|

काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे प्रदेश ३ को मुख्यमन्त्रीका लागि मुख्य दाबेदार मानिँदै आएका थिए। लामो समयदेखि मुख्यमन्त्रीको दौडमा रहेका नेता पाण्डे अन्तिम आवरमा भने पछि हटेका छन्। सर्वसम्मत गर्ने प्रयास गरे पनि अन्तिममा चुनाव नै हुने भएपछि नेता पाण्डे भने पछि हटे।

यसैबीच, प्रदेश संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन्। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई १० मतको अन्तरले पराजित गर्दै नेता पौडेल निर्वाचित भएका हुन्। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा भएको निर्वाचनमा पौडेलले ३४ मत ल्याए भने शाक्यले २४ मत प्राप्त गरेको एमाले केन्द्रीय सदस्य तथा प्रदेशका प्रचार संयोजक सानुकुमार श्रेष्ठले बताए। प्रदेश ३ मा एमालेका ५८ जना सांसद छन्।

पार्टीभित्र शाक्य वरिष्ठ नेता माधव नेपाल समूहकी हुन् भने पौडेल पार्टी अध्यक्ष केपी ओली समूहका हुन्। अध्यक्ष ओलीले बिहीबार शाक्यलाई निवासमा बोलाएर छलफल गरेका थिए। मुख्यमन्त्री मै हुँ भनेर बिहीबारसम्म मिडियामा अन्तरवार्ता दिइरहेका नेता पाण्डेले उम्मेदवारको फर्म लगे पनि उम्मेदवारी भने दिएनन्। पाण्डेले अन्तिममा अष्टलक्ष्मी शाक्यलाई समर्थन गरे।

अध्यक्ष ओलीले रोक्नुभयो

मुख्यमन्त्री हुन नेपाल समूह छाडेर ओली समूहमा गएको भन्ने आरोप लागेका नेता पाण्डे अन्तिममा पछि हट्दा आश्चर्यको विषय बनेको छ। मुख्यमन्त्री बनाउछौँ भनेर पहिले आश्वासन दिएकाहरूले नै अन्तिमा आएर समर्थनमा नदेखिए पछि अष्टलक्ष्मीलाई समर्थन गरेर पछि हटेको  पाण्डे निकट एक नेता नेताले बताए।

सुरुमा पार्टी अध्यक्षले नै मुख्यमन्त्रीका लागि तयारी गर्नुस् भनेपछि आफू तयारीमा लागेको भए पनि अन्तिम अवस्थामा अध्यक्षका तर्फबाट डोरमणि पौडेल आउने भएपछि आफू पछि हटेको नेता पाण्डेले थाहा खबरलाई बताए । 'पहिले मलाई पार्टी अध्यक्ष स्वयंले तपाई सबै हिसाबले मुख्यमन्त्रीको लागि उपयुक्त हुनुहुन्छ। डोरमणिजीलाई सभामुख बनाऔँ भन्ने सल्लाह भयो-नेता राजेन्द्र पाण्डे भन्छन्, उहाँले त्यसैअनुसार गरौँ भन्नुभएकाले मैले त्यस्तै तयारी र मानसिकता बनाएको थिएँ। अचानक उहाँको तर्फबाट डोरमणि पौडेल उम्मेदवार बन्ने हुनुभयो। त्यसपछि म पछि हटेँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.