|

काठमाडौं : एभरेस्ट होटलको स्वामित्वबारे सर्वोच्चले निर्णय दिएको ३ दिनपछि लागुऔषध तस्करी मुद्दामा एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज प्रहरी वृत्तको टोलीले उनलाई बिहीबार महाराजगन्जबाटै पक्राउ गरेको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले बताए।

अदालतको फैसला कार्यान्वयनका लागि लारीलाई प्रकाउ गरेको उनले जाकारी दिए। लारीलाई अहिले जिल्ला अदालत काठमाडौं बुझाइसकेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए।

को हुन् लारी?

काठमाडौंको नयाँ बानेश्वरस्थित ३२ रोपनी क्षेत्रफलमा फैलिएको पाँच तारे द एभरेष्ट होटलका मालिक हुन्, मस्कुर अहमद लारी। वर्षौंअघिदेखि नेपालमा व्यापार व्यवसाय गरेर बसेका लारी भारतीय मूलका नागरिक हुन्। उनको पुर्ख्यौली ठेगाना कलकत्ताको अलिपुर कोनार्क गार्डेन ६, बर्डवान रोड हो।

उनले चलाउँदै आएको उक्त होटल काका र ठूलोबुबाका छोराछोरीबीचको विवादले एभरेष्ट होटल कसको? भन्ने विवाद जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च अदालत पुगेको थियो। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले निर्णय सुनाउन तोकेको पाँचवटा पेशीपछि माघ २१ गते अन्तिम फैसला दिँदै एभरेष्ट होटलको स्वामित्व मस्कुर अहमद लारी र उनकी श्रीमती नज्मा मस्कुर अहमद लारीको भएको फैसला गरेको थियो।

 के थियो मुद्दा?

२०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २५० किलो चरेस जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा बरामद भएको थियो। जर्मनी उड्ने जहाजमा यात्रुहरूलाई दिइने खानासँगै लागुऔषधको ओसारपसार हुने गरेको तथ्य त्यही बेला खुलासा भएको हो।

जर्मन दूतावाससमेतको जाहेरीमा प्रहरीले अनुसन्धान गर्दा एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी पनि लागुऔषध कारोबारमा संलग्न भएको भन्दै उनीविरुद्ध प्रहरीले २०५५ सालमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो तर अदालतले उनको मुद्दा तामेलीमा राखेको थियो।

तर २०६६ पुस २० मा काठमाडौं जिल्ला अदालतले उनको नाममा पक्राउ वारेण्ट जारी गरेको थियो। उनको मुद्दा जिल्ला अदालत काठमाडौ‌ंबाट पुनरावेदन अदालत पाटन हुँदै अहिले सर्वोच्चमा पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.