|

उदयपुर : उदयपुर, खोटाङ र भोजपुर जिल्लाको सीमा भएर बग्ने सप्तकोसी नदी हिउँद लागेपछि बाँस व्यापारीको ढुवानी मार्ग बनेको छ। तराईका बजारहरूमा उचित मूल्यमा बिक्री हुन थालेपछि बाँस ढुवानी गर्ने मार्ग सप्तकोसी बनेको हो।

यहाँका गाउँका बाँसलाई बजार लैजाने एउटै बाटो हो, सप्तकोसी। ‘गाउँमा सडक आइपुगेको छैन, आइपुगेका सडकमा साना सवारी साधान मात्र संचालन भइरहेका छन’, उदयपुरको बेलका नगरपालिका– ६ का रत्नशेर राईले भने, ‘बाँसका घनालाई काठमा कसेर फल्याक जस्तै बनाएर सप्तकोसीमा तैराउँदै लैजानुपर्छ।’

रोजगारीको समस्या र परम्परागत खेतीप्रतिको विकर्षणका कारण कोसीमा बाँस बगाएर व्यापारी बनी रोजगारी गर्नेहरू अहिले धेरै भेटिन थालेका छन्। सप्तकोसीमा बगाउँदै लगेको बाँस कोसी व्यारेज, चताराघाट लगेर बिक्री गर्ने राईको भनाइ छ।

कमजोर आर्थिक अवस्थाकै कारण विगत ५ वर्षदेखि बाँसको व्यापार गर्दै आएका खोटाङ फाक्टाङका पूर्णबहादुर खत्री भन्छन्, ‘पहाडी क्षेत्रका गाउँ वस्तीबाट सस्तो मूल्यमा बाँस किनेर कोसीमा बगाउँदै ढुवानी गरी चतारा घाटसम्म ल्याएर बिक्री गर्दा मुनाफा त राम्रो हुन्छ तर बाँस बगाउँदा आप्mनो ज्यान भने जोखिममा हुन्छ।’ 

जोखिमपूर्ण रूपले बाँसको व्यापार गर्नु रहर नभएर बाध्यता भएको उदयपुर मैनामैनीका हर्कजीत राईको भनाइ छ। ‘एकातिर घरको आर्थिक अवस्था कमजोर छ भने अर्कातिर बेरोजगारी समस्याले कोसीमा बाँस डुबाउनुपरेको छ’, उनले भने।

गाउँमा प्रति घना २५ रुपियाँमा पाइने बाँस आजभोलि १०० रुपैयाँ पुगेको छ। ‘कोसीमा डुबाउँदै भए पनि बाँस व्यापारी गाउँगाउँमा पुग्न थालेका छन्’, उदयपुर मैनीटारका राम राईले भने, ‘गाउँमा मूल्य बढे पनि व्यापार बढेरै गएको छ, गाउँमा सयले किने यता ल्याएर २०० देखि ३५० सम्म बिक्री हुने गरेको छ।’

डोरीले करिब १०० घनासम्मलाई एउटै चाङमा बाँधेर कोसीमा बगाउँदै चताराघाटसम्म ल्याउँदा दोब्बर नाफा हुने भएपछि व्यापारीको आकर्षण बढेको छ। ‘४ जनाको समूहले एक सातामा कम्तिमा पनि २० हजारसम्म कमाउन सक्छौँ’, बाँस व्यापारी गणेश केसीले भने, ‘कोसी आसपासमा हिउँद लागेपछि बाँसको सिजन सुरु हुन्छ, बर्खायाम सुरु भएपछि बन्द हुन्छ।’

कोसीमा बगाएर चताराघाट पु¥याएर बिक्री गर्न दुई दिन लाग्छ। कात्तिकदेखि चैतसम्म कोसीमा पानीको बहाव कम हुने समयमा बाँसको व्यापार फस्टाउने गरेको छ। कोसीमा डुबाउँदै बिक्री गर्ने बाँसले दर्जनौँलाई स्वरोजगारी बनाएको उनीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.