|

नेपाली साहित्य आकाशमा उदाउँदै गरेका चम्किला प्रतिभा हुन्, निमेष पौडेल। समाजमा घटेका ससाना घटनालाई जस्ताको त्यस्तै पानामा उतार्ने मात्र होइन, युवापुस्ताको पारिवारिक जीवनशैली र वैयक्तिकतालाई कलात्मक भाषा शैलीमा प्रस्तुत गर्न पनि उनी सक्षम देखिन्छन्।

कार्तिकको दोस्रो साताबाट बजारमा आएको उनको उपन्यास ‘फाइभ मन्थ्स’ अहिले ३ हजार ५०० भन्दा बढी बिक्री भइसकेको निमेष दाबी गर्छन्। चाँडै नै यसको दोस्रो संस्करण प्रकाशन हुन लागेको उनी बताउँछन्।

उमेरले १९ वर्षका लेखक निमेष पौडलले लेखेको यो उपन्यास ठिटाठिटीका माझमा लोकप्रिय बन्न पुगेको छ। 

नेपाली समाजमा साहित्य क्षेत्रमा लाग्नेहरूका लागि थोरै घरपरिवारको मात्र पूर्ण रूपमा सहयोग प्राप्त हुन्छ। साहित्यलाई उत्पादन नदिने क्षेत्रका रूपमा हेर्ने प्रचलन अहिले पनि व्याप्त छ। उपन्यास लेखन आफैँमा कठिन विषय हो तर निमेषले भने आफ्नी आमा निशा पौडेल र बुबा नेत्रहरि पौडेलेको महत्त्वपूर्ण साथ पाए। लेख्दालेख्दै दिक्क लागेको बेलामा बुबाआमाको हौसलाले कहिल्यै पनि एक्लोपनको महसुस हुन नदिएको उनी बताउँछन्। 

उपन्यासको नाम ‘फाइभ मन्थ्स’ भए तापनि निमेषले लेखन, छपाइदेखि बजारमा पुर्‍याउँदासम्म प्रकाशनका लागि एक वर्ष समय लगाए। अग्रजको सल्लाह, सुझाव, प्रतिक्रिया लिए, जसले गर्दा उनको लेखनलाई परिष्कृत हुन महत्त्वपूर्ण सहयोग पुग्यो। 

उनलाई लागेको थिएन रे यति सानो उमेरमा लेखेको उपन्यासले यति धेरै सफलता पाउँछ भन्ने। अहिले उनलाई लाग्छ, जीवनमा कमाएको महत्त्वपूर्ण सम्पति यिनै पाठकहरू हुन्।

सानैदेखि उनलाई समाजका  ससाना कुराले छुन्थे रे! हरेक दिन आफूले पनि भोग्थे र भोगेका कुरालाई मस्तिष्कमा कैद गर्थे। देखेको भूगोल र भोगेको समयलाई उनले नजिकैबाट अनुभव गरे। उनले अनुभव गरेजस्तो घटना, कथावस्तु कतै पनि प्रकाशन भएको देखेनन्। त्यही विषयवस्तुमा लेख्ने दृढ अठोट गरे उनले। समाजमा देखेको वास्तविकतालाई आधार बनाएर यथार्थको धरातल समाउँदै कल्पनाको दुनियाँमा पटक पटक हराए र पुनः भेटिए। 

निमेष भन्छन्, ‘प्रेमको विषयमा जसले पनि लेख्छ तर मेरो लेखनमा मैले क्लिष्टता र अश्लीलता आउन दिएको छैन।’ अरू प्रेम उपन्यासभन्दा आफ्नो उपन्यास विल्कुलै भिन्न भएको दाबी गर्दै निमेष भन्छन्, ‘पुरानै स्वाद थियो भने यतिका पाठकले कसरी माया गर्थे र मलाई?’ फेसबुक र ट्विटरमा निकै फलोअर कमाएका निमेषलाई सामाजिक सञ्जालले पनि राम्रो सहयोग गरेको बताउँछन्।

आत्मविश्वासले लेखनमा परिपक्वता ल्याउँछ भन्ने विश्वास बोकेका निमेष बजारमा नयाँ पुस्तक विमोचन हुँदा सकेसम्म कुनै पनि कार्यक्रम छुटाउँदैनन्। कार्यक्रमस्थलमा पुगेपछि एउटा नयाँ पुस्तक नकिनी घर नफर्केको उनको अनुभव छ। त्यसै कारण पनि आफूलाई वरिष्ठदेखि कनिष्ठ पुस्तासम्मका लेखकहरूले माया गरेको र आशीर्वाद दिने गरेको उनी बताउँछन्। 

उनले कलेज, मन्दिर, बाटो, यात्रा कतै पनि सुखको सास फेर्न पाएनन् यो उपन्यास नसकुन्जेल। मस्तिष्कमा यही कुराले ६ महिनासम्म डेरा जमायो। आकार नदिएर बसिरहन सकेनन्। ‘अन्ततः एक वर्षको प्रतीक्षापछि ‘फाइभ मन्थ्स’को जन्म भयो’, निमेष भन्छन्, ‘लेखकलाई सबैभन्दा गाह्रो उपन्यासको नाम जुराउन रहेछ। शिखर चढ्नभन्दा पनि कठिन।’ लेखनको शिलशिलामा कैयौँ नाम मनको बाटो हुँदै ओहोरदोहोर गरिरहन्थे रे! तर ‘फाइभ मन्थ्स’ जस्तो उष्कृष्ट कुनै पनि लागेनछ उनलाई। ‘फेरि यही नामबाट मैले पाठकहरूलाई यो कथा पाँच महिनाको हो भनेर हिन्ट्स पनि दिएँ’, उनी भन्छन्। 

आजभोलिका पाठकहरूको आँखा पहिले नाममा जान्छ। उपन्यासको नाम राम्रो र पुस्तक आकर्षक भयो भने त्यसले पाठकको आँखा सुरुमै तान्छ र पाठकहरूमा पढूँपढूँ लाग्ने खुल्दुली कायम राख्छ।

‘फाइभ मन्थ्स’को सफलतापछि उनको दोस्रो कृति चाँडै बजारमा आउँदै छ। उक्त कृतिको काम अन्तिम चरणमा पुगिसकेको उनको भनाइ छ। उनी आफ्ना पाठक, शुभचिन्तकप्रति अत्यन्तै खुसी छन्। ‘फाइभ मन्थ्सलाई माया गरेर जजसले मनपराउनुभयो, सबैलाई धन्यवाद’, भन्छन्, ‘पहिलो  कृति, पहिलो प्रयास सबैलाई मन नपर्न सक्छ। पहिलो उपन्यासलाई जस्तै दोस्रो उपन्यासलाई पनि माया गरिदिनुहोला।’

पहिलो उपन्यासले कसैको मन जित्यो होला, कसैको जितेन होला भन्दै निमेषले प्रतिवद्धता जनाए, ‘अब बजारमा आउन लागेको कृतिले सबैको मन जित्ने प्रयास गर्नेछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.