जनकपुरधाम : तराई अधिकांश जिल्लामा रहेका बजार र ग्रामीण क्षेत्रका पान, चिया तथा किराना पसल र होटेलहरूमा सुर्तीजन्य वस्तु यथेष्ठ मात्रामा पाइन्छन्। यस क्षेत्रमा पान, रजनीगन्धा, पानपराग, तुलसी र गुट्खाजस्ता सुर्तीजन्य वस्तुको बिक्री पनि उच्च हुने गरे पनि राजस्व शून्य संकलन हुने गरेको छ।
यस्ता वस्तुहरू भारतबाट भन्सार हुँदै नेपाल भित्रिन्छन्। प्रदेश २ मा रहेका जलेश्वर, जनकपुर, मलंगवा, गौर र सप्तरी भन्सार कार्यालयबाट सुर्तीजन्य वस्तुबाट एक रुपैयाँ पनि राजस्व संकलन नभएको महोत्तरी जलेश्वर भन्सार कार्यालयका प्रमुख गणेशप्रसाद पौडेलले बताए।
भन्सार कार्यालय सप्तरी राजविराजले गत आर्थिक वर्षमा सुर्तीजन्य वस्तुबाट एक रुपैयाँ पनि राजस्व संकलन नगरेको तथ्यांक छ। तर, बरामद गरिएका सुर्तीजन्य वस्तुको लिलामीबाट भने सात लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयका निमित्त प्रमुख रामजीप्रसाद चौरसियाले जानकारी दिए।
सुर्तीजन्य पदार्थमा झण्डै ५० प्रतिशतसम्म भन्सार लाग्ने भएका कारण ठूला व्यापारी तथा तस्करहरूले प्रहरी र भन्सार कर्मचारीसँगको मिलेमतोमा सामान भित्र्याउने गरेको एक व्यापारीले बताए।
नेपाल–भारतको सीमा खुल्ला भएका कारण चोरबाटो भएर सुर्तीजन्य पदार्थको तस्करी बढी हुने गरेको सर्लाही हरिपुरका पान व्यवसायी विनोदकुमार झा बताउँछन्। वीरगञ्जजस्ता ठूला नाकामा राजस्व तिरे पनि अन्य नाकामा भन्सार कर्मचारी र प्रहरीको मिलोमत्तोमा नै तस्करी हुने गरेको स्थानीयहरूको भनाइ छ।
तराईका जिल्लामा सूर्तीजन्य वस्तुको व्यापार अन्य वस्तुको भन्दा धेरै भए पनि राजस्व भने संकलन शून्य भएको जनकपुरका स्थानीय सरोज मिश्रको भनाइ छ। ‘जनकपुरमा मात्र एक दिनमा लाखौं रुपैयाँको बिक्री हुन्छ,’ उनले भने, ‘एक प्रतिशत पनि भन्सार उठ्न नसक्नुमा सरकार कमजोरी हो।’
भारतसँग जोडिएका दुई नम्बर प्रदेशको सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। तर, भारतबाट नेपाल आयात गरिने सूर्तिजन्य वस्तु खुलेआम ओसारपोसार गर्दा पनि उनीहरू मौन रहेको स्थानीयको आरोप छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।