|

पर्वत :  पर्वतको महाशिला गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा चौबीसै घण्टा गर्भवती र सुत्केरी सेवाको विस्तार भएको छ। गाउँपालिका अन्तर्गत ६ वटा वडामा रहेका ६ ओटै स्वास्थ्य चौकीहरुमा उक्त सेवा नियमित रूपमा सञ्‍चालन गर्न थालिएको गाउँपालिका प्रमुख राजुप्रसाद पौडेलले जानकारी दिए।

यसअगाडि यस प्रकारको सेवा लिने महिलाहरु गाउँपालिकाको वडा नं. ५ लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो दूरी पार गरेर जानुपर्ने बाध्यता थियो। सबै स्वास्थ्य संस्थाबाट यस्तो सुविधा नपाउँदा जिल्लाको दक्षिणी क्षेत्रका धेरै महिलाहरु स्वास्थ्य जाँचका लागि झण्डै ३ घण्टा भन्दा बढी समयको सवारी यात्राबाट सदरमुकाममा रहेको जिल्ला अस्पतालमा आउनुपर्ने पनि बाध्यता थियो।

गाउँपालिका प्रमुख पौडेल भन्छन, ‘सुत्केरी सेवा, गर्भवती जाँच लगायतका समस्या बेहोर्न बाध्य भएका यस क्षेत्रका महिलाहरुलाई समस्याबाट मुक्ति दिलाउन हामीले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट यस प्रकारको सेवा दिन सुरु गरेका छौँ।’  उनी थप्छन, ‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उपचारको अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउन नपरोस र आफ्नै घर छेउका स्वास्थ्य संस्थाबाट तत्काल सेवा लिन सकुन् भनेर सेवा विस्तार गरिएको हो।’

यसअगाडिसम्म, सेवा दिँदै आएको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सेवा भने प्रभावकारी नरहेको त्यस क्षेत्रका नागरिकहरुको गुनासो छ। गाउँमा जटिल खालका रोगको उपचार हुन नसक्ने तथा दक्ष जनशक्ति गाउँमा नजाने र गएपनि विभिन्न बहानामा सहरकेन्द्रित हुने गरेका कारण समस्या हुने गरेको स्थानीय सुनिता पौडेलले बताइन्।

गाउँपालिकाले यस वर्ष मात्र सबै स्वास्थ्य चौकीबाट गर्भवती र सुत्केरी सेवा प्रदान गर्नका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव नहोस भन्नका लागि १२ जना अनमी र १२ जना स्वास्थ्य संस्था सहयोगी गरी २४ जना कर्मचारी पदपूर्ति गर्न लागिएकाे छ। गाउँपालिका प्रमुख पौडेलले भने , 'गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी स्वास्थ्य कर्मचारीहरु माग गर्न लागिएको हाे।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.