|

बजारमा 'सेलिब्रेटी' (मनाेज गजुरेल र मीना ढकाल)को सम्बन्धविच्छेदको खबर ओझेलमा परिसकेको छैन। उनीहरूको वैवाहिक सम्बन्ध टुंगिएको खबरले गत साता अखबार, अनलाइन र युट्युब रंगिए। मिडियाका लागि त 'सेलिब्रेटी'का बोली व्यवहार मसला होलान्। 'डिभोर्स' त भयो नै, यसलाई प्रायोजित बनाउन फेरि मिडियाबाजी गर्नु कति उपयुक्त हो, त्यसको पनि विश्लेषण जरुरी छ। 

नेपाली सेलिब्रेटीको यो पछिल्लो संस्करण अझ बढी रोचक बन्दै गएको छ। यो सम्बन्धविच्छेदमा सामान्य नेपालीको कल्पनाबाहिरको कारोबार (अंशवण्डा) भएको छ। दुईबीच सम्बन्धविच्छेद भएसँगै छोराछोरी पनि सम्पत्तिझैँ भाग लागेका छन्। एउटाले बाबुसँग बस्न नपाउने, अर्काले आमाको ममता नपाउने। यतिसम्म कि १३ वर्षकी कलिली छोरीलाई साथै राखेर आमाले अन्तर्वार्ता दिएकी छन्। अन्तर्वार्ताकारले सोधेकी छन्, ‘आमाबाबुको डिभोर्स कस्तो लाग्यो’, छुट्टिने आमाबाबुलाई केही भन्नु छ?

यसको बढ्दो प्रचारले नेपाली समाज पनि अब पाश्चात्य संस्कृतिको चरम अनुभव गर्न थालेको प्रतीत हुन्छ। भाग लगाउनेलाई त सजिलै हुँदो हो, तर भाग लागिनेको पीडा कस्तो हुँदो हो, अनुमान गर्न सकिँदैन।

के हो सम्बन्धविच्छेद?
अंग्रेजी शब्द डिभोर्सकै नेपाली अर्थ हो, सम्बन्धविच्छेद। सम्बन्धविच्छेद अरूसँग पनि हुन सक्छ तर 'डिभोर्स'चाहिँ पतिपत्नीकै लागि प्रयोग हुन्छ। क्याम्ब्रिज र अक्सफोर्ड डिक्सनरीका अनुसार वैवाहिक सम्बन्ध कानुनी रूपमा टुंगिनुलाई डिभोर्स भनिँदोरहेछ। विवाह भएका दम्पतीबीच सम्बन्ध टुट्नुलाई डिभोर्स भनिन्छ। त्यसैको नेपाली अर्थ हो, सम्बन्धविच्छेद।

सनातन संस्कृतिमा गृहस्थाश्रम धर्मपूर्वक निर्वाह गर्न, धर्मानुकूल यौनसम्बन्ध राख्न र सन्तानोत्पादनका लागि विवाह महत्त्वपूर्ण संस्कार मानिएको छ। विवाह संस्कार नभएको व्यक्तिलाई कुनै पनि धार्मिक कार्य गर्ने अधिकार दिइएको छैन।

सनातन संस्कृतिमा सम्बन्धविच्छेद
वैदिक संस्कृतिले डिभोर्स वा पतिपत्नीबीचको सम्बन्धविच्छेदको कल्पना गरेको छैन। अर्थात् वैदिक कानुनमा सम्बन्धविच्छेद नै छैन। यसका लागि वैदिक विवाह संस्कारतर्फ दृष्टि लगाउनुपर्छ। विवाह सम्पन्न भएको भोलिपल्ट गरिने चतुर्थी कर्मअन्तर्गत एक मन्त्रमा बेहुलालाई वेदको एक मन्त्र भन्न लगाइन्छ, जसको सामान्य अर्थ यस्तो हुन्छ– हे बधू (बेहुली)! मेरो प्राणसित तिम्रो प्राण, मेरा हाडहरूसित तिम्रा हाड, मेरो मासुसित तिम्रो मासु र मेरो छालासित तिम्रो छालालाई एक गराउँछु (पारस्कर गृह्यसूत्र)। 

कस्तो विशिष्ट संस्कृति! कच्चा सम्बन्ध हो र! प्राणसँग प्राण मिलाउने भनिएको छ। हाड, छाला, मासु सबै एकाकार गराउने भनिएको छ। पत्नीलाई अर्धांगिनी र पतिलाई अर्धांग मानिएको छ। अर्थात् एकविना अर्को पूरा नहुने। एकविना अर्कोको अस्तित्व नहुने। एकअर्काका परिपूरक। कहाँ औँठी साटासाट गरेर वा अदालतमा गएर दुई एक भएको घोषणा गरिने हल्काफुल्का प्रक्रिया!

नेपाली समाजमा एउटा आहान छ, विहे भनेको केटाकेटी (पुतली)को खेल हो र! कसैको जीवन र ऊ बाँच्ने समाजलाई समेत सोचेर विवाहसम्बन्धी यो धारणा बनाइएको होला। केटाकेटीले पुतली बनाउँछन्। त्यसलाई बिगार्छन्। विवाह त्यस्तो हुनुहुँदैन भन्ने कस्तो गहिरो दर्शन! हो, पश्चिमा संस्कृतिमा विवाह केटाकेटी वा पुतलीको खेलजस्तै हुन्छ। कतिखेर जोडियो, कतिखेर छुट्टियो, पत्तै नहुने। बाबुआमा त छुट्टिए। आआफ्नो बाटो लागे तर छोराछोरी?

सनातन विवाहको आदर्श
शुक्ल यजुर्वेदीहरूको विवाह गर्दा पढिने पारस्कर गृह्यसूत्रको एक मन्त्र (बेहुलाले बहुलीलाई भन्ने) को भावार्थ यस्तो छ–  'हे कुमारी ! शौभाग्यको निम्ति म तिम्रो बूढी औँलो समाउँछु। पतिको रूपमा मलाई स्वीकार गरेर जीवनपर्यन्त रहिरहू। देवताहरूले तिमीलाई गृहस्थधर्म पालन गर्न मलाई दिएका हुन्। म प्राण हुँ, तिमी वाक् हौ। आऊ हामी विवाह गरौँ, हामी दुई संयुक्त भई गर्भाधारण गरौँ, हामी पतिपत्नी परस्परमा अनुरक्त भएर, दीप्तियुक्त भई मिलेर वर्षौंवर्ष बाँचौँ।’ यसरी गरिएको विवाहले एक जुनीमा मात्र होइन, ७ जुनीसम्म साहचर्य गराउँछ भन्ने मान्यता छ।

वैदिक सनातन संस्कृतिले पुरुषलाई मात्र अधिकार दियो, उसलाई जे गर्ने छुट दियो भन्ने गरिन्छ तर यो साँचो हाेइन। पुरुषलाई पनि व्यभिचार गर्दै हिँड्ने छुट दिएको छैन। व्यभिचारले समाज अस्थिर हुने वर्णशंकरहरूको उत्पत्ति हुनेजस्ता कारण देखाउँदै यसलाई निरुत्साहन गरिएको छ। 

विवाहअन्तर्गत आउने अन्य मन्त्रहरूको अध्ययन गर्ने हो भने पनि पूर्वीय विवाह पद्धतिको आदर्शबारे ज्ञान लिन सकिन्छ।  विवाहिता पत्नी प्राप्त नगरुञ्जेल पुरुष अपूर्ण हुन्छ, पत्नीको प्राप्तिले मात्र पूर्ण हुन्छ। जहाँ पतिपत्नीले समान रूपले धर्मपालन गरेका हुन्छन्, त्यहाँ धर्म, अर्थ र काम पुरुषार्थको सामाञ्जस्य हुन्छ। आदर्श गृहस्थ धर्मको पालनबाट मोक्षमा समेत मद्दत पुगेको हुन्छ। धर्मविवाह गरेका पतिपत्नीको त परलोकमा समेत साहचर्य हुन्छ भन्ने मान्यता पाइन्छ। पतिव्रता र धर्मशीला पत्नीप्रति प्रतिकूल व्यवहार गर्ने, विना कारण उनलाई त्याग्ने व्यक्ति देवता, पितृहरूबाट त्यागिने र सदा नरकमा पर्ने उल्लेख पाइन्छ। 

यसरी एकीकरण हुने पतिपत्नीको सम्बन्ध पनि छुट्टिन सक्ला? सनातन संस्कृतिमा गृहस्थाश्रम धर्मपूर्वक निर्वाह गर्न, धर्मानुकूल यौनसम्बन्ध राख्न र सन्तानोत्पादनका लागि विवाह महत्त्वपूर्ण संस्कार मानिएको छ। विवाह संस्कार नभएको व्यक्तिलाई कुनै पनि धार्मिक कार्य गर्ने अधिकार दिइएको छैन। जुनसुकै कर्म गर्दा पनि पत्नीलाई साथमा लिएर गर्नू भन्ने श्रुति, स्मृति, पुराणको निर्देशन छ। 

स्त्री–पुरुषको सहअस्तित्व

स्त्रीलाई पुरुषको आधा अंग अर्थात् अर्धांगिनी मानिएको हुनाले जब आधा अंग मिलेर पूर्ण अंग बन्छ अनि मात्र उसले कुनै पनि कर्म गर्न पाउँछ र गरेका कर्महरू पनि पूर्ण रूपले सफल हुन्छन् भन्ने शास्त्रको भनाइ छ। विवाह स्त्री र पुरुषलाई एकीकरण गरी पतिपत्नी बनाउने संस्कार हो। यसरी विवाह भएका पतिपत्नी कहिल्यै छुट्टिँदैनन् भन्ने मान्यता छ। यसबाट समाजमा धर्म, नैतिकता, कर्तव्य आदि समाजलाई आवश्यक पर्ने विभिन्न गुणहरू विकसित भइरहेको देखिन्छ। यसरी गरिएको विवाह शास्त्रीय रूपमा कहिल्यै पनि विच्छेद नहुने बताइएको छ।          

विवाह स्त्री र पुरुषलाई एकीकरण गरी पतिपत्नी बनाउने संस्कार हो। यसरी विवाह भएका पतिपत्नी कहिल्यै छुट्टिँदैनन् भन्ने मान्यता छ। यसबाट समाजमा  धर्म, नैतिकता, कर्तव्य आदि समाजलाई आवश्यक पर्ने विभिन्न गुणहरू विकसित भइरहेका देखिन्छ। यसरी गरिएको विवाह शास्त्रीय रूपमा कहिल्यै पनि विच्छेद नहुने बताइएको छ।    

सनातन धर्म र यसअन्तर्गत आउने संस्कारहरूको महत्त्व र तिनमा भएका दार्शनिक पक्षलाई बेवास्ता गर्दै विभिन्न आलोचना गर्ने गरिएको छ। कतिपयले सनातन हिन्दू विवाह ‘महिला हिंसा गर्ने माध्यम’ र ‘वैधानिक बलात्कारको लाइसेन्स’ जस्ता निकृष्ट पदावलीको प्रयोग गर्ने गर्छन्। पत्नी आफैँ पाइने होइन, देवताले दिएर पाइने हो, त्यसकारण उनीमाथि निकृष्ट व्यवहार गर्नुहुँदैन भन्ने शास्त्रको मान्यता छ। प्रजापतिले आफ्नो शरीरलाई चिरेर आधाले पति र आधाले पत्नीको सिर्जना गरेको प्रसंग आउँछ शास्त्रमा। 

मनुस्मृतिले स्त्री सन्तुष्ट हुँदा पूरै कुलै शोभित हुने बताएको छ। यस्तै स्कन्द पुराणमा पतिबाट पत्नी र पत्नीबाट पति सन्तुष्ट रहने घरमा पाइलैपिच्छे कल्याण प्राप्त हुने बताइएबाट पनि सनातन विवाह संस्कारले पतिपत्नीको सहअस्तित्वलाई कायम राखेको बुझ्न सकिन्छ। पतिको अनुकूल व्यवहार गर्ने, घरका मान्यजनसँग राम्रो बोली व्यवहार गर्ने पत्नी त लक्ष्मीकै स्वरूप मानिएको छ। पति र पत्नी आपसमा मिलेको घर त स्वर्गमा पनि नपाइने सुख हो भन्ने शास्त्रको भनाइ छ। एक जनाले मात्र पनि प्रतिकूल व्यवहार गर्दा घर नरक बन्ने भएकाले सहअस्तित्व र सहकार्यमा जोड दिइएको छ।

विचार पुर्‍याउनुपर्ने पक्ष

पूर्वीय सभ्यतामा गम्भीर र महत्त्वपूर्ण मानिएको विवाह संस्कारलाई हिजोआज नेपाली समाजमा पनि हल्काफुल्का रूपमा लिन थालिएको छ। ‘मनपरुञ्जेल सँगै बस्ने, मन पर्न छाडेपछि लुगा फेरेझैँ लोग्ने स्वास्नी फेर्ने’ पश्चिमाहरूको संस्कृति अनुकरणको होड चल्दा सम्बन्धित व्यक्ति मात्र नभई सम्पूर्ण समाज नै प्रभावित भइरहेको छ। छोटो चिनजानकै भरमा वा शारीरिक आकर्षणको भरमा मनपराउने, विवाह गर्ने, शारीरिक सन्तुष्टि लिने र केही समयमै छुट्टिने संस्कृतिले मानिसलाई सुखी बन्न दिइरहेको छैन। 

उनीहरूबाट जन्मिएका सन्तानहरूले समेत पालनपोषण, शिक्षादीक्षा र सम्पत्तिको अधिकारबाट वञ्चित हुनुपरेको उदाहरण हाम्रै वरपर प्रशस्त छन्। विवाह असफल बन्ने समस्यासँगै सामाजिक, सांस्कृतिक तथा मानसिक समस्याहरू बढ्दै गइरहेका छन्। विवाह असफल बनाउने कारक तत्त्व र तिनबाट सिर्जित समस्याबाट पश्चिमाहरू समेत दिक्क भइरहेका बेला हामी भने उनीहरूको संस्कृतिको अन्धानुकरण गर्न लागिपरेका छौँ।

२२\२३ वर्षसम्म एउटै छानामुनि बसेका, एउटै थालमा खाएका, एउटै ओछ्यानमा सुतेका व्यक्ति फेरि मन मिलेन, चित्त बुझेन भन्दै छुट्टिनुपर्ने के कारणले हुन्छ? नहुनुपर्ने हुनै नसक्ने डिभोर्स त भयो भयो, अब फेरि एकले अर्काका भए नभएका दुर्गुण सार्वजनिक गर्दै हिँड्नुपर्ने केले गर्दा हुन्छ? विवाह पुरुष–नारी सम्बन्ध आदिका पक्षमा सनातन धर्ममा रहेका यी पक्षहरूमा विचार पुर्‍याउने हो भने गजुरेल र ढकालका जस्ता घटना कम हुने थिए वा दोहोरिने थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.