|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अघि बढिरहेका बेला माओवादी निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले सिद्धान्त त्यागेर एकता नगर्न पार्टीलाई दबाब दिएको छ।

माओवाद र पहिचानका मुद्दालाई छाडेर एकता नगर्न मोर्चाले माओवादी केन्द्रलाई दबाब दिएको हो। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले पर्टी एकता गर्दा सबै पक्षले गरेको संघर्षलाई भुल्न नहुने बताएको हो। मोर्चाका अध्यक्ष राजन किरातीले पछिल्लो समय दुई पार्टीबीच एकताका क्रममा सिद्धान्त त्याग्ने बहस चलिरहेको भन्दै सिद्धान्त त्यागेर एकता गरे आफूहरू सोच्न बाध्य हुने चेतावनी दिए। उनले भने, ‘सिद्धान्त त्यागेर पार्टी एकता हुने सिद्धान्त चलिरहेको छ। यो हामीलाई मान्य हुँदैन। पदका लागि मात्र एकता गरेर हुँदैन।’

जातीय, वर्गीय, क्षेत्रीय र लैंगिक विभेद अन्त्य गर्न गरेको संघर्षलाई संस्थागत गरेर अघि बढ्ने समयमा मुद्दा नै त्याग्न नहुने उनले बताए। उनले भने, ‘हामीले पहिचानका लागि धेरै संघर्ष गरेका छौँ। हाम्रै पार्टीका कारण देशमा यति परिवर्तन भएको छ। अब यसलाई संस्थागत गर्ने बेलामा त्यागेर पार्टी एकता गर्न सकिँदैन।’

उनले माओवाद र पहिचान स्थापित गर्न मोर्चाले जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए। ‘हामी माओवादको मार्गनिर्देशनबाट अहिलेसम्म संघर्ष गर्दै आयौँ। यो सिद्धान्त अब त्याग्न सक्दैनौँ’, उनले भने, ‘एमालेको जनताको बहुदलीय जनवाद भनेको सिद्धान्त होइन। यो एउटा कार्यक्रम हो।’

पार्टी एकता भइहाले वर्गीय क्षेत्रीय, जातीय र लैंगिक समस्या समाधानका लागि वैज्ञानिक विचारको रूपमा स्थापित मुद्दालाई छाडेमा आफूहरू एकता प्रक्रियाबाट अलग हुन सक्ने संकेत पनि उनले गरे।

मोर्चाका महासचिव अर्जुन किरातीले चुनावी गठबन्धनले मात्र एकता हुन नसक्ने बताए। उनले भने, ‘स्थानीय तहमा कांग्रेससँग पनि तालमेल त गरेका थियौँ। पार्टी एकता गर्नलाई त सिद्धान्त पनि त मिल्नुपर्‍यो नि!’ उनले पार्टी एकता अहिलेको आवश्यकता भएको भए पनि पहिचानलाई नामेट गरेर एकता गर्न नहुने तर्क गरे। उनले सिद्धान्त त्यागेर पार्टी एकता गरे आफूहरूलाई मान्य नहुने बताए। उनले भने, ‘मोर्चा पहिला पनि गोपाल किरातीको नेतृत्वमा माओवादीमा आएको हो। यदि सिद्धान्त भुलेर एकता गर्ने हो भने हामी अलग हुन पनि सक्छौँ।’

सिद्धान्त त्यागेर एकता भएमा एकतालगत्तै मोर्चाले निर्णय लिने बताए। ‘हामी एकताविरोधी त होइनौँ, तर यदि सिद्धान्तलाई भुलेर एकता गरियो भने तत्काल मिटिङ बसेर हामी निर्णय गछौँ’, उनले भने, ‘बाहिरचाहिँ मोर्चा गोपाल किरातीको लाइनमा जाने भन्ने हल्ला छ। हामी उहाँको लाइनमा होइन, सिद्धान्तको लाइनमा हिड्छौँ।’

'प्रदेश १ लाई किरात प्रदेश बनाउनुपर्छ'

मोर्चाले प्रदेशको नामकरण गर्दा प्रदेश १ लाई पहिचानका आधारमा किरात प्रदेश बनाउनुपर्ने माग गरेको छ। मोर्चाका अध्यक्ष राजन किरातीले किरात पहिचान भनेको कुनै जातिको मात्र पहिचान नभई समग्र प्रदेश १ वासीकै पहिचान भएको बताए। ‘किरात भनेको जातीयता होइन, सभ्यता हो। त्यसैले यो प्रदेशको नाम किरात हुनुपर्छ’, उनले भने। यसका लागि प्रदेश १ का सांसद, पार्टीका नेता, सामाजिक संघसंस्थासँग छलफल र अन्तर्क्रिया गर्ने बताए।

उनले प्रदेश १ को स्थायी राजधानी उदयपुरको बेलका र सुनसरीको बाराहक्षेत्रमा हुनुपर्ने माग गरे। उनले भने, ‘विराटनगर सुरक्षाका हिसाबले ठीक छैन। यहाँ कसैले केही अपराध गर्‍यो भने सहजै भारततर्फ भाग्न सक्छ। बेलका र बाराहक्षेत्रमा भयो भने सुरक्षित हुन्छ।’ यसका लागि आफूहरूले सबै पक्षसँग छलफल गर्ने उनले बताए।

पदका लागि गोपाल किरातीलाई कारवाहीको सिफारिस

माओवादीका प्रदेश १ का १८ जना पोलिटब्युरो सदस्यले पार्टीका नेता गोपाल किरातीलाई कारवाही गर्नुपर्ने माग गरिरहेका बेला मोर्चाले यो गलत भएको बताएको छ। मोर्चाका संस्थापक नेता किरातीलाई पदका लोभमा कारवाही गर्न लागेको मोर्चाको भनाइ छ। मोर्चाका महासचिव अर्जुन किरातीले प्रदेश सरकारमा आफैँ पद बाँडफाँट गर्नका लागि किरातीलाई कारवाहीको सिफारिस गरेको आरोप लगाए।

‘प्रदेश १ इञ्चार्ज उहाँ हुनुहुन्छ। प्रदेशमा उहाँको निर्णय चल्छ’, उनले भने, ‘प्रदेश सरकार निर्माणका क्रममा र प्रदेशको संसदमा आफूले पद पाउँदिनँ भनेर केही साथीहरूले कारवाहीको सिफारिस गर्नुभयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.