|

गोरखा : जिल्लाको पालुंटार नगरपालिकाको खोप्लाङले स्थानीय तह हुँदै प्रदेश र केन्द्रीय संसदमा पनि प्रतिनिधित्व गर्नेछ। बुधबार राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस युवा नेता सुरेन्द्र पाण्डे प्रदेश– ४ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै पालुंटारको खोप्लाङबाट प्रदेश र केन्द्रको संसदमा प्रतिनिधित्व गर्नेको संख्या बढेको हो। 

संघीय संरचनाअनुसार यसअघि प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई, गोरखा क्षेत्र नम्बर– २ को प्रदेश ‘क’बाट नयाँ शक्तिकै हरिशरण आचार्यले प्रदेशसभामा प्रतिनिधित्व गरिसकेका छन्। 

बुधबार निर्वाचित पाण्डेले २ हजार २६२ मत प्राप्त गरे। उनलाई कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका मतदाताले मतदान गरे। नेपाली राजनीतिमा पालुंटारको खोप्लाङको बेग्लै इतिहास छ। यहाँ जन्मेका डा. बाबुराम भट्टराई दुई पटक संविधानसभा सदस्य निर्वाचित, एक पटक प्रधानमन्त्री र एक पटक अर्थमन्त्री भइसकेका छन्। राष्ट्रियसभा सदस्य बनेका नेता पाण्डे कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्। 

आफू प्रधानमन्त्री र अर्थमन्त्री हुँदा जिल्लामा गरेका विभिन्न विकासे आयोजनाहरूलाई चुनावी मुद्दा बनाएर भट्टराईले पूर्व सहकर्मी तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई करिब ७ हजार मतले पछि पारे। 

मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भट्टराई कांग्रेसको समर्थनमा उम्मेदवार थिए। राष्ट्रियसभा सदस्य पाण्डेले भट्टराईको चुनावी प्रचारलाई राम्रै सहयोग गरेका थिए। राष्ट्रियसभा सदस्य पाण्डे, प्रतिनिधिसभा सदस्य भट्टराई र प्रदेशसभा सदस्य आचार्य सबै पालुंटार नगरपालिकाको खोप्लाङका हुन्। 

त्यस्तै, यसअघि पालुंटार नगरपालिकाको उपप्रमुखमा पनि खोप्लाङकै पम्फा बसेल निर्वाचित भइन्। उनी माओवादी केन्द्रबाट उम्मेदवार भएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.