्यसमा हामीले छुँदैनौँ। त्यसैले हामीले हावाडाँडालाई नै शून्य किलोमिटर मानेर काम अघि बढाएका छौँ।’ 

उक्त बाटोको डीपीआर अध्ययन केही नगरेकाले अहिले सेनाले हावाडाँडादेखि तातोपानीसम्मको १६ किलोमिटर सडकको सर्भे गरिसकेको छ। सेनाले सर्भेको कामलाई पनि अघि बढाइरहेको सेनाका मेजरसमेत रहेका क्षेत्रीले बताए। बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडकको लम्बाइ १८३ किलोमिटर छ। यसमध्ये सेनाले आरुघाट–लार्केभन्ज्याङ खण्डको १२१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएको छ। बेनीघाट–आरुघाट–हावाडाँडा खण्डको ६२ किलोमिटर सडक निर्माण भने सडक विभागले गरिरहेको छ। अर्मलापछि सेनाले माछाखोलामा पनि अर्को शिविर स्थापना गर्ने तयारी गरेको छ। 

पहिलो चरणमा अर्मलादेखि माछाखोलासम्म सडक निर्माण गर्ने र त्यसपछि उत्तरका क्षेत्रमा पायक नपर्ने भन्दै माछाखोलामा शिविर स्थापना गर्न लागिएको हो। उक्त सडकको गत बैशाख ११ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शिलान्यास गरेका थिए। उक्त सडक निर्माणका लागि दिनहुँजसो बम विस्फोट गर्नुपरेको थियो। धेरै विस्फोट गर्नुपर्ने देखेर नेपाल सरकारले नेपाली सेनालाई नै उक्त सडक निर्माणको जिम्मा दिएको हो। उक्त सडक खण्ड हुँदै हिमालपारिका चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका गाउँहरूमा जानआउन सहज हुनेछ। अहिले उत्तरी क्षेत्रमा यातायातको साधनको रूपमा खच्चड र चौँरी मात्र छन्। 

मेजर क्षेत्रीका अनुसार अघिल्लो आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट सात करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो। चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएर सोही रकममार्फत काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.