|

कालिकोट : कालिका गाउँपालिका-३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमूल्य धातु काइनाइट अवैध उत्खनन भइरहेको छ। विपिन एन्ड अभि खनिज उद्योग प्रा.लि तथा अन्य दुई ठेकेदारले भर्ताको बुकिमालिका सामुदायिक वनमा रहेको खानिबाट ठुलो परिणममा अवैध रुपमा काइनाइट उत्खनन गरि भारत निकासी गरिरहेका हुन्। गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमति विना  अवैध रुपमा राजश्व छलेर निकासी भइरहेको छ। 

राजश्व छलेर रातारात अवैध निकासी गरिहेको कालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए। ‘काइनाइट उत्खननका नाममा २० मिटरका बंंकर बनाएर सयौँ रूखहरु नष्ट गरिएका छन्।’ उनले भने, ‘ठाउँठाउँमा पहिरो गइरहेको अवस्था छ।’ 

विपिन एण्ड अभि खनिज उद्योगका सञ्चालक गोपाल पाण्डे, ठेकेदार डवलसिंह माझी, हरिचन्द्र चलाउने लगायतले स्थानीयसँगका मिलेमतोमा बहुमुल्य ढुङ्गा भारततिर अवैध निकासी गरिरहेको कालिका गाउँपालिका वडा नम्बर ३ अध्यक्ष धनराज शाही बताए।

‘सरोकारवालाहरुले चासो नदिदाँ यस प्रदेशकै आर्थिक सम्भावना बोकेको  खानी नष्ट भइरहेको छ।’ उनले भने, ‘हामीले रोक्नका धेरै प्रयास गरेको भए पनि अझै रोक्न सकिएको छैन।’ विपिन एण्ड अभि खनिज उद्योग प्रा.लि.ले ०५९ असारमा ठेकेदार माझीले ०६५ र चलाउनेले ०५९ सालमा खानी तथा भूगर्भ विभागबाट उत्खनन इजाजत पत्र लिएका थिए। डेढ दशकसम्म ठेकेदारहरुले गाविस जिविस हाल गाउँपालिका वडापालिकामा राजस्व तिरेका छैनन्। 

खानी उत्खननका लागि जंगलभित्र कामदारहरुलाई बस्नलाई टहरा बनाइएका छन्। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि तत्कालका लागि भनेर उत्खनन कार्य रोक्न लगाइए पनि रातारात अवैध उत्खनन भइरहेको गाउँपाकिला अध्यक्ष खडानन्द चौलागाईले बताए। ‘विपिन एण्ड अभिले उत्खनन कार्य सरु गरेदेखि एउटा आर्थिक वर्षमा मात्र जिविसमा राजश्व तिरेका बाँकी आर्थिक वर्षमा राजश्व तिरेका छैनन्।’ उनले भने, ‘कुनै निकायमा पहल गर्दा पनि अवैध खानी उत्खनन रोक्न सकिएको छैन।’


आर्थिक वर्ष २०७१ ०७२ मा मात्र ३४ हजार ४ सय राजश्व तिरेको बाँकी आर्थिक वर्षहरूमा कर छली गरेको वडा सचिव मोहन न्यौपाने बताए। ‘एउटा आर्थिक वर्षको राजस्‍व मात्र जिल्ला विकास समितिलाई तिरेका छन्।’ उनले भने, ‘अन्य दुई जनाले ठेकेदारहरु डवलसिंह माझी र हरिचन्द्र चलाउनेले हालसम्म राजस्व तिरेका छैनन्।’खनिज उत्खनन गर्नु अघि खोजतलासका क्रममा वन विभागबाट अनुमति लिनुपर्ने हुन्छ।

वातवरण संरक्षण, नियम अनुसार जंगल फडाँनी नगरी खनिज झिक्ने प्रक्रिया सुरु गर्नुपर्ने जिल्ला वन कार्यालय कालिकोटका सहायक वन अधिकृत विमल शर्माले बताए। ‘१ घनमिटरमा रहेको ३ मिटर बराबर क्षेत्रमा रहेको काइनाइट उत्खनन गर्न पाउने खानी तथा भूगर्भ विभागको नियममा रहेको छ।’ उनले भने,' अवैध रुपमा उत्खनन नहोस भनेर स्थानीय साविकको गविसको वजेटबाट चौकीदार राखिए पनि उनीहरुकौ मिलमतोमा अवैध उत्खनन भएको छ।’

वडापालिकाको बैठक बसेर पुराना चौकीदार हटाएर नयाँ ६ जना नियुक्त गर्ने निर्णय भएको वडाध्यक्ष धनराज शाहीले बताए। ‘ठेकेदारहरुले रातारात गुण्डा लगाएर सार्वजनिक सामुदायिक वन कब्जा गरेर बसेका छन्।’ उनले भने,‘ स्थानीय सरकारलाई राजश्व नतिरी खनिज उत्खनन गरी अवैध निकासी गरिरहेका छन।’

कालिका गाउँपालिका ३ भर्ताको  ३६ सय ९९ हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७९ हेक्टर मदाने वनक्षेत्रमा बहुमुल्य काईनाइट रहेको छ। खनिज उत्खनन गर्नका लागि सयौं कामदार घर टहरा बनाएर वन क्षेत्रभित्र बस्ने गरेपछि रुखहरु कटान गर्नुका साथै वन्यजन्तुको चोरीसिकारी समेत बढेको जिल्ला वन रक्षक विरेन्द्रप्रसाद आचार्यले बताए। ठुला ठुला वंङकरहरु खनेपछि वन क्षेत्रका पानीका मुहान समेत सुकेका छन्।’ उनले भने,‘वन क्षेत्रमा पाइने पाँचऔले, कटुको, सतुवा, अत्यासी लगायत जडिवुटीको पनि अवैध निकासी भइरहेको छ ।’ 

खानी तथा भूगर्भ विभागको नियम २१ को उपनियम १ अनुसार गार्नेट काइनाइट प्रति केजि ३ रुपैया औद्योगिकस्तरको प्रतिटन ५० रुपैयाँ राजश्व राज्यलाई तिर्नुपर्ने खानी तथा भूगर्भ विभाग ऐनमा उल्लेख गरिएको छ। तर, त्यस विपरीत जिल्लामा रहेको काइनाइट खानीको अवैध उत्खनन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.