|

गोरखा : तपाईंका छोराछोरी नियमित स्कुल–कलेज गएका त होलान् नि! के उनीहरूले त्यहाँ पढ्छन् मात्र? उनीहरूले त्यहाँ विद्यालयको अनुशासन मनपराएका छन्? कि असन्तुष्ट छन्? 

के राज्यले, समुदायले, स्कुल–कलेज, धर्म संस्कृतिले अवलम्बन गरेका नीति, नियम, आचरण पालना गरेका छन् वा विद्रोह गरेका छन्? कि भित्रभित्रै विद्रोह विस्फोटको तयारी गरिरहेका छन्? सोच्दै नसोचेको भूमिगत गिरोहमा पो हिँड्छन् कि! तपाईंले सोच्दै नसोचेको गतिविधिमा संलग्न पो छन् कि!

यसबारे यदि तपाईंले सोधखोज गर्नुभएको छैन भने सोधी हाल्नुपर्ने बेला भएको छ। गोरखामा अहिले विभिन्न भूमिगत गिरोहहरू संगठित भएका छन्। तीमध्ये आरबीजी अर्थात् ‘रुल्स ब्रेकर गाइज’ पनि एक हो।

यो सञ्जाल जिल्लास्तरमा मात्र सीमित छैन। विभिन्न जिल्लामा साँठगाँठ छ उनीहरूको। विद्रोहीहरू संलग्न आरबीजीको  अन्तर्राष्ट्रिय सञ्जाल पनि छ।

सामाजिक तथा स्कुल–कलेजको विद्यमान नीति, नियमविरुद्ध लड्ने तयारीका साथ आरबीजी संगठित भएको हो। आरबीजीमा गोरखाका ६० जना संगठित सदस्य छन्। उनीहरू सबै उमेरले २० वर्षमुनिका हुन्। 

आरबीजीमा अधिकांश किशोरीहरू छन्। स्रोतका अनुसार यसमा किशोरहरू एक तिहाई मात्र छन्। ‘पहिले त केटी–केटी मात्र थियौँ। नाम पनि रुल्स ब्रेकर गल्र्स राखिएको थियो’, एक किशोरी भन्छिन्, ‘पछि केटाहरू पनि मिसिए अनि नाम फेरेर रुल्स ब्रेकर गाइज राखियो।’ अहिले ५६ जना एक ढिक्का भएर हिँडेको उनी बताउँछिन्। उनका अनुसार अझै यसमा संगठित हुनेको संख्या बढिरहेको छ।

गोरखामा आरबीजी संगठित भएको करिब एक वर्ष भएको उनी बताउँछिन्। ‘आई एम प्राउड टु बी रुल्स ब्रेकर’ भन्दै फेसबुक अभियान पनि चलाएका छन्। फेसबुकमा विभिन्न जिल्लाका र विदेशका पनि आरबीजीहरूसँग सम्बन्ध, समन्वय गरिरहेका छन्।

उनीहरू मासिक नियमित बैठक बस्छन्। २०० रुपियाँका दरले लेबी पनि उठाउँछन्। ‘आई एम प्राउड टु बी रुल्स ब्रेकर’ लेखिएको टीसर्ट पनि खरिद गरेका छन् उनीहरूले। ‘उठेको पैसाले टीसर्ट किनेका छौँ। कसैलाई पैसा चाहिएको बेला सापट पनि दिन्छौँ। अवस्था हेरी फिर्ता नगर्ने गरी पनि दिन्छौँ’, अर्की एक आरबीजी भन्छिन्, ‘एक जनालाई समस्या पर्‍यो भने सबैजना एक हुन्छौँ।’ आरबीजीमा सदरमुकामका स्कुल–कलेजमा पढ्ने विद्यार्थीहरू संगठित छन्। ‘द्रव्य शाह क्याम्पस, वल्र्ड क्यापिटल, आहाले, शक्ति, महेन्द्रज्योति, बालमन्दिर, मनकामना बोर्डिङ, गोरखा बोर्डिङ जस्ता कलेज र स्कुलमा पढ्नेहरू नै छौँ’, उनले भनिन्। काठमाडौंको समूहको सुझावमा आरबीजी गठन गरिएको उनको भनाइ छ।

आरबीजी जस्तै एनजी, बीबीजी, टीटीजी जस्ता भूमिगत गिरोहहरू पनि संगठित छन्। एजी पनि आरबीजीमै गाभिएको स्रोत बताउँछ। बीबीजी अर्थात ‘ब्ल्याक बेस्टी गाइज’ आफ्ना सदस्यमाथि कतै हातपात भएमा जानकारी पाएका आरबीजीहरूले प्रतिरक्षा र प्रत्याक्रमण गर्छन्। ग्याङफाइटका लागि उनीहरूको समूह तनहुँको खैरेनीसम्म पनि गएको स्रोतले बतायो। आरबीजीमा विशेषगरी सतिपीपलका ‘टिन एजर’ छन्।  

आरबीजीका प्रमुख भने किशोरीहरूको आग्रहमा आफू प्रमुख बनेको तर विद्रोहका बारेमा भने सम्पूर्ण ज्ञान नभएको बताउँछन्। ‘म एनजीको हुँ। आरबीजी र एनजी गाभिने कुरा भयो। मलाई प्रमुख बस भने, बसेँ’, उनले भने, ‘केटीहरू केके रुल्स ब्रेक गर्छन्, कहाँकहाँ ग्याङफाइट गर्छन्। सबै जानकारी हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.