|

लहान : सिरहामा हुकिङमार्फत् विद्युत् चुहावट गर्ने २२ जनाई पक्राउ परेका छन्। जिल्लको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हा, मरेवा, सिमरा, कल्याणपुर, रमपुरा, भेडिया, राघोपुर र बगहा गाउँमा हुकमार्फत विद्युत् चुहावट गर्ने २२ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरिएको हो। 

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युतीय कर्मचारीहरुको टोलीले बिहीबार बिहानदेखि मध्याह्नसम्म हुकिङ नियन्त्रणको क्रममा पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण मिर्चैया शाखाका मिर्चैया शाखाका प्रमुख इञ्जिनियर शिवराम यादवले जानकारी दिए। टोलीले विद्युत् हुकिङ गरी चलाइरहेका टेलिभिजन, पङ्खा, राइसकुकर, मोटरलगायतका सामग्रीहरु समेत बरामद गरेको छ। 

हुकिङबाट बढ्दो चुहावट

प्राधिकरणको लहान, सिरहा र मिर्चैया वितरण केन्द्रमध्ये सबैभन्दा बढी सिरहा वितरण केन्द्रबाट विद्युत चुहावट भइरहेको पाइएको छ। प्राधिकरणको माथिल्लो निकायबाट विद्युत् चुहावट नियन्त्रणका लागि कडाइ गरे पनि जिल्लामा चुहावट नियन्त्रण अभियान प्रभावकारी हुन नसकेको प्राधिकरणका कर्मचारीले बताए। यद्यपि, सिरहा वितरण केन्द्रले आफ्नो क्षेत्रमा भइरहेको ५१ प्रतिशत विद्युत् चुहावट ४२ प्रतिशतको हाराहारीमा झारेको दावी गरेको छ। 

लहान वितरण केन्द्रअन्तर्गत करिब ३८ र मिर्चैया वितरण केन्द्रमा ११ प्रतिशत विद्युत् चुहावट हुने प्रमुख यादवले सुनाए । मुलुकभर २६ प्रतिशतको हाराहारीमा विद्युत् चुहावट भइरहेको प्राधिकरणका कर्मचारीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.