ओपिडीमा आउनेमध्ये २५ प्रतिशत प्रदूषित हावाका बिरामी

|

काठमाडौं : उपत्यकामा वायु प्रदूषणले मानिसलाई दैनिक जीवनयापनमै असर गरेको छ। दैनिकजसो काठमाडौंको सडकमा हिँड्ने यात्रु र सर्वसाधारणलाई स्वास्थ्यमा समस्या  देखिने गर्छ।दिनहुँ काठमाडौंको सडकमा हिँड्ने व्यक्तिलाई तत्कालीन रूपमा रुघाखोकी, घाँटी दुख्ने, आँखा दुख्नेलगायतका समस्या हुनु हिजोआज सामान्यजस्तै बनेको छ।

उपत्यकामा वायु प्रदूषणको दर मापदण्डभन्दा पाँच गुणासम्म बढेको छ। विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युबसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने बताएको छ। तर, हाल उपत्यकाको वायु प्रदूषणको दर १ सय ४२ माइक्रोग्राम परमिटर क्युबसम्म पुग्ने गरेको छ। सरकारले ४० माइक्रोग्राम पर मिटर क्युब मापदण्ड तोकेको छ।

जसले गर्दा काठमाडौंको हावा श्वासप्रशाशको हिसाबले अत्यत्तै हानिकारक छ। जसले गर्दा मानिसको स्वास्थ्यमा असर पुर्‍याउने गर्दछ। सामान्य रूपमा १/ २ घण्टा धुलोधुवाँमा रहँदा खासै ठूलो असर नदेखिने भए पनि लामो समयसम्म धुलोमा रहन गए गम्भीर खालका स्वास्थ्य समस्या देखिन्छ।

 धुलोले निम्त्याउँछ क्यान्सरदेखि मुटुको रोगसम्म

लामो समयसम्म धुलो धुवाँ र प्रदूषित हावायुक्त अक्सिजन हामीले लिँदा हामीलाई तत्कालीन र दीर्घकालीन रूपमा दुईथरी असरहरू देखा पर्छन्। तत्कालीन रूपमा रुघाखोकी, घाँटी दुख्ने, आँखा दुख्ने, छालाको एलर्जी हुने लगायतका समस्या आउन सक्छ। भने दीर्घकालीन रूपमा दम, फोक्सोको क्यान्सर, मुटुको रोग, छालाको क्यान्सर, श्वासप्रश्वासलगायतमा समस्या देखिन सक्छ।

उपत्यकाको वायुमा  ससाना धुलोको कण फोक्सो हुँदै रक्तनलीसम्म सहजै पुग्दा मानवस्वस्थ्यमा गम्भीर असर पर्छ। धुलोको प्रभाव मानिसको अवस्था, उमेर र क्षमताअनुसार फरक सक्छ। कुनै मान्छेलाई फोक्सोसम्बन्धी, श्वासप्रश्वाससम्बन्धी कुनै रोग पहिलादेखि नै हुन सक्छ, त्यस्ता व्यक्ति धेरै धुलोधुवाँको कारण रोगले च्याप्न सक्छ।

यस्तै, अन्य केही दीर्घरोगका औषधि  सेवन गरिरहेका व्यक्तिहरु धुलो धुवाँले झनै असर गर्छ। केही बिरामी नभएका स्वस्थ मानिसलाई प्रदूषित हावाले गर्दा रोग निस्कन सक्छ। हाल काठमाडौंका अस्पतालहरूको ओपिडीमा आउने २५ प्रतिशत बिरामीहरु उपत्यकाको प्रदूषित वातावरले प्रभावित भएर आउने गरेका छन्।

कसरी थाहा पाउने धुलोको असर?

धुलो र धुवाँको तत्कालीन र दीर्घकालीन असर हुन्छन्। तत्कालीन रूपमा धुलेलो घाँटीको एलर्जी हुन्छ। तत्कालीन असर पनि मानिसअनुसार फरक  हुन्छ, कसैलाई आँखा अति सुख्खा कसैमा आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, यस्तै घाँटी खसखसाउने र लामो समयपछी खोकी लाग्ने गर्दछ।

दीर्घकालीन असरमा भने  फोक्सोको क्यान्सर, दम, श्वासनलीमा समस्या, निको नहुने प्रकारले खोकी लाग्ने,छालाको क्यान्सर हुने, धुलोमा हुने मसिनो कणहरु आँखामा पस्नाले आँखामा घाउ हुनेजस्ता समस्या देखिन सक्छ। यस्ता समस्याबाट पीडित भएको १० देखि १५ वर्षमा हृदयाघात हुने सम्भावनासमेत धेरै हुन्छ।

कसरी बच्ने धुलोबाट?

धुलो धुवाँबाट बच्न सकेसम्म प्रदूषण भएको ठाउँमा सकभर जानु हुँदैन। सवारीसाधनमा यात्रा सवारीसाधनको सिसा राम्रोसँग बन्द गर्नुपर्छ। सकभर बाहिर निस्कँदा  धुलो सिधै मुख र नाकभित्र पर्नबाट बच्ने माक्सको प्रयोग गर्नुपर्छ। मास्क अवस्था नभएमा रुमालले मुख ढाकेर हिँड्ने गर्नुपर्छ। धेरै व्यक्ति साधारण प्रकारको मास्क लगाएर आफूलाई धुलोबाट बचेको मान्ने गर्छन्। तर, यस्ता साधारण माक्सले धुलोबाट बचाउँदैन।

ग्राण्डी अस्पतालमा कार्यरत वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ, डा अर्जुन कार्कीसँग गरिएको कुराकानीमा आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.