|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन्। आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेका हुन्।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेको बेला राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि राजीनामा दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए।

सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरूसँग मंगलबारदेखि नै छलफल गरिरहेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए। ‘राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म कुर्ने भन्नेमा छलफल भइरहेको छ,’ उनले भने, ‘खासगरी यसमा दुई स्टेप छन्, राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम आएपछि भन्नेमा प्रधानमन्त्रीज्यू परामर्शमा हुनुहुन्छ।’

संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गरेपछि राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिलाई राजीनामा दिने तयारी गरेको सचिवालय स्रोतले जनाएको छ। बुधबार राजीनामा र राष्ट्रका नाममा दिइने सम्बोधनको विषयमा प्रधानमन्त्री देउवा छलफलमा व्यस्त थिए।

निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा चाँडोमा ३ फागुन र ढिलोमा ५ फागुनमा राष्ट्रपतिलाई बुझाउने तयारी गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। निर्वाचन आयोगले परिणाम राष्ट्रपतिलाई बुझाएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन्। देउवाले कार्यभार सम्पन्न भएको भन्दै राजीनामा दिने सोच बनाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.