|

प्युठान : ऐरावती गाउँपालिका– ४ गोलचौर धुवाङमा आगलागी हुँदा गाउँका ७ घर जलेर नष्ट भएका छन्। बिहीबार भएको आगलागीबाट उक्त घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।

गोलचौर निवासी बमबहादुर पुनमगरको घरबाट सुरु भएको र स्थानीयहरू चन्द्रबहादुर पुनमगर, रुमबहादुर पुनमगर, निखिल पुनमगर, टंक पुनमगर, जुठी पुनमगर र बोमबहादुर पुनमगरको घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए। 

बमबहादुर पुनमगरको घरमा रहेको आधुनिक चुह्लोको चिम्नीबाट आगो निस्किएर आगलागी भएको हो। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ७ घरको गरी करिव २२ लाख ९५ हजार रुपैयाँ बराबर क्षति भएको प्रहरीको अनुमान छ। 

आगलागीबाट २ वटा बाख्रा पनि जलेका छन्। बिहान ९ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो। 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुर्व सिईओ प्रा.डा. गोविन्दराज पोख्रेलले  घटनापश्चात पीडित परिवारका लागि ३÷३ वण्डल जस्तापाताको व्यवस्था गर्ने बताए। घटनास्थलमा पुगेका पोख्रेलले  पीडित परिवारलाई राहतको व्यवस्था गर्न सबैलाई आग्रहसमेत गरे। 

यस्तै, पीडित परिवारलाई जिल्ला रेडक्रस सोसाइटीले पनि केही खाद्यान्न र भाँडाको व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.