|

जनकपुरधाम : पाँच दशकदेखि सञ्चालित जनकपुर विमानस्थलमा यात्रुलाई अत्यावश्यक पर्ने सेवाबाहेक अन्य सेवा छैन। विमानस्थल दूरावस्थामा पुगे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले सुधारको कुनै पहल नगरेको स्थानीयको गुनासो छ।

देशकै पुरानो विमानस्थलमध्ये जनकपुर विमानस्थल पनि पर्दछ। तर, यहाँ शौचालय, खानेपानी, प्रतीक्षालय र विद्युत् सेवाको राम्रो व्यवस्था छैन। विमानस्थलमा देखिएका समस्या समाधान र यात्रुको सुविधाका लागि नागरिक उड्डयन प्राधिकरणले सुधारको कुनै पहल नगरेको स्थानीय संजिव झाको गुनासो छ। ‘बसपार्क र विमानस्थलमा खासै फरक पाइन। विमानस्थलको ट्वाइलेट सफा छैन। प्रतीक्षालय छैन। चौरमा बसेर प्लेन पर्खिनु पर्छ,’ उनले भने, ‘एक यात्रुबाट २१ सयदेखि ४१ सय रुपैयाँसम्म भाडा लिन्छ तर त्यसअनुसारका सुविधा दिँदैनन्।’

विमानस्थलमा सर्वसाधरणले सास्ती खेप्नु परे पनि भीआईपी कक्ष व्यवस्थित भएको जनकपुरमा रहँदै आएका अधिवक्ता दीपक केसी बताउँछन्। यो विमानस्थलबारे कुनै राजनीतिक दल र नेताले पनि चासो नदिएको अधिवक्ता केसीको भनाइ छ। उनले भने, ‘अरु त छाडौं, जनकपुर एयरपोर्ट कुनै पनि राजनीतिक दलको चुनावी एजेण्डामा समेत पर्न सकेन।’

विमानस्थल व्यवस्थित नभएकाले प्राविधिक कारणले हवाईजहाज ढिलो आएका बेला यात्रुलाई समस्या हुने गरेको यति एयरलाइन्स जनकपुरका जिएसएस श्याम मुरारका बताउँछन्। उनले भने, ‘विमानस्थलमा यात्रुलाई बस्ने ठाउँ, पानी, शौचालयलगायतको सुविधा छैन।’

जनकपुर विमानस्थलका प्रमुख मुरारीप्रसाद पौडेलले निर्माणसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयले हेर्न भएकाले तल्लो निकायबाट केही गर्न सक्ने बताउँछन्। 

नागरिक उड्डयन प्राधिकरणले ०७१ भित्र टर्मिनल भवन निर्माण गर्न ६ वर्षअघि पप्पु कन्ट्रक्सनलाई ठेक्का दिएको थियो। १८ करोड रुपैयाँमा निर्माण गर्ने सम्झौता भए पनि निर्माण कार्य अझै पूरा भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.