|

अरूण तरेर नाना, तमोर तरेर

आयौँ हामी वीरताको गाथा कोरेर

यो गीत वि. सं. २०६२ माघ १४ गते संखुवासभाको ताम्खु भन्ने ठाउँको एक झुपडीमा लेखिएको हो। त्यसबेला उनी तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धमा सातौँ ब्रिगेड कमिसार थिए। माओवादीले त्यसबेला भोजपुर सदरमुकाममा अाक्रमण गर्न निर्देशन दिएको थियो। त्यसमा पूर्वका पाचौँ, छैठौँ र सातौँ ब्रिगेडका जनमुक्ति सेनाहरू थिए।

त्यसबेला सातौँ ब्रिगेडका जनमुक्ति सेनाहरू पाँचथरबाट तमोर र अरुण तर्दै संखुवासभा हुँदै भोजपुर जाँदै थिए। त्यस क्रममा माओवादी नेता तथा गीतकार मणि थापाले जनमुक्ति सेनालाई प्रोत्साहन गर्नका लागि यो गीत तयार पारे। धेरै दुःखले जमुक्ति सेनाहरू भीर, पाखा गर्दै त्यहाँसम्म पुगेका थिए। सेनाको मनोबल कमजोर बन्छ भन्ने लागेर हिँड्दै गर्दा उनले यो गीत रचेको बताए।

‘हाम्रो सेना अरुण तरेर तमोर पनि तरे। भोजपुर पुगेर सफलता पनि हात पारे। उनीहरूलाई अझ हौसला दिन यो गीत लेखेँ। धेरै चर्चित पनि भयो’, थापाले भने। 

यो गीतमा थापाकै संगीत छ भने प्रदीप देवानको स्वर छ। देवान पनि उनीसँगै जनमुक्ति सेनामा कार्यरत थिए। यो गीत त्यसबेला मात्र चर्चित भएको होइन, जनयुद्धपछि पनि माओवादीका धेरै कार्यक्रममा यही गीत बज्छ अझै। गाउँघरतिर पनि यो गीत बजिरहेको पाइन्छ। पूर्वी पहाडी जिल्लाहरूमा त प्रयाजसोले यो गीत गुनगुनाइरहेका सुनिन्छ।

‘हुनत सबै सर्जकलाई आफ्नो गीत चलोस् भन्ने त लाग्छ तर जनवादी गीत, संगीत व्यावसायिक हुँदैनन्। यसबाट समाजमा एक प्रकारको ऊर्जा प्राप्त हुन्छ। जनयुद्ध सफल गर्न पनि यस्ता गीत, संगीतको ठूलै महत्त्व छ।’

यो गीत उनलाई पनि प्रिय लाग्छ। यो गीतले पूर्वको संगठनलाई स्थापित गर्न धेरै नै सहयोग गरेको उनी बताउँछन्। भन्छन्, ‘त्यसबेला पूर्वको फौजी संगठनलाई स्थापित गर्न र जनतामा चेतना जगाउन धेरै ठूलो योगदान गरेको थियो।’

राजनीतिक परिवर्तन र आन्दोलनका लागि ऊर्जा दिने उद्देश्यले लेखिएका गीतहरूलाई 'जनवादी' गीत भन्ने गरेका छन् विशेषगरी कम्युनिस्ट गीतकारहरूले। यस्ता गीत संगीतलाई उनीहरू जनवादी भन्न नै रुचाउँछन् र यस्ता गीत संगीत सिर्जना गर्ने तथा गाउनेलाई जनवादी गीतकार, गायक र संगीतकार।

त्यतिकै प्रिय छ उनको अर्को गीत ‘फोक्ल्यान्डको टापुबाट।’ आफूले पहिलो पटक संगीतवद्ध गरेर बजारमा ल्याएका कारण पनि यो गीत निकै प्रिय लाग्छ रे उनलाई। भन्छन्, ‘गीत त पहिला पनि लेख्थेँ तर योचाहिँ पहिलो पटक संगीत पनि भरेर ल्याएको हुनाले निकै प्रिय लाग्छ।’ उनले यो गीत उनले २०४२ सालताका लेखेका हुन्।

भन्छन्, ‘फोक्ल्यान्डको टापुमा नेपालीहरूले साहसका साथ विश्वयुद्ध लडिरहेका थिए। कतिले त ज्यानै पनि गुमाइरहेका थिए। त्यही सम्झनामा मैले यो गीत लेखेको हुँ।’ यो गीतमा जीवन शर्माले संगीत र स्वर भरेका हुन्। भन्छन्, ‘यो गीत २०४५ सालताका धेरै चर्चित भयो। जताततै बजिरहेको पाइन्थ्यो।’ पहिलो गीतले नै यसरी चर्चा पाउँदा आफू धेरै हर्षित भएको उनी बताउँछन्।

गीत संगीतले समाज परिवर्तन गर्नुपर्छ

उनी जनताका गीत लेखनमा रुचि राख्छन्। जनताका दु:ख पीडालाई गीत बनाएर लेख्यो भने चेतनाको दियो बल्ने उनको बुझाइ छ। यस्ता गीत संगीतले व्यावसायिक रूपमा पैसा नै नकमाए पनि समाज परिवर्तनमा ठूलो योगदान पुर्‍याउने उनको धारणा छ। ‘गीत, संगीत तथा सहित्यबाट श्रमिक वर्गको सेवा गर्नुपर्छ। म त्यही बुझाइबाट हुर्किएको हुनाले पनि यस्तो गीत लेखेँ’, उनी भन्छन्, ‘गीत, संगीतले समाज परिवर्तन गर्नुपर्छ।’

जनयुद्धमा योद्धाको वीरता र बहादुरीलाई केन्द्रमा राखेर गीत, संगीत सृजना गर्ने गरेको बताउँछन् उनी। भन्छन्, ‘हामी योद्धाका बहादुरीलाई गीतमा लेख्ने गर्थ्यौं। विशेष गरेर जनमुक्ति सेनलाई हौसला दिन पनि सृजना गर्थ्यौं।’

जनवादी गीत चर्चामा आउन लेखिँदैन

माया पिरतीका गीत पछिल्लो समय धेरै चलेका छन्। यस्ता गीतक सर्जकले राम्रै पैसा पनि कमाउँछन् तर थापालाई भने यस्तो गीत लेख्न कहिल्यै मन लागेन रे! ‘हुनत यस्ता गीतहरूबाट पैसा कमाइन्छ होला तर सन्तुष्टि कमाउन मुस्किल’, भन्छन्, ‘क्रान्तिकारी र जनवादी गीतले मलाई चर्चित त बनाएन होला तर यी गीतहरू इतिहास हुन्। यी गीतबाट छुट्टै सन्तुष्टि मिल्छ। अरू गीत लेख्ने रहर नै जागेन।’

सर्जकलाई आफूले रचना गरेको सृजनाले राम्रै कमाइ होस्, चर्चित बनाओस् भन्ने चाहना भए पनि जनवादी गीत, संगीतले पैसा नकमाए पनि आत्मसन्तुष्टि प्राप्त हुने उनी बताउँछन्। भन्छन्, ‘हुनत सबै सर्जकलाई आफ्नो गीत चलोस् भन्ने त लाग्छ तर जनवादी गीत, संगीत व्यावसायिक हुँदैनन्। यसबाट समाजमा एक प्रकारको ऊर्जा प्राप्त हुन्छ। जनयुद्ध सफल गर्न पनि यस्ता गीत, संगीतको ठूलै महत्त्व छ।’

यस्ता गीतहरू चर्चाका निम्ति नलेखिने उनी बताउँछन्। भन्छन्, ‘यस्ता गीत चार्चाका लागि लेखिँदैन। यो गीत व्यापारिक पनि हुँदैन। समाज परिवर्तन र समाजको आवश्यकताअनुसार यस्ता गीत लेखिन्छ। यो मनोरञ्जनका लागि होइन।’ अन्य गीतका कलाकार स्थापित भए भनेर जनवादी कलाकार चिन्तित हुनुपर्ने कारण नरहेको थापा बताउँछन्। भन्छन्, ‘बुर्जुवा गीतको धार र हाम्रो धार फरक हो। बुर्जुवा गीतका सर्जक चर्चित भए भनेर चिन्तित हुनुपर्दैन।’

जनयुद्धमा यसरी लेख्थे गीत

त्यसबेला जनयुद्धबाट प्रभावित भएर अधिकांश जनवादी भनिने कलाकारले गीत लेख्ने गर्थे। उनीहरूले जनयुद्धमा जनतालाई सहभागी गराउने खालका र जनमुक्ति सेनालाई हौसला दिने खालका गीत लेख्ने गर्थे। विजयको बेलामा मात्र नभई हारका बेलामा पनि निराश भएका पार्टी, जनता, नेतालाई आशा जगाउने कामसमेत कलाकारले नै गर्ने गरेको उनी बताउँछन्।

विशेष गरेर युद्धबाट नै प्रभावित भएर यी कलाकारले त्यसबेला गीत रचना गर्ने गरेको उनी बताउँछन्। भन्छन्, ‘त्यसबेला त जनयुद्धबाटै प्रभावित भएर गीत लेखिन्थ्यो। युद्धलाई सहयोग पुर्‍याउन नै गीत लेखिने गरिन्थ्यो।’

युद्ध हार्दा पनि गीत लेख्ने र जित्दा पनि लेख्ने गरेको थापाले सझिए। उनी भन्छन्, ‘हामी युद्ध हार्दा पनि गीत बनाउँथ्यौँ। जित्दा पनि गीत बनाउँथ्यौँ। जनताको पीडा देखेर पनि गीत नै लेख्न मन लाग्थ्यो।’ उनी जुनेली रातमा एक्लै बसेर गीत, संगीत रचना गर्ने गरेको बताउँछन्। भन्छन्, ‘विशेषत: गीत र साहित्य लेख्नलाई मलाई एकान्तको रात चाहिन्छ। जनयुद्धका बेला पनि त्यही गर्थें।’

जनवादी गायक अहिले मजदुरी गर्दै छन्

कम्युनिस्ट पार्टीहरू सरकारमा रहे पनि जनवादी कलाकारहरू अहिले पनि उपेक्षित भइरहेको उनी बताउँछन्। भन्छन्, ‘कम्युनिस्ट आन्दोलनका नेताहरूमा व्यक्तिवाद हावी हुँदै गएको छ। उनीहरूले कलाकारको भूमिकै बुझ्न छाडे।’ जनयुद्धमा कलाकारको धेरै ठूलो भूमिका रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘जनयुद्धमा महत्त्वपूर्ण भूमिका खेल्ने कलाकारलाई उपेक्षित गरिँदा धेरैले पार्टी पनि छाडिसकेँ।’

पछिल्लो समय जनवादी कलाकार हराउँदै गएको उनी बताउँछन्। ‘जनयुद्ध गर्ने माओवादीले पनि कलाकारको योगदान बिर्सियो’, उनी भन्छन्, ‘माओवादीमा हजारौँ कलाकार थिए तर अहिले कहाँ पुगे? माओवादी आन्दोलनलाई नै थाहा छैन।’ माओवादी आन्दोलनका ९५ प्रतिशत कलाकारहरू सामान्य मजदुरी गरिरहेको उनी बताउँछन्। ‘सृजना गर्ने कलाकारले एकेडेमिक रूपमा डिग्री हासिल गरेका हुँदैनन्। आन्दोलन गर्ने पार्टीले नै बेवास्ता गरेपछि माओवादी आन्दोलनका ९५ प्रतिशत कलाकार मजदुरी गर्दै छन्’, उनले भने, ‘उनीहरूको सामान्य जीवन छ। पार्टी सरकारमा जान्छ तर युद्धकालका कलाकारको जीवन यसरी नै बित्दै छ।’

आन्दोलनमा पार्टी कार्यकर्ताको जस्तै कलाकारको पनि भूमिका रहेको उनी बताउँछन्। भन्छन्, ‘आन्दोलनमा भूमिका खेल्ने कलाकारको सम्मानका लागि राज्यले जनवादी गीत संगीतको रक्षा गर्नुपर्छ। मुख्यमुख्य कलाकारलाई सरकारले भत्ता दिनुपर्छ। जनवादी कलाकारलाई राज्यले व्यवसाय दिनुपर्छ।’

जनवादी कलाकारकै दर्जाका अरू नेता मन्त्री भइसक्दा पनि जनवादी कलाकार भने मजदुरी गर्न बाध्य भएको उनी बताउँछन्। ‘दुखको कुरा ठूलाठूला नेताकै दर्जाका जनवादी कलाकार अहिले मजदुरी गर्दै छन्। नेता भने मन्त्री पनि भइसके।’ तर जनवादी गीत लेखेर पैसा कमाउने अवस्था नरहेको उनी बताउँछन्। भन्छन्, ‘जनवादी गीत लेखेर एक रुपैयाँ पैसा पनि कमाउन सक्ने अवस्था छैन। इतिहासचाहिँ बन्छ।’

अब यस्ता जनवादी गीत बन्छन्

अहिले पनि जनवादी गीतको उत्तिकै स्थान रहेको उनी बताउँछन्। भन्छन्, ‘त्यसबेलाजतिकै अहिले पनि जनवादी गीतको माग छ। समाजवादको बाटोतर्फ कसरी देशलाई लाने भन्ने विषयका गीत लेख्नुपर्ने अबको आवश्यकता हो।’

अहिले परिवर्तको सम्झनामा जनवादी गीतहरू बनाउन सकिने उनी बताउँछन्। भन्छन्, ‘जनयुद्धमा मात्र जनवादी गीत बन्दैन। अहिले पनि त्यस्ता गीतहरू धेरै बन्छन्। देशमा रोजगारी नपाएर विदेसिएकाको कथालाई गीतमा लेख्न सकिन्छ।’

अब समाज परिवर्तनसँगै जनवादी कलाकार पनि परिवर्तन हुनुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.