‘बहुमतको आडमा मनपरी गरियो’

|

लहान : जनसंख्या र भूगोलको आधारमा जिल्लामै सबैभन्दा ठूलो सिरहाको दक्षिणी भेगमा पर्ने लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ कायम गर्ने निर्णय गरेको छ। 

गाउँसभाको निर्णय सार्वजनिक गर्न गाउँपालिका कार्यालय परिसरमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्ष रामवल्लभ साहले परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत् नाम संशोधन गरिएको जिकिर गरे। ‘गाउँसभामा कायम रहेका सदस्यहरूको बहुमतको निर्णयको आधारमा नाम संशोधन गरिएको छ, संशोधित नाम नै कार्यान्वयन हुन्छ’, अध्यक्ष साहले भने। 

गाउँपालिकाको नाम संशोधनको विषयमा संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन जितेका अध्यक्ष साहकै पार्टीबाट गाउँ कार्यपालिकामा निर्वाचित सदस्यको समेत असहमति रहेको छ। फोरमबाट गाउँ कार्यपालिका सदस्य रहेका सत्यनारायण साहले सिरहा र सप्तरी जिल्ला छुट्टिएपछि नै कायम गरिएको नाम संशोधन गरिनुहुँदैन भन्ने आवाजको उपेक्षा गरिएपछि आफूले असहमति जनाएको बताए। 

लक्ष्मीपुर पतारी गाउँपालिका– ६ का वडा सदस्य छेदीप्रसाद गुप्ताले भने, ‘विपक्षी भएर होइन, पुर्खाहरूले राखेको नाम तत्काल संशोधन गरिनुहुँदैन भन्ने हो, तर गाउँकार्यपालिका अध्यक्षले बहुमतको दम्भ देखाए।’ अध्यक्ष साह भने स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गरी नाम संशोधन गरिएको दाबी गर्छन्। 

उक्त गाउँपालिकामा कायम रहेका ६ वडामा फोरमले अध्यक्ष, उपाध्यक्ष, ३ वडाध्यक्ष र १२ सदस्यसहित १७, कांग्रेस दुई वडाध्यक्ष र आठ वडा सदस्यसहित १० तथा एमालेले १ वडाध्यक्ष, ४ वडा सदस्यसहित ५ सिट जितेका छन्। गाउँ कार्यपालिकामा बहुमत रहेको फोरमको भागमा परेको २ मनोनीतमध्ये १ जनाले असोजमै राजीनामा दिएकाले गाउँसभामा ३३ जना कायम रहेका छन्। 

के छ ऐनमा व्यवस्था?
स्थानीय सरकार संचालन ऐन, २०७४, परिच्छेद २ को ३ मा गाउँपालिका र नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत् नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ। उक्त परिच्छेदको दफा ५ मा गाउँपालिका तथा नरगपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकका लागि गाउँपालिका तथा नरगपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिसबमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्ने उल्लेख छ। 

करिब साढे २६ करोड बजेट पारित
गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि २६ करोड ४३ लाख ६८ हजार ४८४ रुपैयाँ ७५ पैसा बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ। पारित गरिएको बजेटअनुसार आयतर्फ नेपाल सरकारबाट सशर्त अनुदान ६ करोड ३६ लाख ९७ हजार, वित्तीय सामान्यीकरण अनुदान १५ करोड १० लाख २ हजार, सामाजिक सुरक्षा भत्ता तथा बाल पोषणवापत ३ करोड ३१ लाख ८७ हजार, पछिल्लो वर्षको ८९ लाख ४३ हजार ४८४ रुपैयाँ ७५ पैसा, एलजिसिडिपीका लागि १० लाख ६० हजार, गरिबसँग विश्वेश्वरका लागि ४ लाख २९ हजार, आन्तरिक आय ३९ लाख र जनश्रमदान २१ लाख ५० हजार रुपैयाँ रहेको छ। 

व्ययतर्फ चालु खर्च ९ करोड ९४ लाख ६२ हजार, पूँजीगत खर्च १३ करोड १७ लाख १९ हजार ४८४ रुपैयाँ ७५ पैसा र सामाजिक सुरक्षा तथा बाल पोषणतर्फ ३ करोड ३१ लाख ८७ हजार रुपैयाँ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.