|
सोमबार सुरु हुने प्रदेश ४ को प्रदेशसभा बैठकको पूर्वअभ्यासका क्रममा बैठकस्थल अगाडि आइतबार भेला भएका प्रदेशसभा सदस्यहरू। फोटो : हरि बाँस्तोला/रासस

  • नारायण न्यौपाने/वासुदेव पौडेल 

कास्की : मुलुकको सुन्दर पर्यटकीय नगरी पोखरामा प्रदेश ४ प्रदेशसभा बैठकको आइतबार ११ मिनेट पूर्वाभ्यास सम्पन्न गरियो।

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४:२९ बजेदेखि ४:४० बजेसम्म चल्यो।

माघ २२ गते सोमबार बिहान ११ बजे प्रदेशसभाको पहिलो अधिवेशन बस्दैछ। यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसदहरू छन्। 

ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा आयोजित अभ्यासमा ५६ जना प्रदेशसभा सदस्य उपस्थित थिए। सङ्घीय व्यवस्थापिका–संसद्कै झझल्को दिँदै कतिपय सांसद पूर्वाभ्यासमै पनि राष्ट्रियगान शुरु भइसकेपछि सभाकक्षमा प्रवेश गर्नुभएको देखिन्थ्यो। यसअघि व्यवस्थापिका–संसद्मा संसदीय अभ्यासको जानकारी प्राप्त गर्नुभएका छजना सांसदले यस प्रदेशसभामा प्रतिनिधित्व गरेका छन्।

रातारात गरी तयार गरिएको प्रदेश ४ को बैठक हुबहु संघीय संसद्को ढाँचाको रहेको छ। प्रदेशसभाका गतिविधि र कार्यसञ्चालनमा एकरुपता दिलाउन बैठक कक्षमा निलो कुर्सी, निलो कार्पेटले सजाइएको थियो।

सभामुखको कुर्सी काठमाडौँबाट 

बैठक कक्षका अधिकांश फर्निचर स्थानीय तहमा नै व्यवस्थापन गरिए भने सभामुख बस्ने कुर्सी भने काठमाडौंबाटै मगाइएको संघीय संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।

प्रदेशसभा सदस्यमध्ये कसैले यो अभ्यासलाई संविधानसभाबाट जारी भएको संविधान, संघीय लोकतान्त्रिकजस्ता विषयको कार्यान्वयनको महत्वपूर्ण खुड्किलोको रुपमा रहेको प्रतिक्रिया दिएका थिए।

प्रदेशसभा सदस्य आशा कोइरालाले आफूले व्यवस्थापिका–संसद्को लामो समयसम्मको अनुभव बटुलेकाले थोरै सदस्य सङ्ख्या र कार्यक्रम सञ्चालनको ढाँचाले हेर्दा अलि फरक महसुस भएको टिप्पणी गरे। “आजको अभ्यासबाट कुर्सी व्यवस्थापन र बैठकलाई थप व्यवस्थित गर्नुपर्ने देखिएको छ,” उनले भनिन्।

प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले समय र परिस्थितिअनुरुप प्रदेशसभाका बैठकलाई चुस्त र व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए। अर्का सदस्य रोशन गाहामगरले संघीय संरचनाअनुसार प्रदेशसभाले नयाँ विकासको फड्को मार्ने कार्यक्रम ल्याउन भूमिका खेल्ने बताए।

प्रदेशसभा सदस्य जुनादेवी नेपालीले आजको पूर्वाभ्यास सामान्यतः सबै सदस्यले सहज महसुस गरेको बताउँदै आगामी बैठक सहजताका साथ अघि बढ्ने देखिएको उल्लेख गरिन्।

मुस्ताङका सांसद इन्द्रधारा विष्टले आजको अभ्यासलाई आफूले अनौठो अनुभूति गरेको बताए।

बैठकको तयारी पुरा, १०:५५ मा जनाउ घण्टी बज्ने 

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले प्रदेश ४ को प्रदेशसभाको सोमबार बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको राससलाई जानकारी दिए।

बैठकको मूलकक्षमा सभामुखसहितको रोस्ट्रमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्सी र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएका टेबुल राखिएको छ।

मुलकक्षको पछिल्लो भागलाई पारदर्शी सिसाले छुट्याइएको उपकक्षमा विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी र दर्शकका लागि व्यवस्था गरिएको छ। आजको पूर्वाभ्यास सोचिए भन्दा निकै सफल रहेको जानकारी दिँदै प्रवक्ता गौतमले संविधानले जुनजुन मितिमा जेजे गर्नुपर्छ भनेको छ त्यो सम्पूर्ण काम सफल बन्दै आएको बताए।

उनका अनुसार सोमबार बिहान १०:५५ मा बैठकका लागि जनाउ घण्टी बज्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.