|
तस्विरहरू– अर्जुन अाचार्य

विराटनगर : प्रदेश १ सभाको पहिलो अधिवेशन सोमबार सुरु हुँदैछ। प्रदेशसभाको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको कार्यालयमा १ बजे सुरु हुनेछ।पहिलो अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ। सभा हलसहितका अन्य तयारी पूरा भएपछि  आइतबार संसद बैठकको पूर्वाभ्याससमेत गरिएको थियो। 

पूर्वाभ्यासमा जेष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुखको आसनबाट सभा सञ्चालन गरेका थिए। सभामुखको प्रवेशसँगै राष्ट्रिय धुनमा सबै सरिक भएका थिए भने भने त्यसपछि सरावगीले प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गरेको पत्र वाचन गरे। त्यसपछि बैठकमा दलका प्रतिनिधिहरुलाई सम्बोधन गर्न समय दिने, संसद् सञ्चालन अन्तरिम कार्यविधि पास गर्ने, सभामुखको अनुपस्थितमा बैठक सञ्चालन गर्ने सदस्यहरु तोक्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति तोक्ने कार्यसूची अगाडि बढाए।

प्रदेशसभाको ज्येष्ठ सदस्य भएकाले संसदको पहिलो बैठक पनि यिनै कार्यसूचीसहित सरावगीले सञ्चालन गर्नेछन्। सरावगी बाहेक बाँकी रहेका ९२ जना प्रदेशसभाका सांसदका लागि सभाहलको पहिलो लहरमा निलो कार्पेटमाथि कुर्सी राखिएको छ भने अतिथि तथा विशिष्ट अतिथिका लागि सेतो रातो कार्पेटमाथि कुर्सी राखिएको छ। सभामा एकातर्फ नेकपा एमालेका सांसद् रहनेछन् भने अर्को लहरमा अन्य दलका सांसदहरुको लागि बस्ने स्थान तोकिएको छ। 

प्रदेशको ऐतिहासिक अधिवेशन भएकाले प्रतिनिधिसभाका सांसद, पूर्वमन्त्री, पूर्वसांसद, महानगरका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, उपकुलपतिहरु, सुरक्षा निकायका क्षेत्रीय प्रमुख, उद्योगी व्यवसायीका प्रतिनिधिलगायतलाई निमन्त्रणा गरिएको छ। प्रदेशसभामा महिला र पुरुष गरेर २४ जना मर्यादापालक रहनेछन्। मर्यादापालक पुरुषले सेतो दौरा–सुरुवाल, कालो कोट र भादगाउँले टोपी लगाउनेछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारी, कलेजी रङको चोलो र कालो कोट लगाउनेछन्। 

सोमबारको बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने कार्यसूची पास गर्ने सहमति यसअघि संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच भइसकेको छ। सभामुखको निर्वाचनको लागि २८ गते उम्मेदवारी दर्ता हुनेछ।

प्रदेशसभाको बैठकलाई केन्द्रित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने सोमबार संसद सचिवालयले दिएको परिचयपत्र बाहकले मात्र सभाहल परिसरमा प्रवेश पाउनेछन्। 

प्रदेश सभाहलको विकल्प खोज्न आग्रह
जिल्ला समन्वय समिति मोरङको सभाहलमा प्रदेश १ को प्रदेशसभा हुने भएपछि जिल्ला समन्वय समिति मोरङले दिर्घकालका लागि अर्को व्यवस्था गर्न आग्रह गरेको छ। 

प्रदेशसभाको बैठक बस्ने अन्तिम तयारी गरिरहेको बेला जिल्ला समन्वय समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर तत्कालका लागि प्रदेशसभाको बैठक बस्न भरपुर सहयोग गरेको जनाउँदै यसपछि अर्को विकल्प खोज्न सरकारलाई आग्रह गरेको हो।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले जनताको बाक्लो आवतजावत भइरहने कार्यालयमा संसद् सचिवालय र बैठक कक्ष लामो समयसम्म राख्न समस्या हुने बताए। सर्वसाधारणको पहुँच हुने कार्यालयमा संसद् बैठक राख्दा सुरक्षा चुनौती हुने र सर्वसाधारणले सास्ती पाउने भन्दै उनले  छिटोभन्दा छिटो विकल्प खोज्नुपर्ने बताए।

जिल्ला समन्वय समितिले तत्कालकालागि प्रदेशसभा सञ्चालनका लागि सभाहल र आवश्यकता अनुसार भुँई तल्लामा रहेको अन्य कोठाहरु प्रयोग गर्न अनुमति दिएको जनाएको छ। तर, दीर्घकालिन रूपमा समन्वय समितिमा संसद बैठक र अन्य कार्यालय राख्न समस्या हुने उनको भनाइ छ।

जिल्ला समन्वय समिति मोरङले प्रदेशसभाको बैठक स्थलमा फर्निचर लगायतको पूर्वाधार सबै आफूले नै उपलब्ध गराएको जनाएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.