|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक विकासबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन्।

शुक्रबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबद्वारा आयोजना गरिएको २८५४ औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सबै तहका नेतृत्वहरु र आम जनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले भने, ‘अबको प्रतिस्पर्धा आर्थिक समृद्धिको लागि हुनुपर्छ, सबै तहले त्यसमा ध्यान दिनुहुनेछ भन्ने आशा छ।’

उनले आफ्नो समुदाय र देशको समृद्धिका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए। सो अवसरमा उनले जनतालाई अधिकार सम्पन्न बनाउन र आफ्नो ठाउँको विकासको लागि आफै लाग्नसमेत जरुरी रहेको बताए। ‘आफूले पहल गरिरहने अवस्थामा निश्चय पनि राष्ट्रिय गौरवका योजनाहरुले महत्वपूर्ण भूमिका खेल्नेछ,

त्यसको लागि आम जनसमुदायले जिल्लाबाट प्रतिनिधिसभामा विजयी हुनुभएका सांसदहरुलाई राष्ट्रिय गौरवको योजनाहरुलाई केन्द्रीत गरेर काम गर्नका लागि घचघच्याउनु हुनेछ।’ उनले भने, ‘त्यसको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगको लागि सदैव सहयोग गरिरहनेछ। यो मेरो प्रतिबद्धता हो।’

उनले पछिल्लो अवस्थामा राज्यको प्रशासनिक क्षेत्रमा आदिवासी जनजाति, अल्पसंख्यक र पिछडिएका क्षेत्रका समुदायको पनि सहभगिता बढ्दै जानु सराहनीय भएको बताए।

कार्यक्रममा प्रतिनिधि सभा सांसद गंगाबहादुर तामाङले प्रदेश नं. ३ को राजधानी काभ्रे हुने र त्यसको लागि आवश्यक प्रक्रियाहरु अगाडि बढिरहेको बताए। ‘त्यससंगै हामीले प्रदेशहरुको नामाङ्कन गर्ने अवस्थामा उभिने वेलामा जातिय पहिचान, सांस्कृतिक पहिचान र धार्मिक पहिचान सहितको अवस्थालाई मध्यनजर गर्दै नामांकन गर्नेछौं।’ तामाङले भने।

प्रदेशसभा सांसद रत्न ढकालले तामाङहरुको बाग्लो उपस्थिति रहेको क्षेत्रलाई विकास गर्नको लागि आफुले सक्दो पहल गर्ने बताए। ‘यहाँको संस्कृति र भाषा, धर्म, संस्कृतिको विकासमा सहयोग गर्नेछु।’ ढकालले भने।

उनले काभ्रेको विकट क्षेत्रले निकै पीडा भोग्नुपरेको उल्लेख गर्दै उत्पादनमा आएको कमिलाई बढावा दिनको लागि खानेपानी, स्वास्थ्य, शिक्षा र पर्यटन विकासले लागि राष्ट्रले विशेष रुपमा हेर्नेछ  भन्नेमा विश्वस्त छु।

सो अवसरमा पूर्व सांसद तीर्थ लामाले संसारमा भएको लडाईमा न्यायको विजयी भएको उल्लेख गर्दै संस्कार र संस्कृतिको धनी तामाङ समुदायको लोप हुन लागेको संस्कृतिको विकास राज्यबाट विस्तारै संरक्षणको काम भईरहेको बताए।

‘अहिले यहाँको युवा क्लवले आयोजना गरेको ल्होछार कार्यक्रममा राष्ट्रका सम्माननिय उपराष्ट्रपतिको उपस्थिति पाउनु नै त्मयसको ज्वलन्त उदाहरण हो।’ लामाले भने। कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर लामा(डि.बी)ले संस्कृति र संस्कार देशको शान भएकोले त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए।

आयोजक संस्था खार्पाचोक युवा क्लबले  सो अवसरमा मानवशास्त्री डा. मुक्त सिं तामाङ, तामाङ लेखक दुपवाङगेल मोक्तान, गायिका मनिला सोताङ र नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङलाई नेपाली समाजमा अतुलनीय योगदान पुर्‍याएकोमा सम्मानपत्रद्वारा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका थिए। कार्यक्रममा राष्ट्रिय कलाकारहरु उदय सोताङ, मनिला सोताङ, मीना निरौलालगायतले सांगीतिक प्रस्तुति गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.