|

काठमाडौं : गम्भीर प्रकृतिका बिरामीलाई दिन सुरु गरिएको जीवन निर्वाह भत्ताका लागि सरकारले कार्यविधि बनाएकाे छ।

गत माघ ११ गतेदेखि दिन थालिएकाे मासिक ५ हजार रुपैयाँ जीवन निर्वाह भत्ता वितरणका लागि मापदण्डसहितको कार्यविधि बनाइएको हो।

क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई यस्तो भत्ता दिन कार्यविधि बनाइएको हो।

हाल सरकारले क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ उपचार खर्च दिँदै आएको छ। मिर्गौला रोगीलाई भने नि:शुल्क डायलाइसिस, प्रत्यारोपण गर्नुपरेमा ४ लाख रुपैयाँ, प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ र मिर्गौला प्रदान गर्ने तथा ग्रहण गर्ने बिरामीको प्रयोगशाला परीक्षणका लागि ५० हजार रुपैयाँ बराबरको उपचार सुविधा दिँदै आएको छ।

यस्तै, मिर्गौला रोगीमध्ये 'एक्युट रिनल फेइलर'का बिरामीका लागिसमेत सरकारले १ लाख रुपैयाँ बराबरको उपचार सेवा दिँदै आएको छ। यसरी उपचारमा सरकारले सहयोग गर्ने भए पनि लामो समयसम्म उपचार गराउँदा बिरामीले आफ्नो जीविका चलाउन गाह्रो हुने भएकाले गत पुस १३ गतेको मन्त्रिपरिषद् बैठकले स्पाइनल इन्जुरी, क्यान्सर र मिर्गौलाका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने निर्णय स्वरूप यस्ता बिरामीहरूलाई भत्ता दिन सुरु गरिएको थियो।

तर कस्ता समस्या भएका व्यक्तिले भत्ता पाउने भनेर यकिन भइसकेको थिएन। अहिले भने सोसम्बन्धी कार्यविधि तयार गरी भत्ता वितरणलाई व्यवस्थित गराइएको छ।

सुर्ती कर कोषबाट उपलब्ध हुने रकम यस्ता बिरामीहरूलाई जीविकोपार्जन स्वरूप दिन थालिएको हो। यसअघि विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत ८ प्रकारका रोगहरूलाई उपचार खर्च दिँदै आएको सरकारले बिरामीलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७४ समेत तयार गरिसकेको छ।

सुर्तीजन्य पदार्थको करबाट उठेको रकम यी बिरामीका लागि दिइने भत्ताको स्रोत बनाइएको छ। कार्यविधिमा हरेक महिनाको ७ गतेभित्र भत्ताको रकम वितरण गर्ने उल्लेख छ। भत्ता (चेक) लिन बिरामी स्वयं उपस्थित हुनुपर्ने र बिरामी उपस्थित हुन नसकेको अवस्थामा उसको हक लाग्नेहरूले चेक लिन सक्ने व्यवस्था मिलाइएको छ।

के छ कार्यविधिमा?

मिर्गौलाका बिरामीको हकमा मिर्गौला रोग विशेषज्ञद्वारा मिर्गौलाको बिरामी भएको प्रमाणित मेडिकल रिपोर्टका आधारमा बिरामी छनोट गरिन्छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा रहेको विपन्न नागरिक कोष सचिवालयका फोकल पर्सन प्रकाश घिमिरेका अनुसार कार्यविधिमा दुवै मिर्गौला फेल भए पनि प्रत्यारोपण नगरी औषधि सेवन गरी वा डायलाइसिस गरिरहेका बिरामी र मिर्गौला प्रत्यारोपण गरी बेरोजगार भई नियमित कार्य गर्न असमर्थ रही आराम गरी बस्न सिफारिस भएका बिरामीले मासिक ५ हजार जीविकोपार्जन भत्ता पाउँछन्। यसका लागि मिर्गौला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकले सिफारिस गर्नुपर्छ।

क्यान्सरका बिरामीको हकमा पनि रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको सिफारिसको आधारमा उपचार गराइरहेका बिरामी र नियमित आय आर्जन गर्न असमर्थ भर्इ चिकित्सकले आराम गर्नुपर्ने भनी सिफारिस गरेको मेडिकल रिपोर्टको आधारमा बिरामी छनोट गरिन्छ।

यसैगरी स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भई बिरामी बेरोजगार भएर आय आर्जन गर्न नसक्ने भई आराम गर्न भनी सोसम्बन्धी विशेषज्ञ चिकित्सकले सिफारिस गरे उनीहरूलाई पनि मासिक रूपमा ५ हजार रुपैयाँ भत्ता आजीवन प्रदान गरिनेछ।

गरिब वा असहाय भनी झूठो विवरण पेस गरी यस कार्यविधिबमोजिम जीविकोपार्जन भत्ता प्राप्त गर्न खोजेको जानकारी प्राप्त भएमा वा प्रमाणित भएमा जीविकोपार्जन भत्ता उपलब्ध गर्ने निर्णय तत्काल रद्द हुनेछ।

गरिवीको परिचयपत्र वितरण गरेको जिल्लाको हकमा सोही परिचयपत्रवालाले मात्र भत्ता पाउने व्यवस्था गरिएको छ।

भत्ता लिन कहाँ जाने?            

मिर्गौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीहरूको जीविकोपार्जन भत्ता सेवा सञ्चालन र व्यवस्थापनका लागि सरकारले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयमा सचिवालय रहने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरेको छ। उक्त समितिमा जिल्लास्थित सरकारी अस्पताल, जिल्लास्थित केन्द्रीय स्वास्थ्य प्रतिष्ठानका प्रमुखहरू सदस्य रहनेछन्। जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव रहनेछन्।

यस समितिले दरखास्तअनुरूप मिर्गौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीहरूलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउन अनुसूची ४ को ढाँचामा निर्णय गरी बिरामीले माग गरेबमोजिमको अस्पतालमा सिफारिस गरी पठाउनुपर्नेछ।

समितिले विपन्न नागरिक औषधि उपचार कोषसम्बन्धी निर्देशिका (दोस्रो संशोधन), २०७३ मा उल्लेख भएबमोजिम बिरामीले उपचारका लागि माग गरेको अस्पतालमा सिफारिस गरी पठाउनुपर्नेछ र सोको बोधार्थ स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा पनि दिनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, जीविकोपार्जन भत्ता प्रयोजनका लागि सिफारिस गर्दा तोकिएको एकभन्दा बढी कडा रोग लागेमा पनि सिफारिस गर्नुपर्नेछ। बिरामीले निवेदन दिएको ३ दिनभित्र समिति बैठक बसी निर्णय गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।

जिल्लास्तरीय विपन्न नागरिक औषधि उपचार सिफारिस समितिको सचिवालयले मिर्गौला रोग, क्यान्सर, स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीहरूबाट दरखास्त संकलन गरी प्रारम्भिक प्रशासनिक कार्य र अभिलेख राखी समिति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हालसम्म १४२ जनाले नि:शुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने ४ हजार १८२ जनाले नि:शुल्क डायलाइसिस र ८८ जनाले पेरिटोलियल डायलाइसिस गराएका छन्। ८ हजार ६४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन्।

सरकारले यसैका आधारमा भत्ता वितरण गर्नेछ। स्पाइनल इन्जुरी, क्यान्सर, मिर्गौलाको उपचार गराइरहेका बिरामीलाई मासिक ५ हजार रुपैयाँ दिँदा वार्षिक ७८ करोड रुपैयाँ रकम सुर्ती कर कोषबाट उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सुर्तीजन्य पदार्थबाट वार्षिक रूपमा उठ्ने करिब ११ अर्ब रुपैयाँको २५ प्रतिशत करिब पौने ३ अर्ब सुर्ती कर कोषमा आउने रकम अहिलेसम्म ७५ प्रतिशत क्यान्सर तथा मुटु रोगको उपचार गर्ने अस्पताललाई, १५ प्रतिशत रकम मन्त्रालयको कार्यक्रमलाई, १० प्रतिशत रकम सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्ने अभियानमा क्रियाशील हुने गैरसरकारी संस्थालाई दिइँदै आएको थियो।

यस्तो छ कार्यविधि:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.