|

विराटनगर : प्रदेश १ माअोवादी केन्द्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीका २९ पोलिटब्यूरो सदस्य र तीन केन्द्रीय सचिवालय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा तत्काल प्रदेश सचिवालय बैठक बोलाउन माग गरेका छन्। 

यसअघि माघ २५ र २६ गते प्रदेश सचिवालयको बैठक बस्ने तयारी गरिएको थियो। तर, बैठक स्थगन भएको छ। बैठक एकाएक स्थगन गर्ने निर्णय भएपछि उक्त कार्य शंकास्पद भएको भन्दै उनीहरूले तत्काल बैठक राख्न माग गर्दै प्रदेश संयोजक प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलाई पत्र बुझाएका हुन्।

पत्रमा भनिएको छ, ‘पार्टी सञ्चालनको विधि, पार्टीभित्र देखिएको चरम अवसरवाद र अराजकतावाद एवं समग्र विषयमाथि गम्भीर समीक्षा गरेर संसदीय दल र प्रदेश सरकारमा प्रतिनिधित्व गराउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय लिनुपर्ने भएकाले अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा बैठक राख्न प्रदेश संयोजक समक्ष जोडदार माग गर्दछौं। सचिवालयको बैठक नबसी कुनै पनि विषयमा निर्णय नलिन पनि संयोजक समक्ष माग गर्दछौं।’

माओवादी केन्द्र र एमाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको नाममा भाग लिएपछि माओवादी नेता गोपाल किरातीले त्यसैको विरोध गरेका थिए। त्यसपछि उनी चुनावमा निस्क्रिय बनेका किराती पछिल्लो समय पार्टीको निर्णयविरुद्ध उत्रिएपछि उनलाई कारबाही गर्न माग गर्दै १९ जना पोलिटब्युरो सदस्यले अध्यक्ष प्रचण्डलाई उजुरी पठाएका थिए। 

माओवादी पार्टी पुनर्गठन गर्ने घोषणा गर्दै आएका नेता किरातीले पछिल्लो समयमा पार्टीको प्रदेश इन्चार्ज आफू भएको भन्दै निर्णय प्रक्रियामा सामेल भएका छन्। उनकै सक्रियतामा प्रदेश सचिवलायको बैठक स्थगित भएको बताइएको छ।

बैठक माग गर्ने नेताहरू
पार्टी प्रेदश सचिवलायको स्थागन भएको बैठक तत्काल माग गरिएको छ। बैठकको माग गर्नेहरुमा पेशल खतिवडा, हेमराज भण्डारी, श्रीप्रसाद जबेगु, तिलकबहादुर थापा, धर्मशिला चापागाईं छन्। यस्तै, होमकुमारी खापुङ, शंकर राई, झलकसिंह दर्लामी, मुक्साहाङ मेन्याङ्बो, अस्मिता कार्की, शिवबहादुर बस्नेत, हर्क नेम्बाङ, बाबुराम गौतम र गोपी आछामी छन्।

यसैगरी रामकुमारी चौधरी, दुर्गाप्रसाद चापागाईं, सुदन किराती, राजु आचार्य, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गाजयन्ती राई, खेम सुन्दास, रिपु राई, मोहनबहादुर खत्री, हेम कार्की र योगेन्द्र मण्डलको नाम उल्लेख छ। 

पार्टीका सचिवालय सदस्य टंक आङबुहाङ, पूर्वमन्त्री एवं मोरङ ५ का सांसद शिवकुमार मण्डल र पूर्वसांसद पासाङ शेर्पासमेत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.