|

काठमाडौं : प्रदेशसभाको पहिलो बैठकमा प्रदेश सांसदहरूले स्थानीय स्रोतसाधनको उच्चतम प्रयोगमार्फत प्रदेशमा नमुना विकास गर्ने प्रतिबद्धता जनाएका छन्। पहिलो बैठकका लागि उत्साहसाथ बैठकस्थल पुगेका प्रदेश २, ५, ६ र ७ का सांसदले आत्मनिर्भर बन्ने चाहनासँगै प्रदेशका ऐतिहासिक र मौलिक स्रोतसाधनको प्रयोगमार्फत समृद्धिको गन्तव्यमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका हुन्।

जातीय र सांस्कृतिक पहिचानका साथ बैठकस्थलमा उपस्थित सांसदहरूले केन्द्र संसद्कै झल्को दिने गरी पहिलो बैठकबाटै संसदीय अभ्यास सुरु गरेका छन्। यो क्रममा कतिपय प्रदेशमा पहिलो बैठकमै होहल्ला र अवरोध सिर्जना भयो भने कतिपय प्रदेशसभा सांसदले एकस्वरले प्रदेश उन्नतिको मार्गचित्र राखे।

करिब दुई घण्टा चलेको प्रदेश २ को प्रदेशसभा बैठकमा सांसदहरूले हिन्दी र मैथिली भाषामा आफ्ना कुरा राखे। फोरम र राजपाका नेताले हिन्दी तथा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले मैथिलीमा भाषण गरेका थिए। उनीहरूले प्रदेश २ लाई समृद्ध बनाउने वचनबद्धता व्यक्त गरे। जंगल, ठूलो नदीजस्ता प्राकृतिक सम्पदाले पछि परे पनि प्रदेशको मुहार फेरेर देखाउने अधिकांशको प्रतिबद्धता थियो।

सांसदहरूले विगतका शृंखलाबद्ध आन्दोलन भुल्दै अब विकसित प्रदेशका लागि संकल्प लिएर अगाडि बढ्नुपर्ने आवश्यकतासमेत आंैल्याए।
बैठक सुरु हुनासाथ केही समय अवरुद्ध पनि भयो। राजपाका सांसदले मधेस आन्दोलनका शहीदका तस्बिर नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरे। राजपा सांसद डिम्पल झाले मधेसका शहीदको तस्बिर नराखेसम्म बैठक अघि नबढ्ने बताएपछि राजपाका सांसद आआफ्नो स्थानबाट उठेका थिए।

ज्येष्ठ सदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्बिर राख्न रुलिङ गरेपछि बल्ल बैठक सुचारु भयो। बैठकले प्रदेशसभा सभामुखको निर्वाचन आगामी २ फागुनका लागि तय गरेको छ भने अर्को बैठक २९ माघ दिउँसो १ बजे तय भएको छ। तराई र पहाड मिलेर बनेको प्रदेश ५ को पहिलो संसद् बैठक केन्द्रीय संसद्कै झल्को दिने गरी बस्यो। १२ जिल्ला रहेको प्रदेश ५ मा ८७ जना सांसद छन्। तर, पहिलो बैठकमा भने सात जना सांसद अनुपस्थित भए। ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको भूमिका निर्वाह गरे। बैठकमा बोल्दै सांसदहरूले समृद्ध प्रदेश निर्माण पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

प्रदेश ६ को पहिलो प्रदेशसभा बैठकमा पनि अधिकांश सांसदले विकास र समृद्धिको चर्चा गरे। पहिलो प्रदेशसभा बैठकमा बोल्ने चार दलका प्रदेश सांसदहरूले राज्य व्यवस्था परिवर्तन भएकाले प्रदेशमा उपलब्ध स्रोतसाधनको सही प्रयोग गरे समृद्ध र नमुना प्रदेशका रूपमा परिचित गराउन समय नलाग्ने बताए। प्रदेशको भौगोलिक विकटता र क्षेत्रफलका हिसाबले अन्य प्रदेशको तुलनामा ठूलो भएकाले चुनौतीलाई चिर्न सके विकास र समृद्धिको मूल फुटाउन सबै एक हुनुपर्नेमा सबैको जोड थियो।

बैठकमा कार्यसूचीमा रहेका सबै एजेन्डा सर्वसम्मत पारित भएको छ। प्रदेश ६ को प्रदेश सभामुखको निर्वाचनको कार्यतालिका आगामी २९ माघमा गर्ने तय भएको छ। अस्थायी राजधानी धनगढीमा प्रदेश ७ को प्रदेशसभा पहिलो बैठक पूर्वनिर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको थियो।

दिउँसो १ बजेर ३५ मिनेटमा सुरु भएको बैठक २ बजेर ५५ मिनेटमा सम्पन्न भएको हो। प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ७४ वर्षीया दिव्यश्वरी शाहले गरेकी छन्। शाहले अध्यक्षता ग्रहण गरेसँगै सुरु भएको पहिलो बैठकमा राष्ट्रिय धुनपछि शहीदहरूलाई स्मरण गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

बैठकमा प्रमुख दलका सांसदले प्रदेशको आर्थिक विकास र समृद्धिलाई साझा मुद्दा बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। समृद्धि र विकासका लागि प्रशस्त सम्भावना भएको यस प्रदेशमा नयाँ युगको सुरुवात भएको भन्दै उनीहरूले विकास र समृद्धिका साझा मुद्दा बनाएर अगाडि जानुको विकल्प नभएको बताए।

हरेक जिल्लामा रहेका विकासका सम्भावनालाई पहिल्याई सबै राजनीतिक दलहरूले विकासका मुद्दामा एक भएर भ्रष्टाचार समाप्त गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिने प्रतिबद्धता समेत जनाए। बैठकमा फरार रहेका सांसद रेशम चौधरीका विषयमा समेत चर्चा भयो। कैलाली–१ बाट विजयी राजपाका नेता रेशमलाल चौधरीलाई जनताले आफ्नो मत दिएर विजयी गराएकाले वारेसनामामार्फत प्रमाणपत्र दिनुपर्ने माग गरे। बैठकले २९ माघमा प्रदेशसभा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.