|

डोटी : राष्ट्रियसभाका सदस्यका लागि प्रदेश ७ मा भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार महेशकुमार महरा र चक्रप्रसाद स्नेही विजयी भएका हुन्।

अपाङ्ग तथा अल्पसंख्यकतर्फ माओवादी उम्मेदवार महरा ३ हजार ७०८ मतसहित विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छत्रराज जोशीले १ हजार ९०८ मत प्राप्त गरे।

दलिततर्फ नेकपा एमालेका चक्रप्रसाद स्नेही ३ हजार ७०८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका शेरीराम पार्कीले १ हजार ८९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।

प्रदेशसभाका सांसद, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख मतदाता रहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा १ भोट भने बदर भयो। गाउँपालिकामा निर्वाचित प्रतिनिधिको १ मत बदर भएको हो। दुवै ठाउँमा मत संकेत गरेका कारण मत बदर भएको निर्वाचन अधिकृत पनेरुले बताए।

यस प्रदेशबाट निर्वाचित हुने ८ जना राष्ट्रियसभा सदस्यमध्ये ७ जनालाई बुधबार नै प्रमाणपत्र हस्तान्तरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। माओवादीबाट निर्वाचित हरीराम चौधरीले मात्र प्रमाणपत्र बुझ्न बाँकी रहेको छ।

यी हुन् निर्विरोध निर्वाचित ६ जना 

प्रदेश ७ बाट ६ जना राष्ट्रियसभाका लागि निर्विरोध चयन भइसकेका छन्। राष्ट्रियसभा सदस्यमा अन्य समूह नेपाली कांग्रेसका तर्फबाट बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट शेरबहादुर कुँवर र नेकपा माओवादी केन्द्रबाट हरिराम चौधरी निर्विरोध निर्वाचित भएका हुन्। महिलाबाट नेपाली कांग्रेसकी तारादेवी भट्ट, नेकपा एमालेबाट कमलाकुमारी ओली र इन्दु कडरिया निर्वाचित भएका छन्।

९९ प्रतिशत मतदान

राष्ट्रियसभा सदस्यका लागि प्रदेश ७ मा भएको निर्वाचनमा ९९ प्रतिशत मतदान सम्पन्न भएको छ। स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शत प्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जनाले मतदान गरेका छन्। यस प्रदेशमा स्थानीय तहका १७६ र प्रदेशसभाका सदस्य ५३ जना गरी २२९ जना मतदाता रहेका थिए।

राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर- १ बाट निर्वाचित दुई जना सांसदले भने मतदान गरेनन्।

भोट नमागेकाले भोट हालेनौँ : राजपा सांसद

बुघबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टीका सांसदले मतदान गरेनन्। राजपाका कैलाली क्षेत्र नम्बर- १ ‘क’ बाट निर्वाचित प्रदेशसभा सांसद कृष्णकुमार चौधरी र मालती राना थारूले मतदान गरेनन्। राजपाका २ जना सांसदले भने मदतान नगरेको सांसद मालती राना थारूले बताइन्। थारूले भनिन्, ‘हाम्रो उम्मेदवार पनि थिएन, कुनै दलले भोट पनि मागेनन्, त्यसैले मतदान गरेनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.