|

डोटी : ७ नम्बर प्रदेश राजधानीको माग गर्दै डोटीमा ४१ दिनदेखि आन्दोलन जारी रहेको छ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी कैलाली तोकेपछि डोटी आन्दोलित बनेको थियो। राजधानीका लागि सुरु भएको आन्दोलनमा सरकारी कार्यालयमा तोडफोड हुनुका साथै दर्जनौँ आन्दोलनकारी घाइते भएका थिए।

राष्ट्रियसभाको निर्वाचन डोटीमा सम्पन्न हुने भएपछि  जनप्रदर्शन तथा आम हडतालका कार्यक्रम फिर्ता लिएर धर्नाको कार्यक्रम जारी रहेको छ। अहिले आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय राजपुर र जिल्ला प्रशासन कार्यालय सिलगढीमा धर्ना दिइरहेका छन्। 

संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले भने, ‘डोटीमा राजधानी नहुँदा पनि राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने अवसर पाउनु हाम्रा लागि सुखद कुरा हो। निर्वाचनलाई मध्यनजर गर्दै आम हडताल फिर्ता लिएका छौँ। त्यसैले डोटीमा आउने माननीय तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई स्वागत गर्नेछौँ।’

डोटीमा राजधानी बन्नुपर्ने विषयमा आफ्नो धारणा स्पष्ट रहेको  प्रदेशसभाका सांसद त्रिलोचन भट्टले बताए। भट्टले भने, ‘हामी हिजो, आज र भोलि, सधैँ दिपायलका पक्षमा हुन्छौँ। राजधानी दिपायल हुनुपर्नेमा हामी स्पष्ट छौँ।’

भूगोलका सबै जनतालाई न्याय हुने गरी राजधानी केन्द्रीय भूभागमा तोक्नुपर्ने नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्लले बताए। मल्लले भने, ‘राजधानी नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ, आन्दोलनको स्वरूप परिर्वतन हुन्छ तर माग कायमै रहन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.