|

विराटनगर : नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशमा उत्पन्न विवाद थप चर्केको छ। 

पार्टीका ३ जना केन्द्रीय सचिवालय सदस्यसहित २९ जना पोलिटब्युरो सदस्यहरूले तत्काल अध्यक्ष प्रचण्डको उपस्थितिमा प्रदेश सचिवालयको बैठक बोलाउन आग्रह गर्दै प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलाई पत्र बुझाएका छन्। 

भरखरै सम्पन्न प्रतनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको वाम गठबन्धनको विरोध गर्दै निस्क्रिय बनेका गोपाल किरातीलाई कारवाहीको माग गर्दै यसअघि १९ जना पोलिटब्युरो सदस्यहरूले अध्यक्ष प्रचण्डलाई उजुरी पठाएका थिए। त्यसयता पनि किरातीकै अगुवाइमा पार्टीका गतिविधि संचालन गर्ने प्रयास भएको भन्दै असन्तुष्ट बनेका नेताहरूले बुधबार विराटनगरमा प्रदेश संयोजक काफ्लेलाई तत्काल बैठक बोलाउन माग गरेका हुन्। 

पार्टीका सचिवालय सदस्य टंक आङ्बुहाङ, शिवकुमार मण्डल र पासाङ शेर्पासहितका नेताहरूले प्रदेश सचिवालयको बैठक अगाडि कुनै पनि विषयमा निर्णय नगर्नसमेत माग गरेका छन्। माओवादीका १ नम्बर प्रदेशमा ५५ जना पोलिटब्युरो सदस्य रहेकामा बहुमत बढी सदस्यहरूले प्रदेश कार्यालयमा पत्र बुझाएपछि संसदीय दलको नेता र उपसभामुख चयन प्रक्रिया लम्बिने देखिएको छ। 

यसअघि माघ २५ र २६ गते प्रदेश सचिवालयको बैठक बस्ने तयारी नेतृत्वले गरेको भए पनि किरातीमाथि कारवाहीको माग गर्दै नेताहरूले अध्यक्ष प्रचण्डलाई उजुरी गरेपछि बैठक स्थगित गरिएको थियो। उक्त बैठक स्थगित गरिएको घटनाले नेतृत्वको नियतमाथि नै प्रश्न खडा गरेको र आफूहरूलाई गम्भीर आशंका पैदा भएको भन्दै तत्काल बैठक राख्न नेताहरूले माग गरेका हुन्। 

‘पार्टी संचालनको विधि, पार्टीभित्र देखिएको चरम अवसरवाद र अराजकतावाद एवं समग्र विषयमाथि गम्भीर समीक्षा गरेर संसदीय दल र प्रदेश सरकारमा प्रतिनिधित्व गराउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय लिनुपर्ने भएकाले अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा बैठक राख्न प्रदेश संयोजक समक्ष जोडदार माग गर्दछौँ’, पत्रमा भनिएको छ, ‘सचिवालयको बैठक नबसी कुनै पनि विषयमा निर्णय नलिन पनि संयोजक समक्ष माग गर्दछौँ।’ 

आफूहरूले उठाएका विषय पार्टी जीवनमा दीर्घकालीन महत्त्व राख्ने भएकाले संस्थागत निर्णय गर्ने पद्धतिको विकास गर्नका लागि भएको नेताहरूको दाबी छ। वाम गठबन्धनको विरोध गर्दै माओवादी पार्टी पुनर्गठन गर्ने घोषणा गरेका नेता गोपाल किरातीले पछिल्लो समयमा पार्टीको प्रदेश इन्चार्ज आफू भएको भन्दै निर्णय प्रक्रियामा सामेल भएपछि विवाद चर्किएको हो। 

बैठक माग गर्दै पत्र बुझाउनेहरूमा ३ सचिवालय सदस्यसहित पोलिटब्युरो सदस्यहरू पेशल खतिवडा, हेमराज भण्डारी, श्रीप्रसाद जबेगु, तिलकबहादुर थापा, होमकुमारी खापुङ, शंकर राई, धर्मशिला चापागाईं, झलकसिंह दर्लामी, मुक्साहाङ मेन्याङ्बो, अस्मिता कार्की, शिवबहादुर बस्नेत, हर्क नेम्बाङ, बाबुराम गौतम र गोपी आछामी छन्। 

यसैगरी पत्रमा पोलिटब्युरो सदस्यहरू रामकुमारी चौधरी, दुर्गाप्रसाद चापागाईं, सुदन किराती, राजु आचार्य, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गाजयन्ती राई, खेम सुन्दास, रिपु राई, मोहनबहादुर खत्री, हेम कार्की र योगेन्द्र मण्डलको नाम पनि उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.