|

सोलुखुम्बु : मृगौला रोगबाट पीडित जलजला परियारका लागि सहयोगार्थ सोलुखुम्बुका दुईवटा सामाजिक संस्थाले सहयोग संकलन अभियान चलाएका छन्। दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्मा संस्था नेपाल र लौरेश्वर दलित युवा समाज तिङ्लाले संयुक्त रूपमा सहयोग संकलन अभियान चलाएको हो।

अभियानको दुई दिन सम्म ४२ हजार ३५० सहयोग संकलन भएको लौरेश्वर दलित युवा समाजका अध्यक्ष निरकुमार नेपालीले जानकारी दिए। अभियानको पहिलो दिन शनिबार ११ हजार ८५० र दोस्रो दिन आइतबार ३० हजार ५०० रुपैयाँ सहयोग संकलन भएको अध्यक्ष नेपालीले जानकारी दिए।

सोलुखुम्बुबाट ५० हजार रुपैयाँ भन्दा बढी सहयोग संकलन गरेर बुझाउने लक्ष्य रहेको सगरमाथा आरोही विजय घिमिरेले जानकारी दिए। 'सानो सहयोगले मानिसको ज्यान बचाउन सकिन्छ भने किन सहयोग नगर्ने भन्दै सदरमुकामबासी सबैले सहयोग गरे', घिमिरेले भने, 'जलजला एक कलाकार पनि हो स्वरकी धनी उनी नेपालको सम्पत्ति हुन्। त्यसैले पनि उनलाई सहयोग गर्न हामी जुटेका छौँ।'  

दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्मा संस्था नेपालका संरक्षक विजय घिमिरेको नेतृत्वमा लौरेश्वर दलित युवा समाजका अध्यक्ष निरकुमार नेपाली, उपाअध्यक्ष खगेन्द्र सार्की, कोषाध्यक्ष लालबहादुर नेपाली, सुरेन्द्र नेपाली सहितको टोलीले सहयोग संकलन गरिरहेका छन्। 

अर्घखाँचीको भूमिकास्थान नगरपालिका–२ धाकाबाङमा जन्मिएकी २१ वर्षीया कलाकार जलजलाका दुवै मृगौला काम नलाग्ने भएपछि अहिले शिक्षण अस्पताल महाराजगञ्जजमा उपचार भइरहेको छ। उनको उपचारका लागि २५ लाख भन्दा बढी रकम आवश्यक पर्ने भएपछि सहयोगको याचना गरिएको छ। 

नेपाली तारा 'सिजन तीन'को उत्कृष्ट चारमा परेकी जलजला परियारलाई उपचारका लागि देशको विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.