|

वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ:।

निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥

कुनै पनि शुभकार्य गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ। भूपति, लम्बोदर, गजानन्द, गणपति आदि नामले चिनिने गणेशको शारीरिक बनावट अनौठो किसिमको छ। मानिसको शरीर र हात्तीको शिर भएका गणेशको आकृतिको प्रतीकात्मक अर्थहरू छन्।

गणेशका बारेमा अनेक भनाइ र किस्साहरू पनि बनाइएका छन्। तर गणेशबाट हामीले सिक्न सकिने केही महत्त्वपूर्ण कुराहरू पनि छन्। के सिक्न सक्छौँ त गणेशबाट हामीले?

मुसो

गणेशजीको बाहन हो, मुसो। त्यत्रो अजंगको शरीर भएका गणेशजीले मुसाको सवारी कसरी गर्लान्? हामीले यसको संकेत हेर्नुपर्छ। मुसा चंचल हुन्छ। मुसा चंचलताको प्रतीक हो। मान्छेको मन पनि मुसा जस्तै चंचल हुन्छ। त्यसैले गणेशजी घरि यता घरि उता गर्ने मनलाई पैतालाले दबाएर राख्छन्।

मुसाले मान्छेको मनको प्रतिनिधित्व गरेको छ। हामीले पनि मनलाई त्यसरी नै वशमा राख्नुपर्छ, जसरी गणेशजीले मुसालाई आफ्नो नियन्त्रणमा राख्नुभएको छ। मनको नियन्त्रणले हामीलाई एकाग्र बनाउँछ। कुनै पनि काममा एकाग्र भएर लाग्ने हो भने अवश्य सफलता प्राप्त गर्न सकिन्छ।

ठूलो पेट

गणेशजीको पेट धेरै खाएर ठूलो भएको होइन। उनको पेट हाम्रो जस्तो भकारी पेट पनि होइन। उनको पेटमा जीवनोपयोगी ज्ञान लुकेको छ। गणेशजीको ठूलो पेटको अर्थ हो– जे पनि पचाउन सक्ने पेट। जीवनमा आइपर्ने राम्रा नराम्रा कुरा, सुखदुख, सम्मान अपमान सबै चिजलाई सहजै पचाउन सकिएन भने हामी त्यसमै अलमलिन बाध्य हुन्छौँ। चिन्ताबाट उम्किएर चिन्तनको तहमा पुग्न सक्दैनौँ। गणेशजीको पेटले हामीलाई पचाउन सिकाउँछ। सहन सिकाउँछ।

त्रिशूल–टीका

गणेशको निधारमा त्रिशूल आकृतिको टीका छ। त्रिशूलमा तीनवटा शूलहरू हुन्छन्। पहिलो शूल इच्छा शक्ति, दोस्रो ज्ञान र तेस्रो कर्मशक्तिको प्रतीक हो। मानिसको जीवनमा यी तीनै शक्तिको आआफ्नै महत्त्व छ। इच्छा र ज्ञान नभई कर्म गर्न सकिँदैन। गरिहालियो भने पनि सफल भइँदैन। तसर्थ कुनै पनि कर्मको सफलताका लागि यी तीन शक्ति अपरिहार्य छन्।

कान

ठूल्ठूला कान भगवान गणेशको अर्को विशेषता हो। यसले सुन्ने कलातर्फ संकेत गर्दछ। भनिन्छ, धेरै सुन्न र थोरै बोल्नका लागि भगवानले मानिसलाई दुई कान र एक मुख दिएका हुन्। गणेशका कानले पनि धेरै सुन्ने कुरालाई चरितार्थ गरेको छ। धेरै सुन्नुको अर्थ हो, धेरै सूचना प्राप्त गर्नु। कुनै पनि विषयमा हामीसँग जति धेरै सूचना वा जानकारी हुन्छ, त्यसबारे निर्णय गर्न त्यति नै सजिलो हुन्छ। सजिलो मात्र होइन, हाम्रो निर्णय र निष्कर्ष सही पनि हुन्छ।

आँखा

गणेशजीका आँखा चिम्सा छन्। हामीले कुनै पनि कुरालाई ध्यान दिएर वा गहिरिएर हेर्नुपर्‍यो भने आँखालाई चिम्सा पार्छौं। हेर्नु र नियाल्नु फरक कुराहरू हुन्। गणेशजी हामीलाई हेर्न होइन, नियाल्न सिकाउँछन्। संसारलाई हेर्ने मात्र होइन, नियाल्ने हो। भोग्ने मात्र होइन, बुझ्ने पनि हो। हेर्नु दृष्टि हो भने बुझ्नु दृष्टिकोण हो। दृष्टिका कारणले नभई दृष्टिकोणका कारणले मानिस अरू प्राणीभन्दा विशिष्ट भएको हो। गणेशले हामीलाई नियालेर हेर्न सिकाउँछन्।

सानो मुख

अन्य अंगप्रत्यंगहरू ठूल्ठूला भए पनि गणेशको मुख भने सानो छ। मुख खासगरी खान र बोल्नका लागि प्रयोग हुन्छ। यसको अर्थ थोरै खानुस्, जति शरीरलाई आवश्यक छ र थोरै बोल्नुस् जति आफ्ना कुरा सञ्चार गर्न आवश्यक छ। चाहिनेभन्दा धेरै बोल्नु वा धेरै खानु प्रत्युत्पादक हुन सक्छ। धेरै खाँदा स्वास्थ्यमा हानि हुन सक्छ, धेरै बोल्दा सम्बन्धमा।

सुँड

गणेशजी भन्नेवित्तिकै हामी उनको सुँड सम्झन्छौँ। यो उनको महत्त्वपूर्ण अंग हो। गणेशको शरीरमा हात्तीको टाउको कसरी जोडियो भन्ने अलग्गै कथा छ। अहिले त्यता नलागौँ। बरु एकैछिन हात्तीको स्वरूप सम्झौँ। हात्ती धेरै शक्तिशाली जनावर हो र उसको सर्वाधिक शक्तिशाली अंग हो, सुँड। सुँड धेरै नरम र लचकदार हुन्छ। मान्छे पनि जति नरम र लचकदार हुन्छ, त्यतl नै शक्तिशाली हुन्छ। नरम भएरै जटिलभन्दा जटिल काम फत्ते गर्न सकिन्छ। माया, दया, करुणा आदि मानिसका नरम गुण हुन्, जो क्रोध, अहंकार र घमण्ड जस्ता कडा गुणहरूभन्दा शक्तिशाली हुन्छन्। सफल जीवनको सूत्र पनि यही हो– नरम र बलवान रहनू।

टुटेको दाँत

गणेशजीको एउटा मात्र दाँत छ, त्यसैले उनलाई एकदन्त पनि भनिन्छ। भाँचिएको दाँतले बलिदानीतर्फ संकेत गर्छ।

एक धार्मिक कथाअनुशार गणेशजी र वेदव्यासजीबीच वेद लेख्न सहकार्य गर्ने सहमति भयो। सहमतिअनुसार व्यासजीले भनेका कुरा गणेशजीले उतार गर्ने भए। व्यास आँखा चिम्लेर भन्दै गए, गणेश लेख्दै गए। दुर्भाग्यवस बीचैमा गणेशको कलम भाँचियो। तर व्यासको गतिमा तलवितल नहोस् भन्नेबारेमा सचेत गणेशले आफ्नो एउटा दाँत भाँचे र मसीमा चोप्दै कागजमा दौडाउन थाले। यसरी उक्त पुस्तक लेखियो।

हामी पनि जीवनमा सफलता त चाहन्छौँ तर मूल्य चुकाउन चाहँदैनौँ। बलिदानी दिन चाहँदैनौँ। गणेशको बलिदानीबाट हामीले धेरै कुरा सिक्न सक्छौँ।

एक तल एक माथि गरी राखिएका गोडाहरू

हामीसँग आफ्ना लागि एकदम कम समय उपलब्ध छ। हामी आफ्नोभन्दा बढी अरूका लागि बाँच्छौँ। उठ्दादेखि सुत्दासम्म हामी अरूका मागका बोझले थिचिएका हुन्छौँ। उठ्नेबित्तिकै छोराछोरीले तपाईंसँग माग राख्दछन्। घरमा परिवारका लागि र अफिसमा हाकिमका लागि मरिमेटेर लागिरहँदा तपाईंको आफ्नै जीवन भने कतै गायव भएको छ। आफ्ना गोडाहरूमार्फत गणेशजी भन्छन्– भित्री बाहिरी गरी दुई संसार छन्। आफ्नो अरू गरी दुई पाटाहरू छन्। तीनको भेद जान आफूलाई पनि पर्याप्त समय देऊ। आफू खुसी भए मात्रै अरूलाई पनि खुसी राख्न सकिन्छ।

एक हातको अभय मुद्रा अर्को हातको मिष्ठान्न

गणेशका चार हातमध्ये एउटा हात अभय मुद्रामा छ। यसको अर्थ हो, परोपकार, अर्थात अरूको भलाइ। तिम्रो कर्म अरूको भलाइमा लागोस्। सबैले यसरी नै सोच्ने भए संसार कति सुखमय हुन्थ्यो होला! अर्को हातको मिष्ठान्न अर्थात् लड्डुको अर्थ पनि तपाईंको प्राप्ति वा उपलब्धि अरूसँग पनि बाँड्नुहोस् भन्ने हो। प्राप्तिहरू बाँड्दा बढ्ने कुरा हुन्। परोपकारी व्यक्तिले केही गुमाउनुपर्दैन।

अर्को हातको डोरी फूल

गणेशजीको अर्को हातमा डोरी र फूल छ। यो न कुनै वस्तुलाई बाँध्ने डोरी हो, न त शत्रुलाई। यो त सम्बन्धलाई बाँध्ने डोरी हो। हाम्रा राम्रा कुरालाई हामीभित्रै बाँधेर राख्ने डोरी हो। अवसरहरूलाई आफूतिर खिच्ने डोरी हो ताकि राम्रा सम्बन्ध र अवसरहरूलाई च्याप्प बाँधेर राख्न सकौँ। फूलको महत्त्व त दर्शाइरहन नै परोइन।

­­­­­

बञ्चरो

बञ्चरो एउटा हतियार हो। बञ्चरोको काम काट्ने हो। गणेशजीको हातको बञ्चरोको अर्थ के होला? यसको अर्थ हो, हामीभित्रका खराब चिजहरूलाई काटौँ। हामीभित्रको क्रोधलाई काटौँ। हामीभित्रको इर्ष्यालाई काटौँ। अहंकार, घमण्ड जेजे छन्, ती सबैलाई काटौँ। यसले हाम्रो जीवनलाई सुखमय बनाउँछ। हामीले अनावश्यक इच्छा आकांक्षा आदिलाई पनि काट्न सक्छौँ। यस्ता अनावश्यक चिजहरूलाई काट्न सके हामीलाई विवेकी बन्न मार्गप्रशस्त हुन्छ।

मुकुट

गणेशले शिरमा हीरा जवाहरातजडित मुकुट धारण गरेका छन्। शिर शरीरको महत्त्वपूर्ण अंग हो। मस्तिष्क यहीँ हुन्छ। बुद्धि, विवेक, ज्ञान आदिको केन्द्र पनि शिर नै हो। रत्नसरहका ती चिजहरू हरदम बोक्नलायक छन्। तिनले हाम्रो जीवन सहज र सुन्दर बनाउँछन्। मुकुटले विवेक र बुद्धिको सम्मान दर्शाउँछ।

(सञ्चारकर्मी न्यौपाने योग प्रशिक्षक पनि हुन्।)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.