|

गोरखा : ३८८ वर्षपछि गोरखा दरबारको पुनर्निर्माण सुरु भएको छ। भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणका लागि यसको जग नै भत्काउन थालिएको हो। वि. सं. १९९० को भूकम्पले समेत क्षति नपुगेको यस दरबारमा २०७२ बैशाखको भूकम्पले जगैसम्म भत्काएको थियो।

गोरखा दरबार निर्माण भएको ३८८ वर्षपछि पुनर्निर्माणका लागि भत्काइएको हो। वि. सं. १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको उक्त दरबार २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण गर्न जगैसम्म भत्काइएको गोरखा दरबार हेरचाह अड्डा प्रमुख हरिप्रसाद भुसालले बताए। 

‘अहिले पुराना सामग्रीहरू हटाउने काम भइरहेको छ। पुरातत्त्व विभागको नियमित निगरानीमा मूल दरबार भत्काइयो’, भुसालले भने, ‘अब पुनर्निर्माणका लागि साइत हेरेर जग हाल्ने तयारी छ।’ 

ऐतिहासिक गोरखा दरबार पुनर्निर्माणको जिम्मा पचली सिभा जेभी कम्पनीले ४ करोड ३७ लाख रुपैयाँमा पाएको छ। भूकम्पको कारणले मूल दरबार, गोरखनाथ गुफा, लक्ष्मी मन्दिर, रोटी पकाउने ठाउँ सबै ध्वस्त भएको थियो। भूकम्पपछि उक्त दरबारको जगबाट पानी छिरेर अन्यत्र र नजिकै रहेको गोरखनाथ गुफामा निस्कने गरेको थियो। 

पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माणका लागि सुरक्षित स्थलमा राखिएको प्रमुख भुसालले बताए। जगैसम्म भत्काउने क्रममा वि. सं. १८६३ अभिलेख भएका बुट्टेदार इँटाहरूसमेत भेटिएका छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि शाह वंशका १० जना राजाले उक्त दरबारबाट शासन चलाएको इतिहास छ। 

केही प्राविधिकहरूले दरबारको जग भूकम्पको कारणले कमजोर रहेको समेत बताएको भुसालले जानकारी दिए। ‘प्राविधिकका अनुसार दरबारको नयाँ जग हाल्ने क्षेत्र भूकम्पको कारणले कमजोर भएको अनुमान छ’, उनले भने, ‘थप विज्ञ टोली झिकाएर सुझाव लिएपछि मात्रै काम अघि बढाउँछौँ।’ साढे दुई वर्षभित्र गोरखा दरबार पुरानै शैलीमा पुनर्निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको हो। 

दरबार भत्काए पनि यहाँ हुने नियमित पूजा भने नरोक्ने दरबार हेरचाह अड्डाले जनाएको छ। ‘यहाँ हुने कालीलगायत देवी देवताको पूजा भने रोकिनेछ’ दरबार हेरचाह अड्डाका सुब्बा रामेश्वर कट्टेलले भने, ‘निर्माणको कामले सामान्य पूजामा असर त पर्ने नै भयो तर पूजा नै रोकिने भन्ने हुँदैन।’ 

नयाँ दरबार बनाउँदा प्रयोग गर्न मिल्ने झिँगटी, काठ, इँटालगायतका सामग्रीहरू सुरक्षित ठाउँमा राखिएको उनले जानकारी दिए। गोरखा दरबार भत्काउन मात्र २ महिना समय लागेको हो।  भूकम्पले ध्वस्त पारेको दरबार परिसरभित्रका राम शाह चौतारो, पाहुना घर, सिँढी बाटो, छानाहरू, गोरखनाथ मन्दिर, रोटपाटी र दमै पाटी मर्मत गरिसकिएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.