|

सुनसरी : अयोजकलाई पराजित गर्दै भारतको दुर्गापुर स्टिल क्लब धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै दुर्गापुर स्टिल सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रस्तावित क्षेत्रीय रंगशाला धरानमा आइतबार भएको खेलमा दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा दुई–दुई गोल मात्र भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो। 

पहिलो हाफमा दुई गोलले अग्रता लिएको आयोजक धरान क्लबले सो अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य भएको हो। खेल सुरु भएको तीन मिनेटमै धरानका रोमन लिम्बूले एक गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यसको १५ मिनेट बित्न नपाउँदै आयोजककै वर्तमान राईले खेलको १३औँ मिनेटमा गोल गरेपछि पाहुना टोली २–० ले पछि पर्‍यो। 

आयोजकले दबाबमा राखेको दुर्गापुरका लागि खेलको ३३औँ मिनेटमा शशिकान्त सुरले एक गोल गरेपछि धरान दबाबमा पर्‍यो। एक गोलले पछि परेको दुर्गापुरले पहिलो गोल गरेको २ मिनेट बित्न नपाउँदै शुभम थापाले एक गोल गरेपछि खेल २–२ को स्कोरमा पुग्यो। त्यसपछि खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरमा धकेलियो। ट्राइब्रेकरमा पनि धरान अभागी सावित भयो र दुर्गापुर विजयी भयो। विजेता दुर्गापुरले मंगलबार हुने थ्री स्टार र सुदूरपश्चिम ११ बीचको विजेतासँग सेमिफाइलनमा प्रतिस्पर्धा गर्नेछ। 

सोमबारको खेल नेपाल पुलिस र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजकले जनाएको छ। माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा एक पाहुना टोलीसहित आठवटा टिम सहभागी छन्। प्रतियोगिता विजेताले नगद  छ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँसहित ट्रफी पाउनेछ। 

सर्वोत्कृष्ट खेलाडीले यमाहा कम्पनीको बाइक प्राप्त गर्नेछ भने २५ हजार रुपैयाँसहित मेडल र ट्रफी पनि प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.