|

काठमाडौं : हाम्रो समाजमा रुढिवादी प्रथा अझै कायमै छ। कोही मान्छे बिरामी भयो भने त्यसलाई अस्पताल लानुको सट्टा उपचारका लागि धामी झाँक्रीकाहाँ लाने प्रचलन समाजमा छँदै छ।

आधुनिक युगमा पनि परम्परागत र रुढिवादी प्रचलन हट्न सकेको छैन। यस्ता परम्पराका कारण समाजमा नकारात्मक असर परिरहेकै छ। हल्लै हल्लामा समाज चलेको हुन्छ। समान्य केही भए पनि समाजमा सल्लाह दिनेको कमी हुँदैन। सामन्य बिरामी हुँदा पनि सल्लाह दिने धेरै हुन्छन्। नेपाली समाजमा नि:शुल्क सल्लाह दिनेको कमी पनि छैन। कसैले झाँक्रीकहाँ लैजा भन्छ त कसैले डाक्टर कहाँ। हाम्रो समाज यसरी नै चलेको हुन्छ। रुढिवादी प्रथाले अहिले पनि हाम्रो समाजमा कसरी प्रभाव पारेको छ, यस विषयमा विजय विस्फोटले नाटक तयार पारेका छन्।

उनले लेखन तथा निर्देशन गरेको नाटक ‘भागवत टोलमा भोलाराम’ले समाजमा विद्यमान रुढिवादी प्रथालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छ। यो नाटक मण्डला थिएटरमा माघ १० गतेदेखि २१ गतेसम्म प्रदर्शन भएको थियो। 

गाउँलेको सल्लाहले अस्पतालदेखि चितासम्म भोलाराम

नाटकका मुख्य पात्र हुन् प्रगतिशील कवि भोलाराम अल्पविराम (रोशन सुवेदी)। नाटकमा भागवत टोल नेपाली समाजको एक केन्द्रीय परिवेश हो। समाजमा रहेको रुढिवादी प्रथा र छिमेकीको निःशुल्क सल्लाहले चितासम्म पुर्‍याउँछ कवि भोलारामलाई। साहित्यकार यसै जिज्ञासु स्वभावका हुन्छन्। सृजना गर्नका लागि उनीहरू जतिबेलै तयार हुन्छन्। तर कविको यही स्वभावले उनलाई चितामा पुर्‍याउँछ। उनको मृत्युको एक मात्र कारण हुन्छ, सामान्य दाँत दुखाइ। 

समाजको सचेत व्यक्तिको रूपमा चिनिएको सहित्यकार नै रुढिवादी परम्पराको सिकार बन्छ। एक दिन बिहान दाँत माझ्दै गर्दा भोलाराम अल्पविरामको दाँतमा घाउ हुन्छ। त्यो घाउले उनको दाँत दुखिरहेको हुन्छ। उनी सुनसान बिहानीमा उनी साहित्य सृजना गर्दै हुन्छन्। त्यही क्रममा उनकी श्रीमती (ज्योति राई) आँखा मिच्दै आउँछिन्। उनले श्रीमान एक्लै बोलिरहेको थाहा पाउँछिन्। उनले आफूले कविता तयार परेको भन्दा पनि श्रीमतीले पत्याउँदिनन्। श्रीमान मानसिक समस्यामा परेको अनुमान उनले गर्छिन्। तर सुरुमा उनले श्रीमानलाई दाँत दुखेको औषधि मरिच-पानी दिन्छिन्।

मरिच-पानीबाट सुरु भएको उनको उपचार विभिन्न अस्पताल, झाँक्री कहाँ गएर पनि निको हुँदैन। अझ उनको रोग क्रमश: बल्झँदै जान्छ। अन्तिममा उनको अल्पायुमै निधन हुन्छ। उनको मृत्यु मानसिक तानावबाट नै भएको नाटकमा देखाउन खोजिएको छ। उनले पटक–पटक आफूलाई केही नभएको बताउँछन् तर उनको कुरा कसैले सुन्दैन। सल्लाह शिरोमणिका माझ उनी निरीह हुन्छन्। गाउँघरमा धेरै सल्लाह र सुझाव दिइन्छ। कसैले के गर्दा निको हुन्छ भन्छ त कसले के गर्दा। उनकी श्रीमतीले पनि कविलाई गाउँलेको सल्लाह सुझावै आधारमा उपचारका लागि चारतिर लान्छिन्। 

कवि भोलारामको निधन भइसकेपछि पनि सल्लाह दिने क्रम रोकिँदैन। कसैले अन्तिम संस्कारका लागि पशुपति लानुपर्छ भन्छ त कसैले मण्डलीमा लगेर अन्तिम संस्कार गर्नुपर्छ भन्छन्। अन्तिममा त कवि भोलाराम प्रगतिशील लेखक भन्दै उनको शवमा पार्टीको झण्डा नै ओडाइन्छ। नाटक वियोगान्त छ तर नाटकको पूरा समय दर्शकले हाँसेरै बिताउँछन्। नेपाली समाजको परिस्थितिलाई नाटकमा मज्जाले देख्न सकिन्छ।

नाटकले पछिल्लो समय साहित्य क्षेत्रमा आएको विकृतिलाई पनि व्यंग्य गर्न खोजेको छ। साहित्य क्षेत्रमा प्रत्येक दिनजसो नयाँ साहित्यकार प्रवेश गर्ने र प्रवेश गर्नासाथ केही नबुझी कृति प्रकाशन गरिहाल्ने प्रवृत्तिलाई पनि व्यंग्य गर्न खोजेको छ। नाटकमा कवि बन्न हतारिएका एक पात्रले लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’लाई बिगारेर ‘कुन जंगलमा जान्छौ यात्री’ भनेर बाचन गरेका छन्। कथा र कलाकारको कहीँकहीँ तालमेल नमिलेजस्तो देखिए पनि नाटकलाई न्याय गर्ने गरिकै अभिनय गरेका थिए। नाटकको एउटै स्टेजबाट धेरै प्रकारका दृश्य देखाइनु र धेरै कलाकारलाई समेट्नु पनि सानो कुरा भने होइन। नाटक टिमले र नाटकका निर्देशकले ठूलै मिहिनेत गरेको देखिन्छ। 

नाटक राम्रो हुँदाहुँदै पनि सबै नकारात्मक पाटालाई मात्रै केलाइएको छ। पछिल्लो समय आविष्कार भएका विज्ञानका चमत्कारलाई पनि अविश्वास गरिएको जस्तो नाटक हेर्दा अनुभव गर्न सकिन्छ। चिकित्सा विज्ञानलाई पनि अविश्वास गरेको जस्तो नाटकमा देखिन्छ। धामी झाँक्री सँगसँगै डाक्टरहरूले समेत कवि भोलारामलाई केही नभएको भन्नै सक्दैनन्। उनीहरूले भोलरामलाई प्रयोगशाला बनाएर प्रयोगका लागि औषधि मात्र दिइरहन्छन्। डाक्टरले भोलारामको सबै ल्याव परीक्षण गर्छन् तर रोग केही पत्ता लाग्दैन। नाटकमा डाक्टरहरूले पनि पत्ता लगाउन नसकेको देखाएको छ। त्यसले चिकित्सा विज्ञानलाई पनि परम्परावादी धामी झाँक्रीमै तुलना गरेजस्तो देखिन्छ।

नाटकमा पुष्कर कार्की, रोशन सुवेदी, ज्योति राई, रोहानी लामा, मोनिका खतिवडा, दिलीप खड्का, किरण राई, रोशनी कार्की, विक्रम श्रेष्ठ, सागर दाहाल, सुवास नेपाल, अनिल कार्की, नोरचेन लामा, दिपेश काफ्ले र किरण चापागाईंले अभिनय गरेका छन्। 

नाटकमा कलाकारका असीमित पीडा

नाटकको मञ्चनको अन्तिम दिन अर्थात् आइतबार नाटक हेर्न पुराना नाट्यकर्मी अशेष मल्ल पनि सहभागी थिए। उनले नाटकको पूरा समय कहीँ भावुक बन्दै त कहीँ खुलेर हाँस्दै हेरे। नाटक सकिएपछि उनले नाटकको खुलेरै प्रशंसा गरे। भने, ‘हामीले नाटक एक घण्टामा  हेरिसक्यौँ। हेर्दा केही छैन जस्तो लाग्यो तर यो नाटक तयार पार्न लेखक तथा निर्देशकलाई वर्षौं लागेको छ।’

उनले रंगकर्मीले नाटक प्रदर्शन गरेर सन्तुष्टि मात्र पाउने बताए। उनले भने, ‘यस नाटकका लेखक विजय विस्फोटले यत्रो मिहिनेत गरेका छन्। उनले यो मिहिनेतले केही पाउँदैनन्। नाटक सकेर घर जान्छन् र त्यही चिसो भात खान्छन्।’ नाट्य क्षेत्रका कलाकारमा असीमित पीडा लुकेको उनी बताउँछन्। भन्छन्, ‘अहिले हेर्दा हाँसेर नाटक प्रदर्शन गर्ने कलाकारको पीडा भनिसाध्य हुँदैन। अब नाटक सकेर कसरी डेरासम्म पुग्ने? डेरामा गएर के खानेदेखि डेराको भाडा कसरी तिर्नेसम्मको पीडा रंगकर्मीमा हुन्छ।’

रंगमञ्चलाई सरकारले सहयोग नगर्दा रंगकर्मीलाई धेरै समस्या भएको उनले बताए। भने, ‘नाट्य क्षेत्रमा सरकारको केही योगदान छैन। अहिलेसम्म नाटक क्षेत्रमा जति विकास भएको छ त नाट्यकर्मीकै कारण भएको छ। यदि रंगमञ्चमा सरकारले चासो दिने हो भने रंगकर्मीले नाटक छाडेर पलायन हुनुपर्ने अवस्था आउँदैनथ्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.