|

काठमाडौं : सानै उमेरदेखि पढाइमा रुचि नराख्ने सौगात मल्ललाई कथा सुन्न भने खुबै मन लाग्थ्यो। हजुरआमालाई कथा भन्न लगाउँथे र छेवैमा बसेर मस्त कथा सुन्थे। हजुरआमा कथा भन्दै जानुहुन्थ्यो, सौगात आफूलाई पनि त्यही कथाभित्रको पात्रसँगै तुलना गर्दै जान्थे। सौगात भन्छन्, 'हजुरआमाले भन्नुभएको कथाको पात्रमा म आफूलाई ढाल्थेँ। सोच्थेँ, यो कथाको पात्र मै हुँ।'

नवलपरासीको परासी बजारमा जन्मिएका सौगात पढाइमा कमजोर थिए। उनी पढ्ने बेला आर्ट गरेर बस्थे। कहिले कपीमा कोरेर बस्थे त कहिले डेस्कमै लेखेर बस्थे। भन्छन्, 'कक्षामा पृथ्वीनारायण शाहको जीवनी पढाइरहँदा पनि म उनको जन्म मिति वा अन्य केही याद गरेर बस्दिनथेँ बरु म पृथ्वीनारायण जस्तो बन्नतिर लाग्थेँ।'

खेलमा पनि खासै रुचि राख्दैनन् उनी। खेल खेल्थे तर उनलाई त्यसमा कुनै खुसी मिल्दैनथ्यो। 'गेम खेल्यो, जित्यो। सब कराउँछन्', उनी भन्छन्, 'जित्यो त जित्यो तर के मज्जा भयो त त्यसबाट? खै! केही मज्जा लाग्दैनथ्यो मलाई।'

सौगात राम्रो नाच्थे। ५ कक्षामा पुगेपछि स्कुलमा नाटकहरू पनि गर्न थाले। नाटक गर्दा पनि उनको प्रशंसा नै हुन्थ्यो। यो कुराबाट चाहिँ खुसी थिए उनी। भन्छन्, 'पढाइबाट त कहिल्यै प्रशंसा पाइनँ र अरू जे कुराबाट प्रशंसा पाए पनि खुसी लाग्दैनथ्यो तर अभिनय गर्दा पाएको प्रशंसाबाट निकै खुसी हुन्थेँ म।'

सानैदेखि अभिनयमा रुचि थियो उनको। अभिनय गर्न पाए सबै कुरा बिर्सन्थे। फिल्म नहेरी अरूले कथा भनेको भरमा बलिउड हिरोहरूको फ्यान बनेका थिए सौगात। 'म त त्यति फिल्म हेर्न पाउँदिनथेँ तर मेरो घरमा एक जना काम गर्ने दाइ हुनुहुन्थ्यो। उहाँले रातभर गाँउतिर गएर फिल्म हर्नुहुन्थो', उनी सम्झिन्छन्, 'अनि बिहान आएर मलाई कथा भन्नुहुन्थ्यो, हिरोकै लवजमा। म त्यहीँबाट हिरोहरूको फ्यान भइसकेको थिएँ।'

बिस्तारै उनी पनि फिल्म हेर्न थाले। फिल्म हेर्न थालेपछि अभिनयको भुत झन बढ्दै गयो। खासगरी उनी बलिउड फिल्महरू हेर्थे। उनी जुन फिल्म हेरे पनि त्यस फिल्मका कलाकारको क्यरिकेचर गर्थे। भन्छन्, 'म जसको पनि सजिलै क्यारिकेचर गर्न सक्थेँ। उनीहरूकै लवजमा बोल्न सक्थेँ। त्यहीँबाट प्रस्ट थियो कि मैले जिन्दगीमा गर्ने भनेको नै अभिनय हो।'

घरकाले पढाइ खोज्थे। सौगात भन्छन्, 'मलाई पढ्न मन कहिल्यै थिएन। जति पढेँ, घरका सदस्यलाई खुसी पार्न पढेँ।' परासीबाटै कक्षा १० सम्मको पढाइ पूरा गरे उनले। उनलाई फिल्म खेल्न मात्र काठमाडौं आउनु थियो तर परिवारबाट त्यो कुरा स्वीकार्य थिएन। घरबाट कुरा आयो 'काठमाडौं गएर पढ्छस् भने मात्र जा, नत्र जानुपरेको छैन।'

आफ्नो स्वार्थ पूरा गर्न भए पनि घरमा हुन्छ भने उनले। पढ्ने बहानामा अभिनय गर्नका लागि काठमाडौं हानिए। भन्छन्, 'भित्री मनमा अभिनय गर्ने सोच लिएर पढ्न भनी काठमाडौं आएँ तर मेरो मुख्य उद्देश्य भनेको अभिनय गर्नु नै थियो।'

लुट हिट भएसँगै सौगात पनि हिट भए। फिल्मका स्क्रिप्ट कत्ति आए कत्ति। बिस्तारै राम्रो फिल्म छानेर मात्र गर्ने सोच उनमा भएकाले पनि उनले फिल्म खेल्न हतार गरेनन्।

काठमाडौं आएर अभिनय गर्न पाउने क्याम्पस खोज्न थाले सौगात। उनले कताबाट सुने 'आरआर क्याम्पसमा पढ्यो भने अभिनय गर्न पाइन्छ।' उनी त्यतै गएर भर्ना भए। तर त्यहाँ गरिने अभिनय प्राय: राजनीतिक पार्टीहरूको हुन्थो। त्यो कुरा सौगातलाई मनपर्दैनथ्यो। भन्छन्, 'अभिनय गर्न पाइन्छ भनेर आरआर भर्ना भएँ तर त्यहाँ त खाली राजनीतिक नाटकहरू देखाइने रहेछ, जसमा मलाई कुनै रुचि थिएन। त्यसैले त्यहाँ अभिनय गरिनँ।'

यसै बीच फिल्म निर्देशक तथा कलाकार आकाश अधिकारीसँग भेट भयो उनको। सैगातले आकाशसँग ६ महिना बढी अभिनय पनि सिके। आकाशले फिल्म 'रणभूमि' निर्माण गरे, जुन फिल्ममा सौगातले पहिलो पटक क्यामेरा फेस गरे। भन्छन्, 'रणभूमि फिल्ममा मैले झुलुक्क अनुहार देखाएको छु। त्यो नै मेरो पहिलो क्यामेरा फेस गरेको अनुभव थियो।'

विस्तारै उनी सानोसानो रोलमा फिल्ममा देखिन थाले। आफूले चाहेको भूमिका उनले पाउँदैनथे। हिरोको कुटाइ खाने, पछिपछि कुद्ने, यस्तैयस्तै भूमिका हुन्थ्यो उनको। यसबाट उनलाई कुनै सन्तुष्टि मिलेन। भन्छन्, 'आफूले गर्न चाहेको नभएपछि फिल्ममा काम गर्ने कुराबाट पनि पछाडि सरे उनी।'

फिल्म अभिनयबाट सन्तुष्टि नपाएका उनी नाटकतिर मोडिए। त्यसबेला भर्खरै गुरुकुल खोल्ने कुरा थियो। सुनिल पोखरेल र उनको टिम मिलेर गुरुकुल खोल्ने अनि सबै सँगै बस्ने सल्लाह थियो। सौगात पनि त्यहीँ समायोजित भए।

लगभग १७ वर्ष थिएटर अभिनयमै व्यस्त भए उनी। थिएटर अभिनयबाट सन्तुष्ट पनि थिए। बेलाबेला फिल्मको अफर आउँथ्यो तर फिल्मबाट वाक्क थिए उनी। आफूले सोचेजस्तो भूमिका नपाएकाले पनि फिल्ममा काम गर्न मन थिएन उनलाई। 'फिल्मका अफरहरू आउँथे', उनी भन्छन्, 'आफूलाई फिट हुने र गर्न मन लागेको भूमिका नपाएकाले सबै फिल्महरू इग्नोर गर्दै आएँ।'

एक दिन उनीसँग फिल्म 'कागबेनी'को स्क्रिप्ट आइपुग्यो। पढे पनि। 'हो, बल्ल मैले गर्न चाहेको जस्तो भूमिका पाएँ', उनी सम्झिन्छन्, 'यस्तै महसुस भयो र कागबेनीमा काम गर्न राजी भएँ।' सौगातले पहिला पनि फिल्ममा काम गरेको भए पनि कागबेनीलाई आफ्नो पहिलो फिल्म मान्छन्।

'कागबेनी'पश्चात सौगातले पुन: आफूलाई चित्त बुझ्ने स्क्रिप्ट पाउन गाह्रै भयो। लगभग ४ वर्षपछि बल्ल 'लुट' फिल्मको स्क्रिप्ट उनीसँग आयो। अहिलेको फिल्म क्षेत्रले खोजेको जस्तो फिल्म बन्न सक्छ लुट भन्ने सोचले उनी लुटमा काम गर्न राजी भए।

लुटका लागि क्यारेक्टर आफैँ सृजना गरे। निर्देशक निश्चल बस्नेतले दिएको नाम पनि परिवर्तन गरे। हल्का नेवारी ढाँचाको कडा व्यक्तिका रूपमा प्रस्तुत भए उनी। उनले लुटमा निर्वाह गरेको 'हाकु काले' सबैको मनमस्तिष्कमा कैद भयो। उनले बोलेको संवाद 'बल हैन पासा दिमाग लगा दिमाग' जुन एकदमै हिट भयो। यो फिल्म पनि सुटरहिटको दर्जामा पर्न सफल भयो।

लुटमा गरेको कामबाट सौगात सन्तुष्ट भने थिएनन्। भन्छन्, 'खासै केही गरेजस्तो त लाग्दैनथ्यो तर त्यही कुरालाई दर्शकले मनपराइदिनुभयो। म त दंग पर्‍या थिएँ।'

लुट हिट भएसँगै सौगात पनि हिट भए। फिल्मका स्क्रिप्ट कत्ति आए कत्ति। बिस्तारै राम्रो फिल्म छानेर मात्र गर्ने सोच उनमा भएकाले पनि उनले फिल्म खेल्न हतार गरेनन्।  'स्क्रिप्ट आएका सबै फिल्म गरेको भए एक सय बढी फिल्म गरिसकेको हुन्थेँ', भन्छन्. 'म आफूलाई चित्त बुझ्ने क्यारेक्टर पाए मात्र फिल्म गर्छु।'

सौगात जति फिल्ममा अभिनय गर्छन्, एकदमै फरक अवतारसहित प्रुस्तुत हुन्छन्। उक्त कुरा उनले अभिनय गरेको फिल्म 'लुट', 'षणङ्ग', 'लुकामारी', 'झ्यानाकुटी', 'लालपूर्जा' जस्ता फिल्महरूमा पनि उनले यो कुरा पुष्टि गरेका छन्। सौगात आफू यसैमा रमाउने बताउँछन्। भन्छन्, 'हरेक पटक एकै रूपमा प्रस्तुत हुँदा दर्शकलाई मोनोटोनस हुन्छ। त्यसैले पनि हरेक फिल्ममा फरक गर्ने कोसिस गर्छु।' आफूलाई क्यारेक्टरमा ढाल्न राम्रै मिहिनेत गर्ने सौगात बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.