|

काठमाडौं : नेकपा एमालेबाट प्रदेश ३ को संसदीय दलको नेतामा १० मतको फरकले डोरमणि पौडेल विजयी भएका छन्। उनले ३४ मत ल्याए भने उनकी प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्यले २४ मत ल्याइन्। यो जीतसँगै पौडेलको ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

यस प्रदेशको मुख्यमन्त्रीका रूपमा नेता शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई‌को नाम चर्चामा थियो। तर अन्तिममा भने डोरमणि पौडेल उम्मेदवारका रूपमा आए। यसअघि पौडेलको चर्चा सभामुखमा थियो।

को हुन् डोरमणि पौडेल?

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा 'ख' बाट निर्वाचित डोरमणि पौडेल एमालेका पुराना नेता हुन्। उनी ३८ वर्षदेखि राजनीतिमा निरन्तर सक्रिय छन्। काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा वि. सं. २००२ चैत १५ गते जन्मिएका पौडेलको स्थायी ठेगाना मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११, नवलपुर हो।

पिता मायानाथ पौडेल र माता कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक (बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन्। वि. सं. २०३० देखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए।

२०३२ सालदेखि १० वर्ष शिक्षक भएर शिक्षण पेसासमेत गरेका पौडेलले लामो समय अर्धभूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको जनआन्दोलनताका तत्कालीन सरकारले टाउकाको मूल्य तोकेपछि उनी ५६ दिन भारतमा बसेका थिए। ४ पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरी हिरासत बसेका थिए।

२०५४ सालदेखि हालसम्म नेपाल नगरपालिकाका संघको अध्यक्ष रहेका पौडेल तत्कालीन हेटौँडा नगरपालिकाका २०४८ र २०५४ मा निर्वाचित प्रमुख हुन्। दुई पटकसम्म हेटौँडा नगरपालिकाको नेतृत्व गरेका उनको हेटौँडा नगरपालिकाको विकास गर्नमा मुख्य योगदान रहेको छ। स्थानीय विकास मन्त्रालयले हरेक वर्ष गर्ने नगरपालिकाको मूल्यांकनमा हेटौँडा नगरपालिका धेरै पटक उत्कृष्ट हुँदै आएको थियो।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका सदस्य भएर काम गरेका पौडेल अन्तर्राष्ट्रिय संस्था एकीकृत शहर तथा स्थानीय सरकार (युसीएलजी)को उपाध्यक्ष, सिटी नेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्षसमेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.