|

सोलुखुम्बु : जिल्ला वन कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र परेको छ। ०७१ माघ २० मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको भवन चार वर्षमा पनि सम्पन्न भएको छैन। 

सम्झौतामा निर्माण सम्पन्न गर्नुपर्ने अवधि ०७३ साउन २० तोकिएको छ। तर, अहिलेसम्म म्याद थप गरिएको छैन। समयमा नै निर्माण सम्पन्न नहुने भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको पहलमा ०७३ चैत मसान्तभित्र निर्माणको काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। तर, उत्त प्रतिबद्धता कागजमा मात्र सीमित रह्यो।

पछिल्लो समय प्रजिअको रोहवरमा भवन डिभिजनसहित सरोकारवाला निकायबीच ०७३ चैत मसान्तमा काम सक्ने भने पनि १० महिना बितिसक्दा पनि रहेको   जिल्ला वन कार्यालय सोलुखुम्बुका प्रमुख मेघराज राईले बताए। उनले भने, 'जिल्ला प्रशासन कार्यालयमा भएको उक्त प्रतिबद्धता करार पत्रअनुसार भवन डिभिजन कार्यालयबाट थप करिब २० लाख रुपैयाँ समेत भुक्तानी भएको छ। तर प्रगति भने शून्य छ।'  ठेकेदारलाई हामीले बारम्बार ताकेता गर्दा पनि सम्बन्धित निकायको मौनताको कारण भवन निर्माण हुन नसकेको वन कार्यालयका प्रमुख राईको भनाइ छ। भवन एक करोड २९ लाख  रुपैयाँमा निर्माण गर्ने गरी नीलगिरी निर्माण सेवा काठमाडाैंले ठेक्का लिएको हो। तर नीलगिरीका प्रकाश डाँगीले ठेक्का आफ्नो कम्पनीले लिएको भएपनि स्थानीय बुद्धि मगरले कामको जिम्मा लिएको भन्दै पन्छिएका छन्।

यता बुद्धि मगरले भने नीलगिरीको नाममा बजेट निकासा हुने बताए। मगरले भने, 'आफुले काम गरेजति बटेज पाएको छैन, त्यसैले काम रोकिएको हो।' भवनमा प्रयोग गरिएका काठहरु समेत मक्किन थालिसकेका छन्। अन्य निर्माणका सामाग्री लथालिङ्ग छाडिएको छ। निर्माणकर्ता मगरले भने, 'काम गरेअनुसार कम्पनीले समयमा भुक्तानी दिँदैन भनेर भवन डिभिजनका प्रमुखलाई पनि जानकारी गराएँ, हुन्छ म कुरा गरिदिन्छु भन्दै टार्नुभयो।' उनले भने, 'नीलगिरीका प्रोपाइटरलाई पनि अदालतमा मुद्दा हाल्छु भन्दा म तत्काल पैसा पठाउँछु मुद्दा नहाल्नुहै भने, तर काम गरेनन्।' 

भवन डिभिजन कार्यालयले रनिङ बिलअनुसार ६२ लाख ५० हजाररुपैयाँ भुक्तानी गरेको छ। रकम भुक्तानीलाई हेर्दा पचास प्रतिशत मात्र काम भएको देखिन्छ। तर पेटी ठेकेदार मगरले निर्माणाधीन भवनको ७० प्रतिशत काम सम्पन्न भएको दावी गरे। काम भएअनुसारको रकम भुक्तानी दिएमा एक महिनाभित्र काम सम्पन्न गर्ने मगरले बताए।

यता सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय ओखलढुगांका प्रमुख सुवास बस्नेतले निर्माणको जिम्मा लिएको कम्पनीलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउने बताए। उनले भने 'निमार्ण सेवालाई स्पष्टिकरणसहितको पत्र पठाइसकिएको र अब कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउनेछु।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.