|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको प्रवर्द्धकत्वमा रहेका रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले ११ फागुनदेखि प्राथमिक सेयर (आइपिओ) खुलाउने भएका छन्। पहिलो चरणमा सञ्‍चय कोषका कर्मचारी र सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ताका साथै संस्थापक सेयरधनी संस्थाका कर्मचारी (नेपाल विद्युत् प्राधिकरण र सम्वन्धित आयोजना र रसुवा जिल्लामा सम्ब‍न्धित स्थानीय तहका कर्मचारीहरूले मात्र आपिओमा लगानी गर्न पाउने भएका छन्।

आइपिओ खुलाउनको लागि २८ माघमा आह्‍वान पत्र निष्कासन गर्न थालिएको र ११ फागुनदेखि आवेदन खुलाउन थालिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै आयोजनाका प्रमुख कार्यकारी अधिकृतहरूले जनाकारी गराए।

१११  मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको लागि स्वपुँजीअन्तर्गतको ४९ प्रतिशतमध्ये २४ प्रतिशत सेयर आवेदन खुलाउन लागिएको आयोजनाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) माधव कोइरालाले जानकारी गराए।

जसअनुसार सञ्‍चयकर्ताको लागि १९.५, कम्पनीका संस्थापक संस्थाका कर्मचारीलाई ३.५ प्रतिशत र कर्मचारी सञ्‍चयकोषका कर्मचारीको लागि १ प्रतिशत सेयर आवेदन खुल्नेछ। रसुवागढी आयोजनाले पहिलो चरणमा १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर आवेदन खुलाउनेछ। जसमा संस्थापक संस्थाका कर्मचारी  र ऋण दाता सञ्‍चयकोषका कर्मचारीले ५ चैत देखि १५ गतेसम्म आवेदन दिन पाउँनेछन् भने सञ्‍चयकर्ताहरूले ११ फागुनदेखि ३० फागुनसम्म आवेदन दिन पाउनेछन्।

माथिल्लो र तल्लो गरी ५६ मेघावटको सान्जेन जलविद्युत् आयोजनाले पहिलो चरणमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर आवेदन खुलाउन थालेको हो। यसमा सञ्‍चय कोषका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र सञ्‍चयकोषका कर्मचारी क्रमश १९.५, ३.५ र १ प्रतिशत सेयर आवेदन खुलाउन थालेको हो।

जसमा सञ्‍चयकर्ताको लागि ७१ करोड १७ लाख ५० हजार, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई १२ करोड ७७ लाख ५० हजार र सञ्‍चयकोषका कर्मचारीको लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन खुलाइने सान्जेन जलविद्युत् आयोजनाका सिइओ किरणकुमार श्रेष्ठले बताए।

जसमा सञ्चयकर्ताले ११ फागुनदेखि ३० फागुनसम्म आवेदन दिन पाउनेछन्। त्यस्तै. संस्थापक सेयरधनीका कर्मचारी र सञ्‍चयकोषका कर्मचारीले ५ चैत देखि १३ चैतसम्म आवेदन दिन पाउनेछन्।

कसले कति कित्ता आवेदन भर्न पाउने?

सञ्चयकर्ता

रसुवागढी जलविद्युत् आयोजनाका स्वपुँजीअन्तर्गतको सर्वधारण समूहलाई छुट्टाइएको ४९ प्रतिशतमध्ये १९ प्रतिशतको लागि सञ्‍चयकर्तालाई आवेदन खुलाइएको छ। जसमा सञ्‍चयकर्ताले सय रुपैयाँ अंकित दरका अधिकत ५०० कित्तासम्म आवेदन दिन पाउनेछन्। जसमा ५० कित्ता न्यूनतम र त्यसभन्दा बढी १० अंकले भाग जानेगरी ५०० कित्ताको आवेदन दिन पाउँनेछन्। 

त्यस्तै, अधिकतम ३०० कित्तासम्मको सेयरको लागि आवेदन दिन पाइनेछ। यसमा पनि न्यूनतम ५० कित्ता भने अनिवार्य छ। सञ्‍चय कोषका सञ्‍चयकर्ताले दुईवटा आयोजनामा गरी अधिकतम ८०० सम्मको सेयर आवेदन भर्न पाउनेछन्।

संस्थापक संस्थाका कर्मचारीहरू

संस्थापक संस्थाका कर्मचारीले रसुवागढी आयोजनामा बढीमा ५०० कित्ता र सान्जेनमा ३०० कित्ता आवेदन गरी दुई आयोजनामा ८०० कित्ता बराबरको आवेदन दिन पाउनेछन्। दुवै आयोजनामा न्यूनतम ५० कित्ता आवश्‍यक पर्नेछ भने त्योभन्दा बढी गर्दा १० ले भाग जाने गरेर आवेदन दिनुपर्नेछ।

सञ्‍चयकोषका कर्मचारी

सञ्चयकोषका कर्मचारीले रसुवागढीमा बढीमा २ हजार ५०० र सान्जेनमा बढीमा १ हजार कित्ता सेयर भर्न पाउनेछन्। दुवै आयोजनामा गरी सञ्‍चयकोषका कर्मचारीले ३ हजार ५०० कित्ता बराबरको आवेदन दिन पाउनेछन्।

यी दुवै आयोजनामा न्युनत ५० कित्ता भने अनिवार्य गरिएको छ। सञ्‍चयकोष ऋणदाता कम्पनी भएकोले सहमति गर्ने क्रममानै क्रमश २ हजार ५०० र १ हजार कित्ताको सर्त राखिएको थियो।

सेयर सी आस्वाप्रणालीबाट भरिने र डिम्याट खाता अनिवार्य हुने व्यवस्था गरिएको छ। रसुवागढी आयोजनाको लागि  सिद्धार्थ, एनबिएल, ग्लोवल र सनराइज क्यापिटललाई विक्री प्रबन्धकको रूपमासमेत भएको रसुवागढी आयोजनाका सिइओ कोइरालाले जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.