|

गोरखा : जिल्लाको छेकम्पारमा चीज उद्योग सञ्चालनमा आएको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पारको छुलेनिले चौँरी पालक कृषक समूहले चीज उत्पादन सुरु गरेको हो। 

जिल्ला पशु सेवा कार्यालयको चौँरी संरक्षण कार्यक्रमअन्तर्गत चौँरी पाल्ने कृषकहरू संगठित भई व्यावसायिक चीज उत्पादन सुरु गरेका हुन्। 

‘कार्यालयको चौँरी संरक्षण कार्यक्रममार्फत विभिन्न कार्यक्रमहरू हुँदै आएका छन्’, जिल्ला पशु सेवा कार्यालय गोरखाका प्रमुख डा. जगतबन्धु नेपालीले भने, ‘कार्यक्रममार्फत चौँरी पाल्नेहरूको समिति गठन गरियो। उनीहरूले नै अहिले चीज उत्पादन गर्न थालेका छन्।’ 

चौँरी संरक्षण कार्यक्रमअन्तर्गत खर्क सुधार, घाँस विकास, औषधिलगायतका बारेमा जानकारी गराएको कार्यालयले ५१ जनाको चौँरी पालक किसानहरूलाई एकजुट गराएको हो। ५१ जना किसानका ३८२ वटा चौँरी छन्। मनास्लु पदमार्ग भएर मनास्लु क्षेत्र घुम्न आउने पर्यटकहरूलाई लक्षित गरी चीज उद्योग सञ्चालनमा ल्याइएको हो।  

चौँरी सुधार कार्यक्रममा सहयोग गर्दै आइरहेको पशु सेवा कार्यालयको कार्यक्रममा सहयोग पुग्ने गरी एकीकरण नेपाल र अक्सफामले समेत सहयोग गरेका छन्। अक्सफामकै सहयोगमा अहिले चीज उद्योग खोलिएको हो। उद्योग स्थापना गर्न करिब १५ लाख रूपैँया बराबरको सामग्रीसँगै तालिम प्रदान गर्न अक्सफामले सहयोग गरेको हो। 

चीज परीक्षण सफल भएकाले अब उत्पादन गर्ने तयारीमा कृषकहरू रहेका छन्।

चौँरीको दूध धेरै आउने सिजन साउनदेखि मंसिरसम्म चीज पनि धेरै नै उत्पादन गर्ने गरी काम थाल्ने उनीहरूको भनाइ छ। चीज बनाउने औजारहरू हेलिकोप्टरमार्फत ढुवानी गरी छेकम्पार पुर्‍याइएको हो। 

उद्योगले किसानको चौँरीको दूध प्रति लिटर २०० रुपैयाँमा खरिद गर्नेछ। १० लिटर दूधले एक किलो चीज बन्ने र एक किलो चीजको अहिलेको बजार मूल्य २ हजार २०० देखि २ हजार ५०० रुपैयाँसम्म छ। 

यसअघि किसानले चौँरीको दूधबाट घ्यू बनाई तिब्बती बजारमा लगेर बिक्री गर्ने गर्थे। एउट वयस्क चौँरीको मूल्य १ लाख रुपैँया बढी पर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.