|

लहान : मदिरा तथा लागुऔषध दुरुपयोगले युवाहरु आपराधिक घटनामा फस्ने क्रम बढिरहेका वेला सिरहाको सुखीपुर नगरपालिकाका युवाहरु भने नगर क्षेत्रलाई मदिरामुक्त क्षेत्र बनाउन अभियानमा जुटेका छन्।

स्थानीय अगुवा युवाहरु नगरलाई मदिरा मुक्त बनाउन शत्रुधन यादवको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरी मदिराविरोधी अभियान चलाउन सक्रिय छन्। सुखीपुर नगर सुधार समितिका अध्यक्ष विपी भुवन यादवको पहलमा मदिराविरोधी अभियान थालिएको हो।

सिरहाको जिरोमाइल– बरियारपट्टि सडक खण्डमा पर्ने जिल्लाकै पुरानोमध्येको सुखीपुर बजार क्षेत्रमा एकसयभन्दा बढी मदिरा पसल, ५० भन्दा बढी अवैध मदिरा भट्टी सञ्चालनमा रहेको अगुवा युवाहरु बताउँछन्।

‘भारतीय सीमावर्ती बजार लदनियाँनजिक भएकाले सुखीपुर नगरक्षेत्रमा लागुऔषध गाँजाको समेत खरिद बिक्री हुने गरेको छ’ नाम उल्लेख नगर्ने सर्तमा स्थानीय एक युवाले भने, ‘स्थानीय प्रहरी प्रशासनसँगको सेटिङमा अवैध रुपले गुणस्तरहीन मदिरा उत्पादन र बिक्री भइरहेको छ।’

बेरोजगारीको कारणले युवाहरु मदिरा र लागुऔषध दुरुपयोगमा फस्ने र कालान्तरमा त्यसले एउटा पुस्ता नै प्रभावित हुन सक्ने भएकाले मदिरामुक्त नगरका लागि प्रयास थालिएको नगर सुधार समितिका अध्यक्ष यादव बताउँछन्।

‘खुला दिसामुक्त क्षेत्र बनाउन सम्भव भयो भने युवाहरुले मदिरा मुक्त क्षेत्र पनि बनाउन सक्छन्’ यादवले भने ‘त्यसका लागि नगरपालिकाले पनि कानुन बनाएर कार्यान्वयन गर्नुपर्‍यो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.