|

मोरङ : प्रदेश १ मा राष्ट्रियसभा निर्वाचन जारी छ। विराटनगरस्थित वीरेन्द्र सभागृहमा मतदान भइरहेको छ।

निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म जारी रहनेछ। दिउँसो १ बजेसम्म ९१ जना प्रदेशसभाका सांसदले भोट खसालेका छन् भने २ सय ४० जना स्थानीय तहका प्रतिनिधिले मतदान गरेका छन्।

प्रदेश १ मा राष्ट्रियसभाका लागि प्रदेशसभाका ९३ स्थानीय तहका २ सय ७४ जना मतदाता रहेका छन्।

प्रदेशसभामा संघीय लिम्बुवान मञ्चका एक सांसद विष्णु तुम्बाहाम्फेले भने मतदान नगर्ने जानकारी दिएका छन्। यस्तै माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङ पनि अहिलेसम्म मतदान गर्न नआएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए।

राष्ट्रियसभामा प्रदेश १ बाट ८ सदस्य निर्वाचित हुने भए पनि ६ जना सांसद भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने २ जना सांसदका लागि निर्वाचन भइरहेको छ।

अपांगता भएका वा अल्पसंख्यकबाट वाम गठबन्धनका अगमप्रसाद बान्तवा राई र कांग्रेसका महेश जाजु, यस्तै दलितबाट वाम गठबन्धनका तर्फबाट खेम नेपाली र कांग्रेसका तर्फबाट विन विश्वकर्माले प्रतिस्पर्धा गर्दै छन्। एकल संक्रमणीय प्रणालीबाट निर्वाचित हुने भएको कारण गठबन्धनका दुवै उम्मेदवारले जित्ने आँकलन गरिएको छ। प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.